सिक्किमका मुख्यमन्त्री पीएस गोलेले पूर्वमुख्यमन्त्री पवन चामलिङ अब सिक्किमको सत्तामा कहिल्यै नफर्कंने दाबी गरेका छन्।
दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रमा चुनाबी सभालाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किमको राजनीतिमा चामलिङका दिन सकिएको ठोकुवा गरे।
‘चामलिङ सिक्किमको राजनीतिमा डुब्न लागेका हुन्’, उनले भने, ‘उनी अब फेरि सत्ता कहिल्यै फर्केर आउने छैनन्।’चामलिङले आफू पुनः सत्तामा फर्कँने दाबी गरिरहेको बेला मुख्यमन्त्री गोलीको यस्तो भनाइ आएको हो।
आउँदो अक्टोबर २१ मा सिक्किमका तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। भारतको निर्वाचन आयोगले वर्तमान मुख्यमन्त्री पीएस गोलेलाई ठूलो राहत दिएपछि उनले उपनिर्वाचनमा लडन पाएका छन्।
सत्तारूढ सिक्किम क्रान्तिकारी पार्टीका अध्यक्षसमेत रहेका गोले पोकलोक–कामराङबाट भिड्दै छन्। अहिले मनोनित मुख्यमन्त्री रहेका गोलेले यो निर्वाचन जितेको खण्डमा निर्वाचित मुख्यमन्त्री बन्नेछन्।
यसैले पनि उनका लागि यो उपनिर्वाचन महत्त्वको विषय बनेको छ। उपनिर्वाचनमा उनको प्रतिस्पर्धा पवन चामलिङ नेतृत्व एसडीएफका युवा उम्मेदवार मोजेस राईसँग हुने भएको छ। चुनाउ जित्नका लागि उनले सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन्।
निर्वाचनको प्रचार प्रसारकै क्रममा सिक्किम क्रान्तिकारी पार्टीले शुक्रबार पोकलोक(कामराङमा विशाल जनसभा गरेको थियो। सो जनसभामा गोलेले चामलिङको कडा आलोचना गरे। ‘निभेको आगो थाप्नु हुँदैन। बलेको आगो थाप्नु पर्छ’, जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘एसकेएम भनेको सिक्किमको भविष्य हो। चामलिङको कुराको पछि लागेर तपाईहरूले आफ्नो भविष्य बिगार्नु हुँदैन।’ मुख्यमन्त्री गोलेले २५ वर्षे शासनकालमा चामलिङले जात र धर्मको राजनीति गरेर सिक्किमलाई बर्बाद पारेको आरोप लगाए।
उनले कार्यक्रममा एसकेएम सरकारले सिक्किम र सिक्किमेली जनताको विकासका लागि तयार पारेका विकासमूलक कार्यक्रमहरूबारे जानकारीसमेत गराए।
एक वर्षे जेल सजायको प्रसंग झिक्दै मुख्यमन्त्री गोलेले भने, ‘मलाई पूर्वको एसडीएफ सरकारको षड्यन्त्र गरेर भ्रष्टाचारको मुद्दामा जेल हालेको थियो। तर, त्यो जेल सजाय मेरा लागि वरदान भयो भने चामलिङका लागि अभिशाप।’
‘जुन दिन पीएस गोलेलाई जेलमा थुन्यो, त्यसै दिन सिक्किममा हजारौं पीएस गोले जन्मे’, उनले थपे, ‘एसकेएमको क्रान्तिलाई तत्कालीन एसडीएफ सरकारले मार्न सकेन। २५ वर्षे तानाशाही सरकारलाई सत्ताबाट बेदखल गरेर आज एसकेएम सरकारमा आएको छ।’
पोकलोक–कामराङमा आफ्नो शतप्रतिशत जीत निश्चित रहेको ठोकुवा गर्दै गोलेले एसडीएफ सरकारका भ्रष्टाचारीहरू नछोड्ने प्रतिबद्धता समेत जाहेर गरे।
Shares
प्रतिक्रिया