ad ad

कला


जसले ‘चपली हाइट’ र ‘फाटेको जुत्ता’बाट पैसा कमाए, सन्तुष्टिका लागि ‘सानो संसार’ बनाए

जसले ‘चपली हाइट’ र ‘फाटेको जुत्ता’बाट पैसा कमाए, सन्तुष्टिका लागि ‘सानो संसार’ बनाए

लक्ष्मी बलायर
असोज ९, २०८१ बुधबार १५:५४, काठमाडौँ

निर्माता अर्जुनकुमार (डंगोल)ले चपली हाइट, फिटकिरी, चपली हाइट २, फाटेको जुत्ता, चपली हाइट ३ जस्ता फिल्ममा लगानी गरे। जसमध्ये उनले चपली हाइटका दुइटा र फाटेको जुत्ताबाट राम्रै पैसा कमाए पनि।

व्यावसायिक सफलताको स्वाद चाखे पनि उनी भित्रैबाट सन्तुष्ट भने थिएनन्। कारण: उनलाई केही फरक कथामा फिल्म बनाउन मन थियो। त्यस्तो कथा जहाँ आम नेपालीले आफूलाई पाऊन्। दर्शकले फिल्म हेरेको भन्दा पनि असली जिन्दगी जिएको महसुस गरून्।

त्यही चाहबीच गत वैशाख ताका अस्ट्रेलियामा रहेका अर्जुनकुमारलाई एक शुभचिन्तकको म्यासेज आउँछ। जसमा वेब सिरिज ‘सानो संसार’को लिङ्क पठाइएको थियो। यस्तै खाले सिनेमा बनाउनु भनेर सुझाव दिइएको थियो।

त्यसपछि अर्जुनकुमारले ‘सानो संसार’ को लिङ्क खोलेर हेरे। टुनामुना प्रोडक्सन युट्युब च्यानलमार्फत ‘सानो संसार’ का चारवटा एपिसोड प्रसारण भइसकेका थिए। चारैवटा एपिसोड हेरेपछि अर्जुनलाई कथाले निकै छोएछ। युट्युबमा पनि यो सिरिज निकै लोकप्रिय थियो।

यतिसम्म मन पराए कि उनले यसै सिरिजलाई फिल्म रूपमा ढाल्ने सोच बनाए। तुरुन्तै सिरिजका निर्देशक सिद्धार्थ पुडासैनीलाई फोन गरे। र, उक्त सिरिजलाई आफूले फिल्मको रूपमा बनाउने प्रस्ताव राखे। पुडासैनी पनि सिरिजलाई फिल्म बनाउने कुरामा सजिलै सहमत भए।

त्यसको १५/२० दिनपछि निर्माता अर्जुनकुमार नेपाल फर्के। पुडासैनीसँग भेटेर फिल्मबारे सम्झौता गरे। सिरिजका ८ वटा एपिसोड किनेर प्रसारित एपिसोडहरू बन्द गर्न लगाए।

त्यसपछि सुरू भयो ‘सानो संसार’ फिल्म यात्रा। मूल कथा पुरानै भए पनि पटकथामा थुप्रै काम गरियो। सिरिजमा सीतादेवी तिमल्सेनाबाहेक सबै नयाँ कलाकार थिए। तर, अर्जुनकुमारले निर्देशकसहित नयाँ कलाकारलाई लिएर नै फिल्मको सुटिङ सुरु गरे।

कथा निकै मन परेर यो फिल्म बनाएको उनको भनाइ छ।

‘चपली हाइट, फाटेको जुत्ता फिल्महरूले पैसा त कमाए। तर, मलाई आत्मसन्तुष्टि थिएन। किनकि ती मैले चाहेका सिनेमा होइनन्। त्यो भन्दा अझै बेटर बनाउन सकिन्छ कि भन्ने हुन्थ्यो। मलाई जहिल्यै पनि आम नेपालीहरूको कथामा फिल्म बनाउन मन थियो। जुन मैले सानो संसारमा कथामा भेटाएँ,’ उनले भने।

उसो त थ्रिलर र कमेडी जनराका जमेका निर्माता हुन् अर्जुनकुमार। तर, यस्ता आम जनताका कथा बोल्ने फिल्महरू बनाउनु निर्माताको जिम्मेवारी रहेको सुनाउँछन् उनी।

‘कुनै पनि व्यवसाय गर्दा हाम्रो एक दायित्व हुन्छ। हामीले जनताको लागि पनि केही गर्नुपर्छ। यसमा हामी सबैको भोगाइ छ। सिनेमा मात्रै बनाउनका लागि नभइ आफूलाई मन पराएर सानो संसार बनाएको हुँ। सिनेमाभित्र म आफूलाई भेटाउँछु। हरेक दर्शकले सिनेमाभित्र आफूलाई पाउँछन्। त्यो नै फिल्मको सबैभन्दा राम्रो पक्ष हो,’ उनी भन्छन्।

आफूले यस फिल्ममार्फत नयाँ कलाकारहरूलाई पनि प्रोत्साहन गर्न खोजेको उनको दाबी छ, ‘यसमा नयाँ कलाकारहरू हुनुहुन्छ। उहाँहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ। वास्तवमा यो सिनेमा नयाँ भाइबहिनीहरूलाई प्रोत्साहन समेत गरेको हो। हामीले नयाँ कलाकारलाई लिएनौँ भने कसले लिन्छ त? सधैं एउटैलाई हेर्दा दिक्क लाग्छ नि।’

फिल्मको कथाले मध्यमवर्गीय परिवारको आशा र संघर्षलाई समेटेको उनले सुनाए।

फिल्मको कथाको बारेमा खुलाउँदै उनले भने, ‘फिल्ममा सानो कथा र सानो संसार छ। तर, त्यसभित्र ठूलाठूला आशाहरू छन्। हामीले चाहेको यस्तो सिनेमा हो। यसमा मध्यम वर्गीय परिवारको कथा छ। बुवा दु:खी भए पनि सन्तानको अगाडि किन रुँदैनन्? आमाबुवा र सन्तानबीचको सम्बन्ध फिल्मभित्र छ।’

उनका अनुसार फिल्ममा निर्देशकसहित कलाकारहरूले निकै मेहनत गरेका छन्। फिल्मक्षेत्रमा उनीहरूको भविष्य राम्रो रहेको सुनाउँछन् उनी।

‘नयाँमा काम गर्ने जोस हुन्छ। सिक्न खोज्ने हुटहुटी हुन्छ। पाँचजना कलाकार छन्, जो भविष्यमा राम्रो कलाकार हुन्। फिल्म हेर्दा उहाँले अभिनय गरेको लाग्दैन। रियल लाइफ स्टोरी जस्तो लाग्छ। यो फिल्म हेरेपछि निर्देशकलाई पनि खोज्छन्,’ अर्जुनकुमारले सुनाए।

पछिल्लो समय भारतमा ट्वेल्थ फेल, लापता लेडिजजस्ता सरल कथा र कम बजेटका फिल्महरू दर्शकहरूको रोजाइमा परिरहेका छन्। अझ लापता लेडिजलाई त भारतबाट अस्करमा सहभागी हुँदैछ।

नेपालमा पनि वैशाखमा रिलिज भएको ‘बोक्सीको घर’ ले राम्रो कमाइ गरेको थियो। सामाजिक कथावस्तुमाथि बनेको यो फिल्म पनि कम बजेटमै निर्माण भएको हो। नेपालमा पनि बिस्तारै यस्ता कथाको फिल्म हेर्ने माहौल बनिरहेको सुनाउँछन् उनी।

‘अडियन्सलाई सिनेमामा कति खर्च भयो भन्ने मतलब छैन। अडियन्सलाई राम्रो सिनेमा चाहिन्छ। बोक्सीको घर जस्तो सिनेमाले पैसा कमाउँछ भन्ने कसैले सोचेको थियो! नेपालमा पनि यस्तो फिल्महरूको माहौल बनिरहेको छ। बिस्तारै दर्शकलाई बानी लगाउनुपर्छ,’ उनी भन्छन्।

यस्तो सिनेमा बनाउँदा जोखिम पनि कम हुने उनको भनाइ छ।

‘यस्तो सिनेमा बनाउँदा जोखिम हुन्न। केही न केही मान्छेले त फिल्म हेरिहाल्छ। ओटीटी र डिजिटल त चल्छ। त्यसको आशमा हो। सिनेमाहलसम्म पुग्दा जम्मा ७० लाख खर्च हुन्छ। अघिल्ला फिल्ममा डेढ करोडसम्म खर्च हुन्थ्यो। यसमा चाहिँ सबैले मिलाएर पैसा लिनुभएको छ,’ उनले भने।

अर्जुनकुमारका अनुसार फिल्मलले डिजिटल र विदेश राइट्समार्फत लगानी उठाइसकेको छ। हलमा चले पनि नचले पनि यो फिल्म बनाएर निकै सन्तुष्ट सुनिन्छन् उनी।

‘यो सिनेमाले कति पैसा कमाउँछ, मतलब छैन। तर, मलाई जीवनमा यस्तो फिल्म बनाएर भनेर निकै सन्तुष्टि भएको छ। किनकि यो मेरो अहिलेसम्मकै उत्कृष्ट फिल्म हो,’ उनले भने, ‘यो फिल्म दर्शकहरूलाई नयाँ टेस्ट हुन्छ। पूरा फिल्म हेरेपछि दर्शकलाई मजा आउँछ। फिल्म हेरेपछि एकचोटि विदेशमा भएका छोराछोरीले आमाबुवालाई फोन गर्छन्।’

यस फिल्ममा सीतादेवीसहित शिशिर शिवाकोटी, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सरिता भण्डारी, जीवन गौतमको लगायतको अभिनय छ। फिल्म असोज ११ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .