पतञ्जलि योगपीठ नेपालले दुई टीभी च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ ले प्रसारणका लागि नेपाल सरकारसँग स्वीकृति लिन बाँकी नै रहेको र अहिले प्राविधिक तयारी मात्रै भइरहेको दाबी गरे पनि भारतस्थित पतञ्जलिका केन्द्रीय प्रवक्ता एस. के. तिजरवालाले नोभेम्बर १९ मा परीक्षण प्रसारण भइसकेको बताएका छन्।
भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै पतञ्जलिका केन्द्रीय प्रवक्ता तिजरवालाले प्रधानमन्त्री शेरबहादुर देउवाले आस्था नेपाल र पतञ्जलि नेपाल टीभीको परीक्षण प्रसारणको उद्घाटन गरिसकेको बताएका हुन्।
‘नेपालकेन्द्रित सामग्रीसहित नेपाली भाषामा यी दुई टीभीको परीक्षण प्रसारणको उद्घाटन प्रधानमन्त्री देउवाबाट भइसकेको छ। व्यावसायिक प्रसारणका लागि ३० दिनभित्र अनुमति लिइनेछ र सम्पूर्ण रुपमा यी टीभीको प्रसारण हुनेछ,’ उनले प्रेस ट्रस्ट अफ इन्डियासँग भनेका छन्।
आस्था टीभीले नेपालमा ‘डाउनलिङ्किङ’ गरी प्रसारण गर्न २०२४ सम्मका लागि इजाजतपत्र पाइसकेको तिजरवालाले बताएका छन्।
गत शुक्रबार मण्डिखाटारस्थित पतञ्जलि योगपिठमा तामझामसहित प्रधानमन्त्री देउवाले रिमोट थिचेर टीभी उद्घाटन गरेका थिए। टेलिभिजन फुटेजमा दुईवटा च्यानलको उद्घाटन भएको भनेर भिजुअल पनि देखाइएको छ।
त्यस अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति विमलेन्द्र निधि तथा विभिन्न दलका नेता र सरकारका प्रभावशाली मन्त्री मञ्चमा देखिएका छन्।
पतञ्जलि योगपीठ नेपालले आइतबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गरी टीभी सञ्चालनको अनुमति नलिएको र अनुमति लिने प्रक्रियामै रहेको स्वीकार गरेको थियो।
दुई टीभी च्यानलबारे पतञ्जलिका विरोधाभाषपूर्ण अभिव्यक्ति
पतञ्जलिद्वारा जारी विज्ञप्तिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएको दाबी गरिएको थियो।
‘केवल प्राविधिक तयारीको क्रममा मात्र रहेको छ,’ पतञ्जलि योगपीठका आईटी इञ्चार्ज सन्दीप वाल्मीकीले विज्ञप्तिमा भनेका छन्।
यी दुई टीभी २०७८ असोज ८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रमाणीकरण भएको र थप अनुमतिका लागि प्रक्रिया अगाडि नबढाइएको विज्ञप्तिमा उल्लेख छ।
‘शुभ साइतमा उद्घाटन गरिएको हो, तर प्रसारण गर्ने, सञ्चालन गर्ने कार्य भने हाल नगरिएको बेहोरा जानकारी गराउँदै नेपाल सरकारको नीति, नियम, कानुनको अधीनमा रही अनुमति प्राप्त भएपश्चात मात्र टीभी सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा छ।
तर, पतञ्जलि योगपीठ नेपालको विज्ञप्तिभन्दा ठिकविपरीत पतञ्जलि आयुर्वेद, भारतका प्रमुख आचार्य बालकृष्णले यी दुई टीभी प्रसारणको अनुमति पाइसकेको दाबी गरे।
‘भारतवर्षमा हाम्रा दस वटा टीभी च्यानल छन्, जहाँ साँस्कृतिक, आध्यात्मिक र बौद्धिक कुरा हुन्छन्। योग र स्वास्थका लागि हामीले अभियान चलाइरहेका छौँ। तर त्यो अभियान डिजिटल मिडियाका माध्यमबाट घ घर पुग्न सकेको थिएन। किनभने डिजिटल मिडियाले सबैतिर सन्देश पुर्याउन गाह्रो हुन्छ,’ बालकृष्ण भन्छन्, ‘त्यही भएर मेनस्ट्रिम मिडियाको माध्यमबाट आफ्ना कुरा बताउन चाहेका हौँ। हाम्रो च्यानल प्रारम्भ पनि भइसकेको छ।’
अनुमति लिनुभयो भन्ने प्रश्नमा उनले भने, ‘अनुमति आइसक्यो।’
पतञ्जलि के हो?
सन् २००६ मा योगगुरु रामदेव र आचार्य बालकृष्णले स्थापना गरेको पतञ्जलिले सुरुमा आयुर्वेदिक औषधि मात्रै उत्पादन गर्ने गरेको थियो। तर, पछि पतञ्जलिले दूध, कस्मेटिक सामान, खाद्यान्न लगायत दैनिक उपयोग्य सामग्री बजारमा ल्याउन थाल्यो।
पतञ्जलिमा भारतीय जनता पार्टीका नेताको समेत लगानी रहेको मानिन्छ। योगगुरु रामदेव र आचार्य बालकृष्णले भारतीय जनता पार्टीका लागि प्रत्यक्ष तथा परोक्षरुपमा काम गर्दै आएको बताइन्छ। पतञ्जलिले भारत र नेपालमा योग शिविर पनि चलाउँछ। योग र धर्मको आवरणमा रामदेवले व्यापार र राजनीति गरेको आरोप लाग्ने गरेको छ।
Shares
प्रतिक्रिया