ad ad

राजनीति


कांग्रेसको किचलोः असन्तुष्ट पूर्वसांसद अनशनमा, संस्थापनको ‘काउन्टर’ धर्ना

कांग्रेसको किचलोः असन्तुष्ट पूर्वसांसद अनशनमा, संस्थापनको ‘काउन्टर’ धर्ना

केशव सावद
साउन ८, २०७८ शुक्रबार ५:५८,

कांग्रेसको पार्टी कार्यालय सानेपामा रमिता छ।

बाहिर समूहसमूहमा विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ता धर्ना दिइरहेका छन्। सबैले बीपी कोइरालाको तस्बिर र आआफ्नो माग उल्लेख भएको ब्यानर टाँगेका छन्।

भित्र भुइँमा म्याट र त्यसमाथि पातलो चादर ओछ्याएर तीन जना अनशनमा बसेका छन्। उनीहरुमध्ये एक हुन धनुषा कांग्रेसका नेता डा. चन्द्रमोहन यादव। उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्।

उनीसँगै अनशनमा छन् नेपाल तरुण दल प्रदेश–२ का संयोजक रामपल्टन साह र तरुण दल जिल्ला सदस्य दिनेश नायक। उनीहरुले अनशन थालेको पाँच दिन बितिसकेको छ।

अर्कोतिर सर्लाहीका रामगोविन्द रायले पनि आमरण अनशन थालेको दुई बितिसकेको छ। 

उनीहरु सबैको एउटै माग छ- क्रियाशील सदस्यता वितरणमा भएको गडबडी सच्याइयोस्। धर्ना र अनशन बस्नेमा नवप्रवेशी कांग्रेसी कार्यकर्तादेखि पूर्वसांसदसम्म छन्। 

धनुषाका तीन जना निर्वाचन क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अनशन बसेका हुन्।

धनुषा–४ मा पर्ने जनकपुर उपमहानगरपालिका–१९ का उदय यादव पनि डा. यादवको नेतृत्वमा जारी आमरण अनशन स्थलमा छन्। उनले आफूलाई कांग्रेसको क्रियाशील सदस्यता लिने चाहना भए पनि नदिएको गुनासो गरे। 

‘नयाँ क्रियाशील सदस्यता दिएनन्। २–३ पटक वडा सभापति कहाँ भएको थिएँ,’ उनले नेपालखबरसँग भने, ‘सदस्यता देऊ, भन्दा पनि नदिएपछि आमरण अनशनमा ऐक्यबद्धता जनाउन आएको हुँ।’

क्रियाशील सदस्यता नवीकरण र वितरणमा धाँधली भइरहेको दाबी गर्दै बारा, धनुषा र सप्तरीका नेता–कार्यकर्ताहरुले सानेपामा धर्नादेखि आमरण अनशन समेत गरिरहेका छन्। धर्ना र अनशनमा बस्नेमा कांग्रेसको क्रियाशील सदस्यता लिन इच्छुक नवप्रवेशीदेखि पूर्वसांसदसम्म छन्। 

‘७५ जिल्लामा सदस्यता छानबिनमा प्रवेश गरिसकेका छौँ। केही ठाउँमा निर्णय गर्न बाँकी छ। आज–भोलिमै निर्णय गरिसक्छौँ,’ साउन १ मा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले भनेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा लेखकले यसो भनेको साता दिन बितिसक्यो। तर, कांग्रेसको यो किचलो अझै साम्य भएको छैन। 

संयोजक लेखकले सप्तरी र बाराबाहेक ७५ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाइसकेको पनि दाबी गरेका थिए। तर, उनको दाबीविपरीत अन्य जिल्लामा पनि सदस्यतासम्बन्धी विवाद टुंगिन बाँकी देखिएको छ। 

समिति अहिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउन प्रयासरत रहेको एक नेताले बताए।

संविधान सभा सदस्य पनि धर्नामा
संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव पनि पार्टी कार्यालयमा धर्नामा छन्। उनी विगत १२ दिनदेखि बारा जिल्लाका नेता–कार्यकर्ताहरुको अगुवाइ गर्दै धर्नामा बसेका हुन्। 

क्षेत्रीय सभापतिले वडा कार्यसमितिलाई जानकारी नै नदिई नयाँ क्रियाशील सदस्यताका लागि पार्टीको ‘सर्भर’ मा नाम समावेश गरेको, वडा सभापतिहरुलाई सदस्यताका लागि फारम नै उपलब्ध नगराएको विरोधमा बाराका नेता–कार्यकर्ताहरु धर्नामा बसेका हुन्।

‘वडा समिति र सभापतिलाई फारम नदिएर २०–२५ वडामा क्षेत्रीय सभापतिले मनोमानी ढंगले केन्द्रको सर्भरमा नाम इन्ट्री गरेका छन्। वडाले सिफारिस गरेका नामहरुमा टिपेक्स लगाएर आप्mना मान्छेको नाम राखिएको छ। बारा–२ मा १३ वडा सभापतिलाई फारम नै दिइएको छैन,’ बाराबाट महासमिति सदस्य समेत रहेका नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले भने, ‘यसरी पार्टी चल्दैन। यसैको विरोधमा हामीहरु धर्नामा बसेका हौँ।’

संविधानसभा सदस्य यादवको नेतृत्वमा धर्नामा बसेका बाराका नेता–कार्यकर्ताहरुले आफूहरुले उजुरी दिएकाहरुलाई सदस्यता वितरण गर्न नहुने माग राखेका छन्। 

‘जहाँ–जहाँ हामीले उजुरी दिएका छौँ, त्यहाँ खारेज हुनुपर्छ,’ उनले भने। 

पूर्वसांसदकै सदस्यता भएन नवीकरण
संविधानसभा सदस्य लालबाबु सिंह क्रियाशील सदस्यता नवीकरणका लागि जिल्लाबाट नाम सिफारिस नभएपछि धर्नामा बसेका छन्। उनी संविधानसभा सदस्य यादवको नेतृत्वमा जारी बाराका नेता–कार्यकर्ताहरुसँगै सानेपामा धर्नामा बसेका हुन्। 

सिंह गत प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचन लडेका थिए। उनी संस्थापनइतर समूहमा छन्। बारा कांग्रेसमा संस्थापन समूहको वर्चश्व छ। पूर्वाग्रह राखेर आफूलाई सदस्यता नवीकरणबाट वञ्चित गराइएको सिंहको भनाइ छ।   

तर, कांग्रेस बाराले प्रक्रिया नपु¥याएका कारण उनको सदस्यता नवीकरण नभएको प्रष्टीकरण दिएको छ। 

‘उहाँ प्रक्रियागत रुपमा आउनु भएन। क्षेत्रबाट नवीकरणका लागि सिफारिस लिन मान्नुभएन,’ बारा कांग्रेसका सचिव हरेन्द्र यादवले नेपालखबरसँग भने, ‘क्षेत्र र जिल्लालाई बाइपास गरेर डाइरेक्ट केन्द्रमा आउनुभयो। त्यसैले नवीकरण नभएको हो।’

बाराको संस्थापन समूह पनि ‘काउन्टर’ धर्नामा
क्रियाशील सदस्यतामा धाँधली भएको दाबी गर्दै संस्थापनइतर समूहमा रहेका बाराका नेता–कार्यकर्ता धर्नामा बसेपछि संस्थापन समूह पनि ‘काउन्टर’ धर्नामा बसेको छ। जिल्ला सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा बारा निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ अन्तर्गतका कार्यसमितिहरु बुधबारबाट सानेपामा धर्ना बसेका छन्। 

बारामा विवाद देखिएको भन्दै छानबिन समितिले १३ औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई मान्यता दिएर अधिवेशन गर्ने तयारी गरेपछि सभापति चौरसिया चार वटै निर्वाचन क्षेत्रका विभिन्न तहका कार्यसमितिका पदाधिकारी र कार्यकर्ताहरुका साथ धर्नामा बसेका हुन्।

छानबिन समितिले १३ औँ महाधिवेशनको सदस्यतालाई मान्यता दिएर अधिवेशन गर्ने र नयाँलाई सदस्यता नदिने तयारी गरेको सुनेपछि आफूहरु धर्नामा बसेका जिल्ला सचिव यादवले बताए। उनले धर्नामा वडा, पालिका, क्षेत्र र जिल्ला कार्यसमितिका पदाधिकारीदेखि कार्यकर्ताहरुको उपस्थिति रहेको दाबी गरे।  

चौरसिया नेतृत्वको धर्ना टोलीले विधिवत् रुपमा पुरानो र नयाँ क्रियाशील सदस्यता छानबिन गरेर १४ औँ महाधिवेशनमा सहभागी हुने व्यवस्था मिलाइनुपर्ने, वडादेखि जिल्लासम्म प्रक्रिया पुगेर पनि ‘इन्ट्री’ गर्न छुटेकाहरुको नाम क्रियाशील सदस्यतामा समावेश गराउनुपर्नेलगायतका मागहरु अघि सारेको छ। 

सभापति चौरसियाले माग सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन्।

‘माग सम्बोधन नभए हामी आमरण अनशनमा बस्छौँ,’ उनले नेपालखबरसँग भने, ‘दुई हजार मान्छे ल्याएर पार्टी कार्यालयअगाडि जाम गराएर देखाइदिन्छु।’

सर्लाहीमा पनि विवाद
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको दाबी गर्दै सर्लाही क्षेत्र नम्बर ४ का रामगोविन्द राय पनि आमरण अनशनमा छन्। उनले सर्लाहीका नागेन्द्रकुमार रायले चार वटै निर्वाचन क्षेत्रमा अनियमितता गरेको आरोप लगाएका छन्।

‘सर्लाही जिल्लाका पार्टी सभापतिले चार वटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको विरुद्धमा आमरण अनशन कार्यक्रम’ उल्लेख गरिएको ब्यानरमा रायले बुधबारबाट अनशन सुरु गरेका थिए। 

आमरण अनशनस्थल पुगेर सर्लाहीका सांसद अमरेशकुमार सिंहले ऐक्यवद्धता जनाएका थिए। उनले आमरण अनशनमा ऐक्यवद्धता जनाएको केही घण्टापछि बुधबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा सदस्य पद त्यागका लागि राजीनामा पत्र बुझाएका थिए।   

महाधिवेशन कार्यतालिका प्रभावित 
क्रियाशील सदस्यताको टुंगो नलागेका कारण कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। 

उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ। 

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

तर निर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन आयोजना गर्न असम्भव रहेको नेताहरु बताउँदै आएका छन्। क्रियाशील सदस्यतामा देखिएको विवाद र निर्धारित कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले शुक्रबार पदाधिकारी बैठक बोलाएको छ।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पदाधिकारी बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि आमन्त्रण गरिएको छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .