नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पार्टी नेतृत्व पोखरा आउने भएको छ।
पोखरा सभागृहमा यही चैत ६ गते आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउने माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन्।
प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जनवर्गीय मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरु,प्रदेश/जिल्ला/नगर/गाउँका पदाधिकारी,सल्लाहकार सहभागी हुनेछन्।
यसैगरी नेकपा हुँदाका जिल्ला सदस्य र महानगर समितिका सदस्यहरु, नगर, गाउँ समितिका पदाधिकारीहरु, जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु, नगर गाउँपालिकाका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरु, पोखरा महानगर समितिको हकमा महानगर समितिका सबै सदस्यहरु, महानगर वडाका पदाधिकारीहरु र कास्कीका सबै गाउँपालिका समितिका सदस्यहरु गरी २५ सय नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने माओवादीले जनाएको छ।
माओवादीले प्रशिक्षण लगत्तै गण्डकीका ११ वटै जिल्लामा स्थानीय निर्वाचन केन्द्रित पार्टी गतिविधि अघि बढाउने योजना बनाएको छ।
Shares
प्रतिक्रिया