स्थानीय तह निवार्चनमा सत्तारुढ गठबन्धनमा भागबण्डा मिल्दै जाँदा पोखरा महानगरपालिकामा भने विवाद र असन्तुष्टिका चाङ थपिँदै गएका छन्। पोखरा महानगरको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने समझदारीसँगै त्यहाँ दलहरुबीचको विवाद छताछुल्ल भएको छ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा पोखरेली कांग्रेसका नेताहरुलाई बोलाएर आश्वस्त तुल्याउने प्रयास गरेका थिए। तर, पोखराका कांग्रेस नेताहरु शीर्ष नेतृव्ले पोखराको ‘ग्राउन्ड’ बुझेर पनि नबुझेजस्तो गरेको आरोप लगाउँदै फर्केका थिए।
केन्द्रको निर्णयसँग असन्तुष्ट कांग्रेस कास्कीका नेताहरुले बुधबार पार्टी कार्यालयमा ताला समेत लगाएका छन्।
केही दिनअघि पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादीका स्थानीय नेता धनराज आचार्यलाई उठाइने चर्चा चलेसँगै कास्की कांग्रेसका नेताहरु अत्तालिएका थिए। आचार्यको हल्ला चलेसँगै कांग्रेसका नेताहरु हुल बाँधेर पोखराबाट काठमाडौं आएर शीर्ष नेतासँग असन्तुष्टि पोखेका थिए।
धनराज आचार्य पोखराका प्रभावशाली नेता मानिन्छन्। माधव नेपालनिकट आचार्य मेयर उम्मेदवार बन्ने दौडधुपमा छन्।
केही समयअघि मेयरको टिकट नपाए आफू पुनः एमाले फर्किने चेतावनी आचार्यले दिएको हल्ला चलेको थियो। तर, आचार्य त्यो झुट भएको बताए।
‘यो सब वाहियात कुरा हो। कसले कहाँबाट स्क्यान्डल गर्यो त्यो थाहा भएन,’ आचार्यले नेपालखबरसँग भने, ‘मैले बोलेको कुरा होइन यो।’
पार्टीले अघि सारे आफू उम्मेदवारीका लागि तयार रहेको उनले बताए।
‘पार्टीले मलाई दाबेदार बनायो भने नेतृत्व गर्न सक्छु। आकांक्षा त स्वाभाविक नै हो। पार्टीले जिम्मेवारी दिएको खण्डमा पोखरा महानगर हाँक्नका लागि मेरो पुरै तयारी छ,’ आचार्य भन्छन्।
आचार्यका अनुसार कास्की जिल्लामा रहेका ७२ वटै वडामा गठबन्धनको भागबण्डा लगभग अन्तिम चरणमा पुगेको छ।
गठबन्धनमा समस्या आएको अवस्थामा त्यसको असर कांग्रेसलाई नै बढी पर्ने उनको तर्क छ।
असन्तुष्ट कांग्रेसको मत तान्ने योजना के छ?
६ महानगरपालिकामध्ये गठबन्धनका शीर्ष नेतालाई भागबण्डा मिलाउन सकस परेका दुई महानगर हुन्– भरतपुर र पोखरा। भरतपुर माओवादी केन्द्रले पाएको छ।
पोखरामा भने मेयर पद एकीकृत समाजवादीलाई दिने समझदारी हुँदा जिल्लाका नेताहरुले कांग्रेसले नपाए बागी उम्मेदवारी दिने निर्णय गरिसकेका छन्। यस्तो अवस्थामा आचार्यले कांग्रेसको मत पाउलान् त?
‘यो त वान वे ट्राफिक होइन, टु वे ट्राफिक हो। हाम्रो पार्टीको मात्र होइन, देशभरकै गठबन्धनको कुरा हो,’ आचार्यले भने, ‘यसमा सबैजना मिलेर एउटै स्पिरिटका साथ जान्छौँ। वडाहरुमा पनि सबै पार्टी छौँ। वडासम्मै सहकार्य गर्ने कुरा हो।’
पोखराको समस्या केही दिनमै समाधान हुने उनले बताए।
‘लामो समयदेखि राजनीतिमा सक्रिय भएका नेताहरुले आफ्नो पार्टीबाट नेतृत्व गर्न पाए हुन्थ्यो भनेर आकांक्षा राख्नु स्वाभाविक हो। अहिले चुनाव चिह्न पनि एउटै भए हुन्थ्यो भनेर छलफल भइरहेको छ। तथापि, हामी पाँच वटै दलहरु बसेर साझा घोषणापत्र बनाएर अबको पाँच वर्ष के काम गर्छौैं भनेर घोषणा गर्छौं,’ आचार्यले भने।
‘यो समस्या पोखरामा मात्र होइन, अरु ठाउँमा पनि छन्। स्वाभाविक प्रक्रिया ठान्छु मैले,’ उनले थपे, ‘यो एकदुई दिन रहन्छ। साथीहरुले समझदारीमा टुंग्याउनुहुन्छ भन्ने मलाई लाग्छ।’
को हुन् आचार्य?
१५ वर्षको उमेरबाटै कास्की जिल्लाबाट राजनीतिमा सक्रिय भएका आचार्य हाल नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छन्। तत्कालीन नेकपा एमालेमा विद्रोह सुरु हुँदा आचार्यले आफ्नो जिल्लाबाट समानान्तर कमिटीको अभ्यास सुरु गर्दै माधव नेपाललाई ढाडस दिएका थिए।
पोखरा महानगरपालिका–३३ जन्मस्थान भएका आचार्य राजनीति सहित विभिन्न व्यवसायमा पनि संलग्न छन्। ०४२ सालमा नेकपा माले युवा लिगमा संगठित भएर उनले राजनीतिक यात्रा सुरु गरेका थिए।
०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहृावन विरुद्ध आन्दोलनबाट गिरफ्तार भएका उनी २ वर्षसम्म जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहेर समेत काम गरेको बताउँछन्।
उनी ०५२ सालमा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य बनेका थिए। ०५४ मा महाकाली सन्धिको विवाद हुँदा आचार्य वामदेव गौतम नेतृत्वको नेकपा मालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए। ०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका आचार्य राष्ट्रिय वाणिज्य संघको अध्यक्ष हुँदै अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य छन्।
Shares
प्रतिक्रिया