नेकपा माओवादी केन्द्रका नेता एवं नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटघाटका लागि सो पार्टीका वरिष्ठ नेता दीननाथ शर्मा सोमबार (२५ असोज) दिउँसो शिक्षा मन्त्रालय पुगे। पार्टीका दुई नेताबीच करिब आधा घण्टा कुराकानी भयो।
तर यी दुई कम्युनिस्ट नेताले एकअर्कालाई न ‘कमरेड’ सम्बोधन गरे, न शर्माले शिक्षामन्त्री पौडेललाई ‘तपाईं’ भने! नेता शर्माले मन्त्री पौडेललाई ‘तिमी’ भन्नुको कारण हो– पौडेल उनका भतिज पर्छन्।
‘दुवैै जना माओवादी केन्द्रका नेता भए पनि नातामा उहाँहरू काका र भतिज हो’, भेटघाटमा सँगै रहेकी शर्मापुत्री कल्पना शर्माले भनिन्, ‘त्यसैले आफ्नो अनुभवका आधारमा सुझाव दिनका लागि उहाँ देवेन्द्र दाइ (मन्त्री पौडेल) लाई भेट्न जानुभएको हो।’
नेता शर्माका भनाइमा– मन्त्रीका रूपमा पौडेलले शपथ खाएको दिन उनी राजनीतिक काम विशेषले बाग्लुङ पुगेका थिए। त्यसैलै उनले त्यही दिन भेटेर मन्त्री पौडैललाई बधाई र सुझाव दिन पाएका थिएनन्। बाग्लुङबाट आइतबार काठमाडौं फर्केपछि परिवारसहित मन्त्रालय पुगेर उनले पौडेललाई बधाई दिएका हुन्।
काका–भतिज दुवैैको भागमा शिक्षा
शर्मा र मन्त्री पौडेलबीच अर्काे रोचक कुरा के हो भने अहिले भतिज पौडेलले सम्हालेको जिम्मेवारी (शिक्षा मन्त्रालय) नै १० वर्षअघि नेता शर्माले पाएका थिए। डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला शर्मालाई तत्कालीन एकीकृत माओवादीले शिक्षा मन्त्रालयको कार्यभार सुम्पेको थियो।
झन्डै आधा घण्टा लामो भेटवार्तामा नेता शर्माले मन्त्री पौडेललाई शिक्षा क्षेत्रको सन्दर्भमा केही सुझाव दिए। संघीयता कार्यान्वयनदेखि शिक्षक/प्राध्यापकका समस्या र विश्वविद्यालयमा नियुक्तिसम्मका विषयमा शर्माले पौडेललाई सुझाव दिए।
‘मुलुक संघीय संरचनामा गए पनि पञ्चायतकालमा २०२८ मा बनाइएको शिक्षा ऐन अहिलेसम्म विस्थापित भएको छैन’, आफूले मन्त्री पौडेललाई दिएको सुझाव सुनाउँदै शर्माले भने, ‘त्यो ऐनलाई संशोधन नगरी नियमावली, विनियम, आदेश आदिका भरमा शिक्षा क्षेत्रलाई सञ्चालन गरिँदै आएको छ। मैले भतिजलाई त्यो ऐन संशोधन गरी कार्यान्वयन गर्न सुझाव दिएको छु।’
उच्च शिक्षा आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न पनि उनले मन्त्री पौडेललाई सल्लाह दिए। आयोगले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रतिवेदन बुझाए पनि ओली सरकारले त्यसलाई सार्वजनिकसमेत गरेन, कार्यान्वयन त परको कुरा।
‘त्यो प्रतिवेदन राम्रो थियो, कार्यान्वयन गर्ने हो भने शिक्षा क्षेत्रका धेरै समस्या समाधान हुने थिए’, उनले नेपालखबरसँग भने, ‘मैले उनलाई त्यो प्रतिवेदन सरकारका तर्फबाट औपचारिक रूपमा सार्वजनिक गर्न र कार्यान्वयन गर्न पनि सुझाव दिएको छु। उच्च शिक्षाअन्तर्गत प्राविधिक शिक्षालाई बढी जोड दिने नीति अपनाउन भनेको छु।’
शर्माका भनाइमा– माओवादी जनयुद्धका क्रममा जागिरबाट निकालिएका शिक्षकका समस्या समाधानका साथै राहत कोटामा रहेका र लामो समय अध्यापन गरेका शिक्षक/प्राध्यापकका समस्या पनि आफ्नै कार्यकालमा समाधान गर्न उनले शिक्षामन्त्री पौडेललाई सुझाव दिएका छन्।
मन्त्री पौडेलले पूर्व शिक्षामन्त्रीको अनुभव सम्हालिसकेका काका शर्माबाट विश्वविद्यालयहरूमा हुने नियुक्तिका सन्दर्भमा पनि महत्त्वपूर्ण सुझाव पाएका छन्।
