ad ad

राजनीति


एमसीसीका कारण माओवादीमा चर्कियो असन्तुष्टि, नारायणकाजीको टोलीले पार्टी छाड्न सक्ने

एमसीसीका कारण माओवादीमा चर्कियो असन्तुष्टि, नारायणकाजीको टोलीले पार्टी छाड्न सक्ने

फाइल तस्बिर


सागर न्यौपाने
फागुन १७, २०७८ मंगलबार १६:२७, काठमाडौँ

संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ।

एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही नेताहरुले माओवादी केन्द्र छाड्ने तयारी गरेका छन्। 

परिस्थितिले नाटकीय मोड नलिए माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसहितका केही पूर्व स्थायी समिति सदस्यहरु बाहिरिने छन्।

फागुन २० गते डाकिएको केन्द्रीय समिति बैठकसम्म कुर्ने, त्यहाँ आफ्ना कुरा राख्ने र अनि बाहिरिने उनीहरुको योजना छ। 

महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराएको भन्दै श्रेष्ठसहितलाई नयाँ पार्टी बनाउन तल्लो तहका नेताहरुले तीव्र दबाब दिएपछि यस्तो छलफल चलेको हो।

केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज जीवन गौतमले केन्द्रीय समिति बैठकमा आफ्ना कुराहरु राख्ने बताउँदै त्यहाँ सम्बोधन नभए नयाँ पार्टी निर्माणमा लाग्नुपर्ने निष्कर्षमा पुगेको बताए।

फागुन १५ गते बसेको संसद बैठकबाट करिब ५५ अर्ब बराबरको एमसीसी अनुदान सम्झौता र १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अनुमोदन भएको थियो। त्यसप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइ छाडे,’ श्रेष्ठले आइतवार साँझ सामाजिक सञ्जालमा भनेका थिए, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं, नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।’

त्यही दिन केही नेताहरुले उनलाई नयाँ पार्टी बनाउन सुझाव दिएका थिए। बेलुका साढे नौ बजेपछि भएको जुम बैठकमा सहभागीहरुले एमसीसीका पक्षमा माओवादीले मत हालेर गलत गरेको भन्दै नयाँ पार्टी बनाउन सुझाव दिएको एक नेताले बताए। त्यस भर्चुअल बैठकमा डेढ सय बढी सहभागी थिए। 

‘भर्चुअल बैठकमा नारायणकाजी श्रेष्ठले विशिष्ट अवस्था आएको छ, के गरौं भनेर सुझाव माग्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय नेताले नेपालखबरसँग भने, ‘राष्ट्रघातको टीका लगाएर बस्नु हुँदैन, नयाँ पार्टी बनाऔँ भनेर सुझाव दिइएको छ।’

केही केन्द्रीय नेताहरुले भने केन्द्रीय समिति बैठक कुर्न पनि सुझाव दिए।

माओवादीले पदाधिकारी चयन गर्न फागुन २० गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ। माओवादीको केन्द्रीय सदस्य संख्या २ सय ४६ छ।

केन्द्रीय समिति बैठकमै एमसीसीको विषयमा छलफल गर्ने  निष्कर्षमा पुगेका श्रेष्ठसहितका नेतालाई सोमबार अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिले झस्काएको छ।

सोमबार प्रचण्डले पत्रकार सम्मेलनमा नेता श्रेष्ठको नामै लिएर पार्टीमा भएको निर्णयविरुद्ध बाहिर लेखेकोमा आपत्ति जनाएका थिए।

‘यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछन्, केन्द्रित हुन्छन्, जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ,’ खुमलटारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डको भनाइ थियो, ‘नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन्। उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए किन प्रेमजीको भएन?’

यही अभिव्यक्तिपछि श्रेष्ठनिकटहरु प्रचण्डप्रति असन्तुष्ट छन्।

‘पार्टी बनाउने भन्ने थिएन, हिजो अध्यक्षले पार्टी छोडेर गए तिम्रो हालत यस्तो हुन्छ, उस्तो हुन्छ भन्नुभएछ,’ श्रेष्ठनिकट एक सांसदले नेपालखबरसँग भने, ‘अब भने चुप बस्न सकिँदैन र हुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ।’

ती सांसदका अनुसार गिरिराजमणि पोखरेल र अञ्जना विसङ्खेले एमसीसी अनुमोदनको विपक्षमा मत दिए। कृष्णबहादुर महरा, रेखा शर्मा र जयपुरी घर्ती अनुपस्थित भए।

माओवादी केन्द्रको पुस ११ देखि १८ सम्म चलेको राष्ट्रिय महाधिवेशनले परिमार्जन वा संशोधन नभई एमसीसी पास नगर्ने निर्णय गरेको थियो।

तर, फागुन १५ गते बसेको पूर्व स्थायी समिति बैठकले एमसीसीमा रहेका केही बुँदाहरूलाई व्याख्यात्मक घोषणा गरेर संसदबाट पास गर्ने निर्णय गरेपछि माओवादी विभाजनको संघारमा पुगेको गौतम दाबी गर्छन्।

‘हाम्रो पार्टीको वैधानिक निकाय अध्यक्ष र केन्द्रीय समिति मात्र हो, अहिले स्थायी समिति बनेकै छैन, त्यस्ता कमिटीले गरेको निर्णय कसरी स्वीकार्य हुन्छ?’ गौतमले प्रश्न गरे।

श्रेष्ठनिकट अर्का केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समितिमा  हुने छलफल, त्यहाँ निस्कने विचारले पार्टीमा रहने कि नरहने देखाउँछ, अहिलेसम्मको अवस्था हेर्दा मिल्ने सम्भावना ज्यादै कम छ।’

माओवादी केन्द्रको समर्थनमा एमसीसी अनुमोदन भएपछि स्थायी समिति सदस्य कृष्णबहादुर महरा, नेता लेखनाथ न्यौपाने लगायतले असन्तुष्टि जनाएका छन्। उनीहरु आफूसँग छलफलमा रहेको श्रेष्ठनिकट स्रोतले जनाएको छ। 

एमसीसी पास गर्नु हुँदैन भनेर माओवादी केन्द्रले नयाँ बानेश्वर अगाडि बृहत् प्रदर्शन गराएको थियो। सो प्रदर्शनमा आएका नेताहरु पार्टीले निर्णय उल्ट्याएको भन्दै निराश भएर फर्केका थिए।

त्यसमाथि सोमबार प्रचण्डको अभिव्यक्तिले माओवादी केन्द्रमा सँगै जान नसक्ने निष्कर्ष निकाल्न बाध्य बनाएको उनीहरुको भनाइ छ।

‘व्यक्तिगत रुपमा चलाइएको यो पार्टीबाट अब केही हुँदैन,’ श्रेष्ठनिकट एक नेताले भने, ‘राष्ट्रघातको टीका लगाएर बस्नु हुँदैन भन्ने मत बलियो छ। प्राय युवाहरु नयाँ पार्टी बनाउने पक्षमा छन्। पार्टी नबने पनि माओवादी केन्द्र छाडेको घोषणा हुनसक्छ।’

अध्यक्ष प्रचण्डनिकट स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले पार्टी नछाड्ने र केन्द्रीय समिति बैठकमा घनिभूत छलफल हुने बताएको छ।

‘आगामी २० गते बस्ने केन्द्रीय सदस्य बैठकमा सबै छलफल हुन्छ,’ स्रोतले भन्यो, ‘विशिष्ट अवस्थामा गरिएको निर्णयप्रति रहेका आशंका चिरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .