लामो रस्साकस्सीपछि एमालेको कास्कीसहित बागलुङ र स्याङ्जामा चुनावमार्फत नै नेतृत्व चयन हुने भएको छ। नेतृत्वको लागि बागलुङमा मतदान भइसकेको छ भने कास्कीमा सोमबार मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ।
हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने जाडोको कारण अधिवेशन पछि सरेको छ।
गण्डकीका बाँकी जिल्लामध्ये नवलपुरमा निर्वाचन मण्डलले सोमबारसम्मको लागि निर्वाचनका कार्यक्रम स्थगित गरेको छ। त्यहाँ पनि प्रदेश सांसद तथा हालका अध्यक्ष रोशन गाहा मगर तथा सचिव जीवन श्रेष्ठबीच को अध्यक्ष हुने भन्ने प्रतिस्पर्धा छ।
पर्वतमा यो समाचार तयार पार्दासम्म सहमतिको प्रयास भइरहेको छ। संघीय सांसद पदम गिरी र प्रदेश सांसद विकास लम्साल फलेवासका मेयर पदमपाणि शर्मालाई सर्वसम्मत बनाउन लागि परेको र सम्भवतः सर्वसम्मत नेतृत्व चयन हुने एमाले पर्वतका एक नेताले बताए।
गण्डकीको सदरमुकामसमेत रहेको कास्कीमा नेतृत्वको लागि सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागी टिम नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। उनीहरुले उपाध्यक्षदेखि सबै पदाधिकारीमा आ–आफ्ना उम्मेदवार उठाएका छन्।
गुरुङको प्यानलबाट उपाध्यक्षमा तेजनारायणा अधिकारी,सचिवमा विष्णुबहादुर केसी र उपसचिवमा इमानराज पौडेल उम्मेदवार बनेका छन् भने वैरागी समूहबाट उपाध्यक्षमा प्रभा कोइराला, सचिवमा वैनबहादुर अधिकारी क्षेत्री र उपसचिवमा दर्शन लामा र रुपाका अध्यक्ष नवराज ओझाले पनि दावी गरेका छन्। तर, लामा र ओझामध्ये एकलाई बसाउने योजनामा सो समूह रहेको छ।
उपसचिवमा मनभुजा विक र सुनकुमारी भुजेल पनि प्रतिस्पर्धी छन्। अन्य पदमा पनि कडा प्रतिस्पर्धा हुने निश्चित हुँदा मादी गाउँपालिकाका सबै वडाबाट सर्वसम्मत सदस्य चुनिएका छन् मादी १ बाट सन्तोष गुरुङ, २ बाट खेमराज सापकोटा, ३ बाट महेन्द्र गुरुङ, ४ बाट नारायण अधिकारी,५ बाट बिष्णुमाया पौडेल र ६ बाट पशबहादुर बास्तोला जिल्ला कमिटीमा आएका छन्।
रुपा १ बाट लालशोभा गुरुङ,२ बाट दामोदर घिमिरे,३ बाट राजन सुवेदी र ४ बाट पुष्प सुवेदी निर्विरोध बनेका छन्।
पोखरा महानगरमा वडा नम्बर ४ बाट राजकुमारी पन्थी, ३ बाट राजकुमारी भुजेल र २४ बाट ओम सुवेदी पनि निर्विरोध भएका छन्। विद्यार्थी इलाकाबाट आर्शीवाद सुवेदी र बुद्धिजीवी इलाकाबाट रामप्रसाद खनाल र दुर्गा भण्डारी चुनिएका छन्।
स्याङ्जा उपाध्यक्षमा खाँण
नेकपा एमाले स्याङ्जाको उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमै उम्मेदवारी दिएका महेश पुरीले उम्मेदवारी फिर्ता लिएपछि खाँण निर्विरोध बने। अध्यक्षमा नारायण मरासिनी र सूर्यप्रसाद गैरेबीच प्रतिस्पर्धा हुँदा उनीहरु समूह नै बनाएर निर्वाचनमा होमिएका छन्।
अध्यक्षमा नारायण मरासिनी र सूर्यप्रसाद गैरेबीच प्रतिस्पर्धा हुँदा उनीहरु समूह नै बनाएर निर्वाचनमा होमिएका छन्। ७१५ जना प्रतिनिधि रहेको अधिवेशनमा उपाध्यक्ष बाहेका सबै पद मतदानबाट छिनोफानो हुँदैछ।
म्याग्दीमा कटुवाल
नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल सर्वसम्मत भएका छन्। रघुगंगा गाउँपालिका–२ राखु निवासी कटुवाल यसअघि एमाले म्याग्दीको उपाध्यक्ष थिए।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहेका कटुवाल एमालेको पाका र बौद्धिक नेताका रुपमा परिचित छन्। उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी र उपसिचवमा थमसरा पुन र राजकुमार थापा रहेका छन्।
बागलुङमा मतदान सकियो
बागलुङ अध्यक्षका लागि कृष्ण पाठक, हीराबहादुर केसी र मेहरसिंह पाईजा चुनावी मैदानमा छन्। उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षका लागि उम्मेदवारी दिएका रामबहादुर जिसीले अन्तिम समयमा मनोनयन फिर्ता लिएका थिए।
उप–सचिवका लागि डम्मर श्रीष, गणेशबहादुर थापा, प्रेम लामिछाने, चित्रकला छन्त्याल, रामबहादुर जिसी र नेत्र बिष्ट चुनावी मैदानमा छन्। खुल्ला सदस्य २४ जनाका लागि ३६ जना चुनावी मैदानमा छन्।
Shares
प्रतिक्रिया