अटेरी अभियानमार्फत पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेस पौडेलले शनिबार शुभेच्छुक र पत्रकारमाझ भने, ‘अटेरी भनेको दलहरुभित्रै भाँडभैलो ल्याउने अभियान हो।’
उनी यत्तिमै रोकिएनन्।
दलहरुमै रहेका कार्यकर्तालाई विद्रोहका लागि उक्साउँदै थपे, ‘विचारविहीनता पनि विचार हो र अटेरी भनेको दल हैन, तर दल हो। निश्चित दर्शन नभए पनि राजनीति गर्न सकिन्छ।’
अटेरी अभियानलाई उनले दलीय अकर्मण्यताविरुद्धको आवाजका रूपमा अर्थ्याए र जनताको चाहनाअनुसार राजनीति दल चलेका भए अभियानको आवश्यकता नहुने तर्क गरे।
स्थानीय तहको निर्वाचनको मुखैमा लेखक तथा साहित्यकार गनेस पौडेलले सुरु गरेकाे अभियान हो– अटेरी।
अटेरीको निश्चित दर्शन छैन तर दर्शनसहित राजनीति गरेका दलहरुले केही गर्न नसकेको भन्दै उसले आपत्ति जनाएको छ।
अटेरीका तर्फबाट गनेसले सार्वजनिक गरेको ‘कार्ययोजना पत्र’ले कम्तीमा यही भनेको छ। विकासको अवधारणा पस्केको छ। अटेरी अभियानमै सामेल हुँदै पोखराका केही वडा र भरतपुरमा स्वतन्त्र उम्मेदवारी घोषणा भएको छ। कार्ययोजना पत्र सार्वजनिक कार्यक्रममा भैरहवाको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेदवारी घोषणा गरेकी इशा खड्का पनि सामेल थिइन्। उनले गनेसलाई आदर्श व्यक्तित्वका रुपमा प्रस्तुत गर्दै केही गरौं भन्ने युवाको भावना नै अटेरीमार्फत बाहिर आएको बताइन् ।
अटेरी घोषणा
अटेरीमार्फत पोखरा महानगरको स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गनेसले सुरुमै कसैको लवाइ वा चालचलनका आधारमा धारणा बनाउन नहुने तर्क गरे।
कार्यक्रममा कविता सुनाएका लेखक कुमार नगरकोटीको उदाहरण दिँदै उनले भने, ‘नगरकोटी दाइले दाह्री पाल्न हुन्छ भने गनेसले किन हुँदैन? कसैले कपाल कस्तो काट्छ भन्ने उसको स्वतन्त्रता हो।’
व्यक्तिगत स्वतन्त्रताको हिमायती देखिने गनेसको घोषणापत्रमा निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य,नाकमा सुशासनको परिकल्पना छ। पोखराको भाग्य निर्माणमा दिगो पर्यटन,अर्जुनदृष्टिमा शिक्षा र स्वास्थ्य र पहिचानमा सुशासनको व्याख्या गरिएको छ।
४८ पृष्ठ लामो कार्ययोजना पत्रमा उनी यौनको मामिलामा उदार देखिएका छन्। संवेगात्मक अधिकारको सुरक्षा भन्ने खण्डमा उनले घोषणा गरेका छन्– यौन उदारता नभएको समाजमा मान्छे सम्पूर्ण स्वतन्त्र हुनै सक्दैन। यौन मानिसको आधारभूत आवश्यकता हो र उमेर पुगेका मानिसले यो शारीरिक आवश्यकता पूरा गर्दा कुनै अपराधबोध वा ग्लानी महसुस गर्नुपर्दैन भन्ने मान्यता यौन उदारताको मान्यता हो। धर्म,परम्परा, संस्कृतिका नाममा,सामाजिक मूल्य/मान्यतालाई खलल पुर्याएको नाममा मान्छेको यौन अधिकार जसरी दबाउने काम हुन्छ, लोकतान्त्रिक मुलुकका लागि यो शोभनीय कुरा होइन। त्यसमा पनि पुरुषले यौन आवश्यकता पूरा गर्दा सामान्य विषय मानिनु तर महिलाले त्यही काम गर्दा पारिवारिक इज्जत र प्रतिष्ठाको विषय बनाइनु लैंगिक हिंसाको कुरुप अभ्यास मात्रै हो। यही कुरुप अभ्यासका बलमा आपसी सहमतिमै सँगै बसेका बालिग नागरिकलाई होटलबाट पक्रिने र अपमानजनक व्यवहार गर्ने लज्जास्पद काम हुन्छ। समाजदेखि अलिकति लुकेर प्रेम साटिरहेका जोडीलाई समेत पक्रेर दुःख दिइन्छ। लोकतान्त्रिक मुलुकका लागि यो अशोभनीय क्रियाकलाप हो। युवायुवतिले आफ्नो भावना साट्न,आफ्नो संवेगात्मक आवश्यकता पूरा गर्न पनि ठाउँ नपाउने महानगर के महानगर?
यति भनिसकेपछि उनले थपेका छन्, ‘हाम्रो प्रशासनले बालिक नागरिकले आफ्नो संवेगात्मक आवश्यकता पूरा गरेको विषयलाई कुनै पनि बहानामा गम्भीर मान्ने छैन र उनीहरुलाई धरपकड गरिने छैन भन्ने कुराको प्रत्याभूति दिनेछ।
उनको कार्ययोजना पत्रमा ओशोको दर्शन प्रतिविम्बन भएको छ।
Shares
प्रतिक्रिया