नेपाली कांग्रेस गण्डकी सभापतिको लागि संस्थापन इतर समूहले कास्कीका पाका नेता शुक्रराज शर्मालाई साझा उम्मेदवार बनाएको छ।
बिहीबार अबेर पोखराको एक होटलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति घोषणा गरेका हुन्।
घोषण सभामा पार्टीका महामन्त्री डा. शशांक कोइरालासहित संस्थापन इतर समूहका नेताहरु उपस्थित थिए। सभापतिबाहेकका अन्य पदहरुमा भने भोलि बिहान उम्मेदवारी दर्ताभन्दा अगाडिसम्म उम्मेदवार तय गरिने उनले बताए।
सभापतिमा पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका युवानेता देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल तथा नवलपुरका महेन्द्रध्वज जिसीले दावेदारी प्रस्तुत गरेका थिए।
शुक्रराज कास्कीका पुराना नेता हुन्। १५ वर्ष कास्की कांग्रेसको सभापति चलाएका उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट संघीय सांसदका प्रत्यासी थिए।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्यसमेत रहेका उनी कास्की कांग्रेसको हस्ती मानिन्छन्। कास्कीमा उनको छुट्टै गुट छ।
पछिल्लो समय उनी संस्थापनतिर नजिकिएको चर्चा चलेको थियो। संस्थापनले पर्वतका अर्जुन जोशीलाई उम्मेदवार बनाएपछि त्यताबाट सभापति पाउने सम्भावना टरेको थियो।
शर्मालाई सभापतिको उम्मदेवार घोषणा कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जित्ने व्यक्तिलाई सभापतिको उम्मेदवार बनाइएको बताए।
उनले मुटुमा ढुंगा राखेर निर्णय गरिएको र बाँकी आकांक्षीहरुलाई अन्य ठाउँमा व्यवस्थापन गरिने बताए।
Shares
प्रतिक्रिया