नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा रहेको बताएका छन्।
आफूद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो (रुपान्तरणको दस सूत्र)’ काठमाडौंमा आइतवार सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा रहेको औँल्याए।
कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफूअनुकुल गरिरहेको भन्दै उनले आन्तरिक लोकतन्त्रका लागि खतरा महसुस गरेको बताए।
‘निर्वाचनको क्रममा जे हामीले भोग्यौँ, कांग्रेसका निर्वाचन भइरहँदा प्रशासन, प्रहरीको जसरी कहीँ बल, कहीँ छल, कहीँ सल प्रयोग भएको छ', उनले भने, 'कांग्रेसकै चुनावमा सत्ताको दुरुपयोग भइरहेको छ। यो पार्टीको आन्तरिक लोकतन्त्रका लागि एउटा गम्भीर खतरा बनिरहेको महसुस भइरहेको छ।'
वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरूलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए।
राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उनले राजनीतिक दललाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताए।
दलको सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरीने अवस्था रहनु चिन्ताको विषय भएको उनले उल्लेख गरे।
‘अति दलबन्दीबाट निमुखा जनताको न्याय मरेको छ। निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको छ। दलको सदस्य भएपछि उसलाई विशेष सहुलियत, उसलाई विशेष पहुँच, जो दलको सदस्य छैन। दलभित्र पनि गुटको, जो मुख्य सत्ताको केन्द्रमा छ। उसको नजिक हुनेको बाहेक अरुको अधिकार, निमुखा जनताको अधिकार त्यहीभित्र पनि अधिकार कुण्ठित भइरहेको अवस्था छ', उनले भने, 'अति दलबन्दीबाट निमुखा जनता अहिले पिसिएको अवस्था छ। यो पनि एउटा चिन्ताको विषय भएकाले दलहरूलाई नै लोकतान्त्रिकरण गरेर, जनताको काम गर्ने संस्थाको रुपमा विकास गर्नुपर्छ।'
उनले दलभित्र लोकतन्त्र भएमा मात्रै सारा जनताको अधिकारको रक्षा दलहरुले गर्न सक्ने पनि बताए। 'निमुखा जनताको अधिकारको पहरेदार दललाई बनाउन आन्तरिक लोकतन्त्र आवश्यक छ', उनले भने, 'दलहरु भित्रै आन्तरिक लोकतन्त्रको लडाइ लड्न जरुरी मैले देखेको छु।
वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असिमित महत्त्वाकांक्षाले लोकतन्त्रमाथि नै संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृत्तिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिए।
Shares
प्रतिक्रिया