ad ad

राजनीति


सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भट्टराईले सुनाए लाछी बाउको कथा

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भट्टराईले सुनाए लाछी बाउको कथा

वाशुदेव मिश्र
मंसिर ८, २०७६ आइतबार १२:३६,

 समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सीमा अतिक्रमणबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई ‘सीधा कुरा भन्न नसक्ने लाछी बाउले घरमा आएर लगाउने धाक’को संज्ञा दिएका छन्।

‘सिधा भन्न नसक्ने अनि लाछी बाउले चाहिँ आफ्नो घरमा आएर धाक लगाएजस्तो गरेर हाम्रा प्रधानमन्त्रीले हामीलाई बाहिर राष्ट्रवादको ठुलो डंका पिट्ने भित्र चाहिँँ लत्रक्क परेर सत्ताको डरले लत्रिएर बस्ने?’, उनले भने,‘ यस्तो खालको नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने?’

उनले सरकारले पठाएको कूट्नीतिक नोट सामान्य कर्मचारीले पनि लेख्न सक्ने बताउँदै सरकारको तर्फबाट कुनै राजनीतिक पहल नभएको आरोप पनि लगाए।

‘हिजोमात्र अखबारमा (कूट्नीतिक नोट पठाएको विषय) छुस्स आयो, उहाँले चाहिँ कसैले थाहा नपाउने गरी डिप्लोमेटिक नोट, जुन सामान्य खालको कर्मचारीले लेख्ने नोट हुन्छ, त्यो लेखेर चाहिँ पठाउनुभएको छ रे, त्यो भन्दा बाहेक उहाँले अहिलेसम्म कुनै राजनीतिक पहल चाहिँ गर्नुभएको छैन्’, आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अनि बाहिर हामीलाई देखाउन उहाँले के भन्नुभएको थियो अखबारमा, ‘मैले भारतीय सेना फिर्ता लैजाउ भनेर भन्दिएँ, जमिन फिर्ता गराएरै छाड्छु भनेर बाहिर भाषण गराउनुभयो।’

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा समेत सहभागी भएका भट्टराईले सो बैठकमा छिमेकीसँग लडेर हामीलाई फाइदा छैन्, वार्ता संवादबाट नै हल गरेर समाधान हुन्छ भने कुटनीतिक तरिकाले हल गर्नुपर्छ, तपाईले बाटो रोज्नुहोस भनेको दावी गर्दैे सोझै भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेर हल गर्न भनेको बताए। बोल्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि तीतो पोखे। उनले प्रचण्डलाई एमालेको चौतारीमा भारी बिसाउ गएको जिकिर पनि गरे। ‘मेरै पुराना मित्र प्रचण्डजी जोसँग मैले झण्डै ३३ वर्ष सँगै काम गरे। उहाँसमेत जनयुद्धबाट थाकेर अब फेरि त्यही एमालेको चौतारीमा भारी बिसाउन जानुभयो’, उनले भने,‘ ‘त्यसपछि जुन ठूलो शक्तिजस्तो देखिन पुग्यो। त्यही भ्रमका कारण जनताले एकैठाउँमा आएको कम्युनिष्ट पार्टीलाई दिएपछि देशको छिटो भलो हुन्छ कि भनेर नेकपा डबललाई मतदान दिनुभयो। तर, २ वर्ष बितिसक्यो। २÷२ वर्षसम्म तपाईले यो सरकारबाट के प्राप्त गर्नुभयो?’

उनले वाइडबडी प्रकरणमा अहिले सत्तामा भएका मान्छेहरुको नै संलग्नतामा ४ अर्ब भन्दा बढी भ्रष्टाचार गरेको भन्दै त्यो ३३ किलो सुन कहाँ गयो भन्ने प्रश्न पनि गरे। उनले कांग्रेसलाई बाटो बिराएको बताए पनि बढी आलोचना गरेनन्।

कार्यक्रममा बोल्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकार नछाड्ने र सरकारमै बसेर संविधान संशोधनको लागि संघर्ष गर्नै बताए। कास्कीमा संघीय समाजवादीेले लाहुरे पृष्ठभूमिका धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .