ad ad

राजनीति


कांग्रेसमा बढ्दो युवा आकर्षण : १६ देखि ४० वर्ष समूहका तीन लाखलाई सदस्यता

कांग्रेसमा बढ्दो युवा आकर्षण : १६ देखि ४० वर्ष समूहका तीन लाखलाई सदस्यता

फाइल तस्बिर


केशव सावद
साउन १२, २०७८ मंगलबार १३:२७,

नेपाली कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाखभन्दा बढी पुगेको छ। नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिएपछि महाधिवेशन अन्योलमा रहेको अवस्थामा मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ। 

केन्द्रदेखि तल्लो तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने क्रियाशील सदस्यहरूमा युवाको संख्या बढेको छ। प्रौढहरुको पार्टीको पहिचान बनाएको कांग्रेसका पछिल्लो पटक सदस्यता वितरण लचिलो बनाइएका कारण युवाहरुको संख्या बढेको हो। 
कांग्रेसमा नयाँ सदस्यता लिनेको संख्या चार लाख ४३ हजार ६७८ छ। यस्तै चार लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण गरिएको छ। जसमा पुरुषहरूको संख्या ६ लाख ५३ हजार चार सय ३८ छ भने एक लाख ९९ हजार ९७ जना महिला छन्। १७६ जना अन्य रहेका छन्। 

कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४ जना सदस्य रहेका छन्। यसरी हेर्दा कांग्रेसमा युवा क्रियाशील सदस्यहरुको संख्या दुई लाख ९० हजार २०१ पुगेको छ। ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २४३, ७१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ भन्दा माथि उमेर समूहका ११ हजार ७८२ क्रियाशील सदस्यता संख्या पुगेको छ। 

समावेशी समूह अन्तर्गत अल्पसंख्यक ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५, अपांगता भएका २०१, पिछडिएको क्षेत्रका १४ हजार ९१४, आदिबासी जनजाति दुई लाख ८ हजार १५९, खस आर्य तीन लाख ६७ हजार ६११ र दलित ४५ हजार ४१७ रहेका छन्। 

प्रदेश अनुसार प्रदेश १ मा ८५ हजार ४९२ को सदस्यता नवीकरण भएको छ भने ८९ हजार २९० जनाले नयाँ क्रियाशील सदस्यता पाएका छन्। प्रदेश २ मा ५३ हजार ४८१ को नवीकरण र ५९ हजार ४६५ जनालाई नयाँ सदस्यता प्रदान गरिएको छ। वाग्मती प्रदेशमा ९६ हजार ३२८ जनाले नयाँ सदस्यता लिएका छन् भने ८९ हजार ८१५ जनाको नवीकरण भएको छ। 

त्यसैगरि गण्डकी प्रदेशमा ५७ हजार १०९ को सदस्यता नवीकरण भएको छ भने ६१ हजार ५२४ जनालाई नयाँ सदस्यता दिइएको छ। लुम्बिनी प्रदेशमा ६३ हजार ७६९ को नवीकरण र ६७ हजार ११६ लाई नयाँ सदस्यता, कर्णाली प्रदेशमा २३ हजार ६४९ नवीकरण र ३० हजार ९१७ लाई नयाँ सदस्यता दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा ३९ हजार ३८ जनालाई नयाँ सदस्यता दिइएको छ भने ३५ हजार ७१८ जनाको नवीकरण भएको छ। 

क्रियाशील सदस्यता छानबिन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको समितिको प्रतिवेदनमा जनाइएको छ। जसमा चार लाख ४३ हजार नयाँ सदस्य थप गरिएका छन्।

बागमतीमा धेरै 

सबैभन्दा धेरै क्रियाशील सदस्य बागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ। सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन्। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानबिन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुने जनाइएको छ।

समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन सकेको छैन। 'समिति समक्ष प्राप्त हुन आएका सम्पूर्ण उजुरी र गुनासालाई सकेसम्म एक एक गरि केलाएर निर्णय गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ। प्रदेश अनुसारको जिम्मेवारी प्राप्त समितिका दुई-दुईजना सदस्यहरूबीच सहमति भइ दुवैको संयुक्त रायसहित समितिको बैठकमा पेश गरिए बमोजिम निर्णय भएको  छ,' प्रतिवेदनमा भनिएको छ।  

समितिले बाँकी रहेको जिल्ला र क्षेत्रहरुको टुंगो लगाउने जिम्मा पार्टीका नेताहरुलाई नै दिइएको जनाइएको छ। प्रतिवेदनमा भनिएको छ, 'धुनषा जिल्लाको क्षेत्र नम्बर ४, सर्लाही जिल्लाको क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यताबारे भने नेताहरूबाट नै आवश्यक निर्णयका लागि अनुरोध गरिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .