एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ विजयी भएका छन्। प्रतिस्पर्धी संघीय सांसद नारायणप्रसाद मरासिनीलाई १८३ मतले हराउँदै उनी अध्यक्ष बनेका हुन्। मंगलबार सम्पन्न मतगणनाको परिणाम अनुसार गैरेले ४४० र मरासिनीले २५७ मत प्राप्त गरे।
गैरेको राजनीतिक पृष्ठभूमि माओवादी हो। माओवादी केन्द्रभित्र रामबहादुर थापा ‘बादल’ पक्षीय रहेका गैरे फागुन २३ गते सर्वोच्चको फैसलापछि पनि बादलजस्तै एमालेमै बसेका थिए। विजयसँगै गैरे पूर्वमाओवादी समूहबाट एमाले जिल्ला अध्यक्ष बन्ने पहिलो व्यक्ति बन्न पुगेका छन्। ३५ वर्षीय गैरेले सम्भवतः सबैभन्दा कान्छो अध्यक्षको रेकर्ड पनि कायम राखेका छन्।
‘म आफैले के भनुँ, मेरो पृष्ठभूमिको कुरा गर्दा सम्भवतः तपाईंले भनेका दुवै कुरा हुनसक्छ, बुझ्नुहोस्’,टेलिफोनमा उनले भने, ‘मलाई एमालेका इमान्दार मतदाताले नै यहाँ पुर्याउनुभएको हो।’
गैरे १६ वर्षको उमेरमै माओवादीमा लागेका थिए। स्याङ्जाको गल्याङ नगरपालिका–९ मा २०४३ सालमा जन्मेका उनी ५८ सालबाट भूमिगत भएका थिए। २०६० सालमा उनी नवलपरासीको बर्दघाटबाट पक्राउ परे। माओवादीको सहर हेर्ने विशेष जत्था ‘एसटीएफ’मा क्रियाशील रहेका बेला पक्राउ परेका गैरेलाई २२ महिना बेपत्ता बनाइयो।
‘त्यो बेला मलाई सेनाले नवलपुर ब्यारेकमा बेपत्ता बनायो, यातनाको त अहिले के सम्झनु?’,विजयी भएपछि उनले भने, ‘पुनरावेदन अदालत पोखरामा रिट हालेपछि ब्यारेकबाट पुलिस रिट हालेपछि बाँचिन्छ भन्ने भयो तर थप १४ महिना हिरासतमै बसेँ।’
गैरे २०६३ सालको परिवर्तनपछि बल्ल जेलबाट छुटेका हुन्। उनीमाथि ज्यान मुद्दा लगाइएको थियो। माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै गैरेको प्रभाव विस्तार भयो। स्याङ्जाबाट माओवादीमा उच्चस्तरीय नेता नभएको लाभ उनलाई मिल्यो। माओवादीको जिल्ला सदस्य, कार्यालय सचिव हुँदै उनी अगाडि बढ्दै गए। जिल्ला नेतृत्वमा रहँदै माओवादी विभाजित बन्यो।
उनी रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्यतिर लागे। त्यहाँ पनि उनी जिल्ला संयोजक बने। एकीकरणपछि पुनः माओवादी केन्द्रमा आउँदा पनि उनको भूमिका घटेन। माओवादी र एमाले एकीकरणपछि बनेको कमिटीमा संयोजकको भूमिका पाए।
एमालेमा आएसँगै उनले आफूलाई साँच्चिकै ‘एमाले’मा परिणत गरे। एमालेको राजनीतिमा उदाउँदै गरेकी पद्मा अर्यालसँग नजिकको सम्बन्ध बनाए। एकीकरणकै बेला बादलको कोटामा जिल्ला अध्यक्ष बनेका उनको पद माओवादी–एमाले विभाजनपछि पनि खोसिएन।
एमाले र माओवादीको विभाजन तथा माधव नेपाल समूहको पार्टी परित्यागपछि गैरे स्याङ्जामा झन् शक्तिशाली बनेर निस्किए। पार्टी उपाध्यक्ष बनेका बादलको आड भरोसा तथा हालकी सचिव पद्मा अर्यालसँगको सम्बन्ध उनलाई खुबै फाप्यो।
‘नेकपा निरन्तरताकै रुपमा बुझेर एमालेमा रहियो’,उनले भने, ‘अहिले अधिवेशन आयोजक बन्ने अवसर पनि त्यहीँबाट प्राप्त भएको हो।’
स्याङ्जा अध्यक्षमा उनीसँग पराजित मरासिनी सुरुदेखि नै केपी ओली समूहका भरपर्दा व्यक्ति हुन्। २०५४ सालमा पद्माले माले रोज्दा मरासिनीले नै एमाले धानेका थिए। मरासिनीले आफूलाई एमाले स्याङ्जाको संस्थापन मानिरहँदा एकाएक पद्माको उदय भयो।
किरण गुरुङ,स्वर्गीय रवीन्द्र अधिकारीहरुसँगै वामदेव गौतमको गुट छाडेर केपी ओली क्याम्पमा लागेपछि पद्माले आफूलाई प्रमाणित गरिन्। नेपाली कांग्रेसका उपसभापति भइसकेका गोपालमान श्रेष्ठलाई चुनावमा पराजित गरिन्। मन्त्री बनिन् र ओलीको विश्वासपात्रमा आफूलाई दर्ज गराइन्।
लेखकको समेत परिचय बनाएका चतुर गैरेले नारायणप्रसाद र पद्माबीचको अन्तरद्वन्द्व नबुझ्ने कुरै भएन। उनी त्योभन्दा पनि अगाडि बढे। पद्मा र हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एकातिर र संगठन विभाग प्रमुख खगराज अधिकारी अर्कोतिर भएको अवस्थामा फाइदा पनि उनलाई प्राप्त भयो।
आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेल तथा क्षेत्र नम्बर २ का अध्यक्ष कृष्ण खाँणले समेत अध्यक्षको दावेदारी प्रस्तुत गरिरहँदा पद्माले हितैषी सुधीरको सट्टा पारसलाई नै च्यापिन्।
‘माओवादीबाट आएका बादलको मन राख्न र पद्माको राजनीतिक महत्वाकांक्षालाई चुनौती दिनखोज्ने मरासिनीलाई तह लगाउन गैरे प्रयोग भए’,एमाले स्याङ्जाका एक नेताले भने,‘ पारसको क्षमतामा शंका छैन,उनी आफ्नो जिम्मेवारी पूरा गर्न माहिर छन् तर चुनावले स्याङ्जामा गुट जन्माएको छ र कांग्रेस बलियो भएको जिल्लामा गुट हुँदा एमाले कमजोर हुने सम्भावना पनि उत्तिकै छ।’
त्यसो त, पूर्वमाओवादीहरु गैरेलाई नेतृत्वको लागि असफल व्यक्ति भएको आरोप लगाउँछन्। पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ आएको मत गैरे नेतृत्वमा आएसँगै घटेको माओवादीको जिकिर छ। उनीमाथि अवसरवादी र ‘बौद्धिकता’नै न्यौछावर गरेको आरोप लगाउनेहरुको पनि कमी छैन।
विभिन्न संचारमाध्यममा लेख्ने उनी पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीकापक्षमा दह्रोसँग उभिएका छन्।
एमालेको दशौं महाधिवेशलगत्तै उनले लेखेका छन्,‘अध्यक्ष ओलीले अगाडि सार्नुभएको नेपाली मौलिकता सहितको समृद्ध राष्ट्र निर्माणको प्रश्न नै वास्तवमा समाजवाद प्राप्तिको लागि सही आधार बन्न सक्छ। साथै नेपाली मौलिकतामा विकास हुने समृद्धिले समस्याहरूको दिगो व्यवस्थापन पनि गर्न सक्छ। मूल विषय अध्यक्ष ओलीले सम्प्रेषण गरिसकेको सन्दर्भमा अब त्यसलाई २१ औं शताब्दीको मूर्त अर्थराजनीतिक मार्गको स्वरूप दिने कुरामा सम्पूर्ण निर्वाचित नेतृत्वहरू एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्दछ।’
जे होस्, बाठाहरुको जिल्ला भनेर चिनिने स्याङ्जा अध्यक्ष बनेर पारसले इतिहास निर्माण गरेका छन्। पूर्वमाओवादीबाट एकमात्र जिल्ला अध्यक्ष बनेसँगै उनको नयाँ राजनीतिक यात्रा पनि सुरु भएको छ।
Shares
प्रतिक्रिया