नेपाली कांग्रेसको पोखरा महानगरपालिका कार्य समितिले त्यहाँको मेयर पदका लागि एकीकृत समाजवादीलाई सघाउन नसकिने जनाएको छ।
कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार तालाबन्दी गरेको महानगर कार्य समिति सचिव गणेश थापाले समाजवादीलाई मेयरको टिकट दिने निर्णय केन्द्रले सच्याउनुपर्ने अडान लिएका छन्।
थापाले पोखरामा आफूहरुले तीनवटा विकल्प अघि सारेको बताएका छन्। पहिलो विकल्पका रुपमा उनीहरुले समाजवादीलाई मेयर पदको टिकट दिने निर्णय नै सच्याउनुपर्ने अडान लिएका छन्।
'पहिलो कुरा त समाजवादीलाई दिएको टिकट फिर्ता लिएर कांग्रेस आफैं मेयरमा उठ्नुपर्छ भन्न हो', उनले भने, 'समाजवादीलाई टिकट दिने विषयमा हामीसँग केन्द्रले कुनै छलफल गरेको छैन। छलफल नै नगरी अर्को पार्टीलाई मेयरको टिकट दिने कुरा हाम्रा लागि स्वीकार्य हुनै सक्दैन।'
थापाले दोस्रो विकल्पका रुपमा गठबन्धनको सहयोगमा समाजवादीबाट पोखराको मेयरमा उठ्नेले चुनाव चिह्न रुख लिनुपर्ने पनि अडान लिएका छन्।
'यदि रुख चुनाव चिह्न कायम गरेर त्यसमै भोट हाल्ने भए मात्रै एकीकृत समाजवादीलाई सघाउँछौँ', उनले भने, 'कांग्रेस पोखरा नगर समितिका ३३ वटा वडाकै सभापतिहरूको बैठक त्यसकै लागि बस्दैछ। कांग्रेसको रुख चिह्नमा समाजवादी उठे मान्य हुन्छ। नत्र हामी तेस्रो विकल्पमा जान्छौँ।'
कांग्रेस पोखरा महानगर कार्य समितिले यदि पहिलो र दोस्रो विकल्पमा तयार नहुने हो भने स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेको छ।
'पहिलो र दोस्रो सर्त पूरा हुन सक्दैन भने हामी अरु कसैलाई समर्थन गर्छौँ। त्यसो नभएमा स्वतन्त्र उम्मेदवार उठाउने दिशामा हामी छौँ', उनले भने, '२१ हजारभन्दा धेरै क्रियाशील सदस्य भएको नेपाली कांग्रेसलाई छाडेर ५ सय पनि कार्यकर्ता नभएको एकीकृत समाजवादीलाई जिताऊ भन्नु अन्यायपूर्ण छ।'
थापाले केन्द्रको त्यो निर्देशन कसैलाई पनि स्वीकार्य नहुने बताए। 'हामीले अब यहाँ अस्तित्वको लडाइँ लड्नु छ। ३३ वटा वडाका सभापति र महानगर कार्य समितिबीच छलफल हुँदैछ', उनले भने, 'गठबन्धनको घोषणा भइसकेपछि नगर समितिलाई कसैले सोधेनन्। कुनै पनि निर्णय भएको छैन हुनुअघि थाहा दिन्छौँ भनेका थिए। तर कसैले खबर नै गरेनन्।'
उनले गठबन्धनको टिकटका लागि पोखरामा दलको हैसियतबारे आफूहरुले रिसर्च गरेर दिएको प्रतिवेदनलाई पनि केन्द्रले बेवास्ता गरेको बताए।
'हामीलाई के लाग्यो भने गठबन्धनको मतभार पनि हेरेर रिसर्च गरेर दिएपछि त्यसकै आधारमा निर्णय हुनुपर्ने थियो तर त्यसो भएन', उनले भने, 'यो निर्णय भइसकेको अवस्थामा सुधार्नुस् भन्ने हो। यदि हुन्न भने अर्को उम्मेदवारबारे पनि सोच्दैछौँ। रुख चिह्नमा समाजवादी लड्ने भए मात्रै हामी सघाउन तयार छौँ।'
Shares
प्रतिक्रिया