पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगामा करिब ३ रोपनीमा नेपाली कांग्रेस कास्की जिल्ला पार्टी कार्यालयको २ तले भवन छ।
दुईवटा हलसहित भवनमा ७ कोठा छन्। पार्टी कार्यालय छिर्ने बाटो साँघुरो छ, तर पोखराको मुख्य बजार क्षेत्रमा रहेकाले सबैका लागि त्यो पायक पर्छ।
जिल्ला मालपोत कार्यालय (कास्की) द्वारा आर्थिक वर्ष २०७६/०७७ मा सार्वजनिक न्यूनतम मूल्यांकनअनुसार उक्त क्षेत्रमा जग्गाको भाउ प्रति वर्गकिलोमिटर ७० हजार रुपैयाँ छ। यस हिसाबले अहिलेको बजार मूल्यमा त्यो जग्गाको भाउ निकै महँगो पर्छ।
त्यसमाथि कांग्रेस कास्की जिल्ला समितिले पार्टी कार्यालय पूर्व विशालबजारसँग जोडिएको जग्गामा १६ वटा सटर बनाएर भाडामा लगाएको छ। त्यो जग्गा खरिद तथा त्यसमा भवन बनाउन १७ वर्षसम्म कांग्रेसको कास्की सभापति बनेका शुक्रराज शर्माको ठूलो योगदान छ। त्यसमा तत्कालीन कोषाध्यक्षहरू हेमबहादुर प्रधानदेखि ऋषि सापकोटासम्मको उत्तिकै महत्त्वपूर्ण भूमिका छ।
सानो मञ्च र खुला चौर पनि रहेको जिल्ला पार्टी कार्यालय कांग्रेसीहरूका लागि ‘गर्व’को विषय पनि बनेको छ। नेपाली कांग्रेस कास्कीका सबै गतिविधि त्यही भवनबाट सञ्चालन गरिन्छ।
तर हालै सम्पन्न जिल्ला अधिवेशनबाट किशोरदत्त बराल नेतृत्वमा निर्वाचित कांग्रेसको कास्की कार्यसमितिको लागि पार्टी कार्यालय ‘टाउको दुखाइ’ बन्ने संकेत देखिएको छ। नेपाली कांग्रेस स्रोतका अनुसार कास्की कांग्रेसको सो भवनमा पार्टीकै गण्डकी प्रदेश समितिले आँखा लगाएपछि समस्या सुरु भएको हो।
कारण के हो भने त्यो भवन निर्माणमा संलग्न शुक्रराज शर्मा यतिबेला कांग्रेस गण्डकीको सभापति भएका छन्। यसलगत्तै उनले गण्डकी प्रदेश कार्यालय पनि कास्की कार्यालयभित्रै बनाउन ‘लबिङ’ थालेका हुन्।
कास्की कांग्रेसको कार्यसमितिमा अहिले शुक्रराज शर्मापक्षीय सदस्यको बहुमत छ।
स्रोतका अनुसार प्रदेश समितिलाई त्यही (जिल्ला) कार्यालयमा कोठा वा जग्गामा भवन निर्माणकाे अनुमति नदिए कार्यसमितिको बहुमतबाटै निर्णय गराउने ‘धम्की’ शर्माले अनौपचारिक रूपमा सभापति बराललाई दिइसकेका छन्।
‘शुक्रराजजीले प्रदेश कार्यालय राख्नका लागि तारन्तार दबाब दिनुभएको कुरा आएको छ’, कास्की कांग्रेसका एक पूर्वपदाधिकारीले नेपालखबरसँग भने, ‘उहाँले यसका लागि प्रदेशका मन्त्रीदेखि यहाँका सबैजसो नेताहरूसम्मलाई भन्न लगाउनुभएको पक्का हो।’
तर कांग्रेसका कास्की सभापति बराल तत्काल कार्यालयका लागि कोठा वा भवन बनाउने अनुमति नदिने पक्षमा देखिएका छन्। प्रदेशका लागि जमिन उपलब्ध गराए अन्य भ्रातृ संस्था वा समितिहरूले पनि कार्यालय माग्दा अस्वीकार गर्न नसकिने तर्क उनको छ।
‘सभापतिज्यूले उपसभापति तथा सचिवहरूलाई तपाईंहरू चौरमा बसेर काम गर्न तयार हो भने निर्णय गरेर दिऊँ, हैन भने यो निर्णय सम्भव छैन भन्नुभयो रे’, ती पूर्वपदाधिकारीले भने, ‘केन्द्रको दबाबबारे पनि उहाँले भन्नुभएछ– केन्द्रीय समितिले नै निर्देशन दियो भने छुट्टै कुरा, नत्र सधैं म वा शुक्रराज दाइ नै सभापति भइरहने हैन, कास्कीको जग्गाको संरक्षण गर्नु मेरो दायित्व हो।’
यसबारे सभापति बरालसँग जिज्ञासा राख्दा यो पार्टीको आन्तरिक विषय भएकाले केही नबोल्ने बताए। महाधिवेशनका कारण आफू पार्टी कार्यालय जान नपाएको जिकिर गर्दै उनले भने, ‘पार्टीका भ्रातृ र क्षेत्रीय समितिहरूले कार्यालय खोजिरहेको भने सत्य हो।’
कांग्रेसको कास्की सचिव भानु ढकालले पनि क्षेत्रीय र भ्रातृ संगठनहरूले कार्यालयका लागि कोठा मागेको स्वीकारे। उनका अनुसार नगर सभापति सुरेन्द्रमान बिजुक्छे, कास्की प्रदेश नम्बर २ का क्षेत्रीय सभापति दीपेन्द्र मर्सानीले लिखित रूपमै कोठा माग गरेका छन्। भ्रातृ संगठनहरूले पनि अनौपचारिक रूपमा कार्यालयका लागि कोठा माग गरेको उनले बताए।
एउटै जंगलमा २ सिंह!
शुक्रराज शर्मा कांग्रेस कास्कीका ‘पावर सेन्टर’ हुन्। १७ वर्ष सभापति भएका उनी कास्कीमा आफ्नै गुट चलाउँछन्। आफू अनुकूलकालाई च्याप्ने र मन नपर्नेको खोइरो खन्ने भनेर उनको आलोचना हुने गरेको छ।
पटकपटक सांसदको टिकट पाएर पनि हारेका शुक्रराजले भर्खरै सम्पन्न पार्टीको १४औं महाविधेशनमा रामचन्द्र पौडेल–शेखर कोइराला समूहबाट प्रदेश सभापति लड्न टिकट पाए। कास्की कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा, नेता देवराज चालिसे मुख्य प्रतिस्पर्धी थिए। तर अन्तिम समयमा रामचन्द्र पौडेलले सबै प्रत्याशीलाई राखेर शुक्रराजलाई सभापतिकाे साझा उम्मेदवार घोषणा गरिदिए।
त्यसबेला रामचन्द्र पौडेलले भनेका थिए, ‘मुटुमाथि ढुंगा राखेर यो निर्णय गरिएको छ।’
शुक्रराजले प्रदेश सभापति पदको चुनाव जिते। योसँगै उनी आफ्ना लागि कार्यालयको खोजीमा लागेका हुन्। र, आफ्नै पहलमा जोडिएको जिल्ला पार्टी कार्यालयको भवन र जग्गामै आँखा लगाएका छन्।
आफूले चाहेको कुरा जसरी पनि गरिछाड्ने स्वभाव भएका शुक्रराजको पहिलो ‘तारो’ कांग्रेस कास्की सभापति किशोरदत्त बराल परेका छन्। किशोरदत्त प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट जिल्ला सभापति पदमा विजयी भएका हुन्। तर उनले पार्टीको केन्द्रीय चुनावमा आफ्नो अडान प्रस्तुत गरे– प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माका लागि खुलेरै मत मागे।
यसो गर्नु शक्तिशाली सभापतिविरुद्ध जानु र जोखिम मोल्नु हो भन्ने हेक्का शिक्षक पृष्ठभूमिबाट आएका किशोरदत्तलाई नहुने कुरै भएन। तर उनले विश्वप्रकाशलाई समर्थन गरेर आफू आफ्नै विवेकले चल्ने व्यक्ति भएको प्रमाणित गरिदिए।
जिल्ला तहका नेताहरू अवसरका लागि यो वा त्यो समूहका शीर्ष नेताको दौराको फुर्को समात्न मरिहत्ते गर्ने कांग्रसी वृत्तमा उनले आफूलाई ‘अडान र विवेक’ भएको नेताका रूपमा प्रस्तुत गरेका छन्। तर केन्द्रमा वाहवाही पाउँदा जिल्लामा भने उनी अर्का सिंहसँग भिड्नुपर्ने अवस्थामा पुगेका छन्।
‘जग्गा प्रकरण पेचिलो बन्यो भने यहाँ शुक्रराज र किशोरदत्तबीच लडाइँ सुरु हुनेछ र कास्की कांग्रेस कहिल्यै मिल्दैन भन्ने सन्देश प्रवाह हुन्छ’, कांग्रेसका एक नेताले भने।
Shares
प्रतिक्रिया