ad ad

राजनीति


यस्तो बेला हामीले स्वनाम साथी सम्झेका छौं

यस्तो बेला हामीले स्वनाम साथी सम्झेका छौं

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुस १०, २०७८ शनिबार १८:२१, काठमाडौँ

स्वनाम साथी कमरेड आफैंमा एउटा एभरेज मान्छेभन्दा अलि माथिको नेता हुनुहुन्थ्यो, योद्धा हुनुहन्थ्यो, सामान्यभन्दा फरक हुनुहुन्थ्यो उहाँ। उहाँको दर्शनसम्बन्धी ज्ञान, राजनीतिबारेको दृष्टिकोण, जीवन र जगतलाई हेर्ने, बुझ्नेबारे उहाँ एउटा यस्तो आशावादिता भरपूर व्यक्तित्व हुनुहुन्थ्यो, जो कसैलाई जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि उत्साह भर्ने, ऊर्जा प्रदान गर्ने नेता हुनुहुन्थ्यो।​

मैले ४५/४६ सालको ऐतिहासिक जनआन्दोलनपछि उहाँसँग अलि नजिक भएर पार्टी निर्माण्को बारे, पार्टी एकताको बारे पार्टीको विचारहरू र संघर्षबारे नजिकै बसेर काम गर्ने अवसर मलाई प्राप्त भयो। र, उहाँको ठूलो योगदान छ, नेकपा एकता केन्द्र बनाउने बेलामा, त्यसका अभियन्तामध्ये एक जना प्रमुख अभियन्ता कमरेड स्वनाम साथी पनि हुनुहुन्थ्यो। कतिपय बेला निकै जटिल परिस्थिति आउँदा पनि उहाँले त्यसलाई सम्हाल्ने कोसिस गर्नुहुन्थ्यो। र, वातावरणलाई सहज बनाउन मद्दत गर्नुहुन्थ्यो। र, एकताको पक्षमा दृढतापूर्वक उभिन बल गर्नुहुन्थ्यो। र, हामी सबैलाई पनि कहीँ न कहीँ एउटा शक्ति प्रदान गर्नेतिर उहाँको ध्यान हुन्थ्यो।

उहाँ कुनै व्यक्तिगत र निजी स्वार्थबाट अलि फरकै हुनुहुन्थ्यो, हुन त उहाँ जहाँ सँगै हुनुहुन्थ्यो कतिपय साथीहरू फेरि कुराचैं बडो निस्वार्थका गर्ने, आदर्शका गर्ने, गिठाभ्याकुरबाहेक कुरै नगर्ने पनि सँगै हुनुहुन्थ्यो, हामी गर्दै बुझ्दै जाँदा कति पाखण्डी नेता पनि हुँदारहेछन् भन्ने पनि हामीलाई लाग्थ्यो। उहाँले त पछि विचार, आदर्श, सिद्धान्त छोडेर दुनियाँलाई बुझाएर जानुभयो।

तर कमरेड स्वनाम साथी भने जीवनपर्यन्त आफ्नो उद्देश्यको निम्ति, आदर्शको निम्ति आफूलाई कहीँ कतै घुनपुत्लो लाग्न नदिईकन अन्तिम समयसम्म लडिराख्नुभयो, सिद्धान्तको निम्ति, आदर्शको निम्ति। त्यो मार्क्सवादी गुरुकुल स्थापनाका क्रममा उहाँसँग मेरो धेरै छलफल भएको थियो। यसलाई एउटा यस्तो स्कुलिङको संस्थाको रूपमा उहाँ विकास गर्न चाहनुहुन्थ्यो। र, बिरामी पर्दा पनि उहाँको ध्यान र चिन्ताचाहिँ कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट दर्शनलाई कसरी व्यवहारमा उतार्ने भन्नेतिर नै हुने गर्थ्याे। र, मैले पार्टीको तर्फबाट, पार्टीको अध्यक्षको हैसियतले स्वनाम साथीलाई स्वस्थ बनाउनको निम्ति धेरै नै हामी छलफल पनि गर्यौं, मेहनत पनि गर्यौं। लगानी पनि गर्यौं, कहिले चाइनामा, कहिले भारतमा। र, उहाँ स्वस्थ पनि हुनुभयो। उहाँको इच्छाशक्ति अलि बलियो नै भएकोले उहाँले मृत्युलाई धेरै समय नजिकै आएर पनि उहाँले त्यसलाई पार लगाउनुभयो। तर अन्ततः फेरि प्रकृतिको शाश्वत नियम मृत्युवरण त हुन्छ नै एउटा एउटा परिस्थितिमा, उहाँ हामीबाट जानुभयो।