‘पैसाका बलमा र चाकडी चाप्लुसीका आधारमा अवसरवादीहरूले विश्वविद्यालयका उपकुलपति, रेक्टरजस्ता पद हत्याउने गरेका छन्, यसले पनि शिक्षा क्षेत्रमा विकृति सिर्जना गरेको छ’, शर्माले मन्त्री पौडेललाई भनेका छन्, ‘प्राध्यापकहरूको रोस्टर बनाएर विश्वविद्यालयहरूका महत्त्वपूर्ण पदमा नियुक्तिको मापदण्ड बनाउन सक्यौ भने राम्रो हुन्छ। रोस्टर बनाउने र विधिका आधारमा नियुक्ति गर्न सक्यौ भने सेवाको भावना भएका प्राध्यापकहरूमा पनि काम गर्ने जाँगर आउनेछ।’
नातामा काका–भतिज, राजनीतिमा गुरु–चेला
कुनै समय नेकपा (मसाल) को गढ मानिने बाग्लुङमा चित्रबहादुर केसीपछिका वरिष्ठ कम्युनिस्ट नेता मानिन्छन्, शर्मा। बाग्लुङका धेरैजसो कम्युनिस्ट नेता/कार्यकर्ता केसी र शर्माकै चेला हुन्। शर्माका यिनै चेलामध्ये एक हुन्– शिक्षामन्त्री पौडेल।
२०५६/५७ ताका नेकपा (मसाल) छाडेर शर्मा माओवादी जनयुद्धमा होमिए। पौडेल भने त्यसअघि नै २०४७ मा डा. बाबुराम भट्टराईसँगै मसाल परित्याग गरी तत्कालीन एकता केन्द्रमा सामेल भएका थिए। त्यही एकता केन्द्र २०५१ पछि नेकपा (माओवादी) मा रूपान्तरण भएको हो।
‘देवेन्द्र दाइ (मन्त्री पौडेल) लाई बुबा (दिननाथ शर्मा) ले नै राजनीति सिकाउनुभएको हो, त्यसैले उहाँ बुबालाई आफ्नो राजनीतिक गुरु मान्ने गर्नुहुन्छ’, माओवादी केन्द्रका तर्फबाट गत स्थानीय निर्वाचनमा टोखा नगरपालिकामा मेयरको प्रत्याशी रहेकी कल्पनाले भनिन्, ‘यही कारण आज बुबा उहाँलाई भेट्न जाँदा पनि झुकेर नमन गर्नुभयो। तपाईंकै कारण यहाँसम्म आइपुगें भनेर भन्नुभयो।’
बाग्लुङ नगरपालिका–१२ मा पर्ने बलेवा (अमलाचौर) स्थित माविका शिक्षक शर्मा शिक्षण छाडेर नेकपा (मसाल) को पूर्णकालीन कार्यकर्ता बनेका थिए। उनी सो पार्टीको प्रवक्ता समेत भए। उनैले भतिज देवेन्द्रलाई डोहोर्याउँदै लगेर स्कुलमा भर्ना गराएका थिए।
‘उनले एसएलसी उत्तीर्ण गर्दा म पूर्णकालीन रूपमा राजनीतिमा लागिसकेको थिएँ, एसएलसी उत्तीर्ण गरेपछि मैले नै काठमाडौं ल्याएर त्रिचन्द्रमा भर्ना गरिदिएको हुँ’, शर्माले सम्झे, ‘उनलाई राजनीतिक दर्शन सिकाउनेदेखि लिएर पञ्चायतविरुद्ध ढुंगा हान्न सिकाउने काम पनि मैले नै गरेको हुँ। उनको बिहे पनि मैले नै गराइदिएको हुँ।’
दुवैको राजनीतिक पृष्ठभूमि मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) र हाल पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी केन्द्र) भए पनि २०४८/२०५६ मा भने उनीहरू अलग अलग पार्टीमा थिए– पौडेल माओवादीमा, शर्मा नेकपा (मसाल) मै।
तर मसाल विभाजन गर्दै शर्मा माओवादीमा मिसिएपछि भने काका–भतिज फेरि एउटै पार्टीको छातामुनि आइपुगे।
संयोग, काकालाई छाडेर भतिज पौडेल माओवादीमा लागेको झन्डै १० वर्षपछि काका शर्मा पनि माओवादीमै मिसिन पुगेका थिए भने काकाले शिक्षा मन्त्रालय सम्हालेको १० वर्षपछि नै भतिज पौडेलले अहिले यसैको जिम्मेवारी पाएका छन्।
‘काकाले पूर्वशिक्षामन्त्रीका हैसियतमा आफ्ना अनुभवका आधारमा मलाई महत्त्वपूर्ण सुझाव दिनुभएको छ, ती सुझाव शिक्षा क्षेत्रको स्तर उकास्न महत्त्वपूर्ण छन्’, मन्त्री पौडेलले नेपालखबरसँग भने, ‘तिनको कार्यान्वयन गर्न मेरो प्रयास रहनेछ।’
Shares
प्रतिक्रिया