तर हामी सबैको दिमागमा एउटा छाप नमेटिने छाप, स्वनाम साथीभन्दा - एउटा आदर्श त्यसका निम्ति समर्पित, सामान्यभन्दा फरक, सरदरभन्दा माथि त्यस्तो निष्ठा भएको व्यक्तित्वको छाप, त्यस्तो एउटा सन्देश हामी सबैलाई दिएर जानुभएको छ। त्यस अर्थमा म पनि कमरेड स्वनाम साथीप्रति श्रद्धापूर्वक म सम्मान व्यक्त गर्न चाहन्छु। र, उहाँले जुन आदर्शको निम्ति आफूलाई समर्पित गर्नुभएको छ। 

हामी कता-कता शान्ति प्रक्रियामा आइसकेपछि पार्टीमा विचारको बारेमा अलिअलि अन्योल, अस्पष्टता देखापरेकै छ। संगठन र व्यवहारमा कहीँ न कहीँ केही न केही प्रदूषणहरू पनि देखापरेकै हुन्। तर त्यसलाई सफाइ गर्ने र, यसलाई फेरि विचारमा स्पष्ट पार्ने, आदर्शको निम्ति समर्पित हुने पार्टी बनाउने पनि हामीले नै हो। हामीले फेरि एकचोटि यो प्रतिगमनविरोधी आन्दोलन भनेर हामीले गत सालमा आन्दोलनको एउटा ठूलो अभियान पनि चलायौं। हामीले केन्द्रीय समिति बैठक बसेर आफैंलाई रुपान्तरण नगरीकन यो देशलाई रूपान्तरण फेरि पनि गर्न सकिँदैन।

गरिब, दुःखी जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नको निम्ति यो कम्युनिस्ट पार्टीको रूपमा हामीले आफैंलाई विचारमा पनि, व्यवहारमा पनि हामीलाई रूपान्तरण गर्नुपर्छ भनेर संकल्प पनि गर्यौं। र, पार्टी पुनर्निमाणको अभियान चलायौं। र, त्यही अभियानको एउटा उच्चताको रूपमा भोलिबाट हामी राष्ट्रिय सम्मेलन गर्दै छौं। अरूका अधिवेशनहरू इत्यादिमा विचार, सिद्धान्त, अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति अबको हाम्रो गन्तव्य के भन्नेतिर केही चर्चा भएको हामी कसैले पनि सुनेनौं।

तर हाम्रो सम्मेलनको सन्दर्भमा विचार, सिद्धान्त, अन्तर्राष्ट्रिय पुँजीवादको स्थिति, समाजवादको स्थिति, कम्युनिस्टहरूको स्थिति, नेपालको विकासको चरण, हाम्रो इतिहास, हामी अब जाने गन्तव्य के हो भन्नेबारेमा केन्द्रित भएर हामी छलफल गरिराख्याछौं। हामी लगातार स्थायी कमिटीको बैठक बसिराख्या छौं। भोलि बिहानै केन्द्रीय समितिको बैठक बस्दै छौं र, राष्ट्रिय सम्मेलन गर्दै छौं। र, हाम्रो ध्यान हामी आफैंलाई रूपान्तरण गर्नेतिर छ।

यस्तो बेलामा हामीले स्वनाम साथीजस्तो एउटा आदर्शको निम्ति समर्पित व्यक्तित्वलाई सम्झना गरेका छौं। त्यसको संघारमा बसेर। जसले कम्युनिस्ट आन्दोलनबाहेक दायाँबायाँ कहिले सोचेन, जसले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनभन्दा दायाँबायाँ सोचेन, जसले श्रमिक र गरिब जनताको हकहित र उनीहरूको रक्षाबाहेक अरू सोचेन, त्यस्तो व्यक्तित्वको हामीले आज सम्झना गरेका छौं। उहाँलाई सम्मान गरेका छौं। उहाँको स्मृतिमा लेखिएको एउटा पुस्तक हामीले विमोचन गरेका छौं। मलाई लाग्छ, यसले हाम्रो पार्टीलाई वैचारिक ढंगले पनि, सांगठनिक ढंगले पनि रूपान्तरण गर्न एउटा नयाँ प्रेरणा नै यो कार्यक्रमले दिएको मैले महसुस गरेको छु। 

(२०७८ पुस १० गते आयोजित स्वनाम साथीको प्रथम स्मृति दिवसमा प्रचण्डले व्यक्त गरेको मन्तव्य।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .