ad ad

राजनीति


दुई उपमहानगरका माओवादी उम्मेदवार : भत्काउन सक्लान् एमालेको विरासत?

दुई उपमहानगरका माओवादी उम्मेदवार : भत्काउन सक्लान् एमालेको विरासत?

फाइल फोटो


सागर न्यौपाने
बैशाख ९, २०७९ शुक्रबार ७:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको दुवै उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ।

बाराको जीतपुरसिमरामा राजन पौडेल र दाङको घोराही उपमहानगरपालिकामा हेमराज शर्मा ‘डायमण्ड’ को नाम सिफारिस गरेर केन्द्रमा पठाएसँगै दुवै प्रमुख पदमा उम्मेदवार पक्का भएको हो। 

माओवादी केन्द्रका कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार पौडेल र शर्माको नाम तल्लो कमिटीबाट सर्वसम्मत आएको छ।

‘जीतपुरसिमरामा पौडेल र घोराहीमा डायमण्डको नाम मेयरका लागि सर्वसम्मत निर्णय गरेर केन्द्रमा आएको छ,’ ढकालले नेपालखबरसँग भने, ‘दुवै ठाउँमा अरु कसैको दाबी छैन’

पार्टीबाट अरुको दाबी नभएपछि माओवादी केन्द्रले पाएको दुवै उपमहानगरपालिका प्रमुख पदमा पौडेल र शर्माको उम्मेदवारी पर्नेछ। 

तर, यसको निर्णय माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले गर्ने ढकालले बताए।

पाँच दलीय गठबन्धनबीच बुधबार ६ महानगर र ११ उपमहानगरपालिका बाँडफाँटमा सहमति जुटेको थियो।

सहमतिअनुसार माओवादी केन्द्रले पाएको दुई उपमहानगर प्रमुखहरुको उम्मेदवार पनि लगभग टुंगो लगाएको हो।

सिफारिस भएका पौडेल यसअघि पनि जीतपुरसिमराको प्रमुख उठेर तेस्रो भएका थिए।

एमालेका कृष्ण पौडेल १४ हजार ८६५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्णवत सिंहले १२ हजार ०४३ मत पाए। 

माओवादी केन्द्रबाट राजन पौडेलले ११ हजार ३ सय मत ल्याए। जीतपुरसिमरामा माओवादी केन्द्र एक्लैले १० वटा वडा जितेको थियो। 

त्यही आधारमा माओवादी केन्द्र निर्णायक रहेको उसको दाबी छ।

अहिले पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्ने सहमति गरेका छन्।

तर, जीतपुरसिमरा माओवादी केन्द्रलाई दिएको भन्दै कांग्रेस असन्तुष्ट छ। 

उम्मेदवार सिफारिसमा परेका पौडेलले अन्तिम समयमा सहमति हुने बताए।

नोमिनेशनको दिनसम्म सहमति हुन्छ,’ पौडेलले नेपालखबरसँग भने, ‘यहाँ कांग्रेससँग हाम्रो २०६४ देखिनै सहकार्य हुँदै आएको छ।’

त्यस उपमहानगरमा अहिले १३ हजार ४ सय ४ मतदाता थपिएर ७० हजार ६४ पुगेका छन्। 

को हुन् पौडेल?
अखिल क्रान्तिकारीबाट २०५७ सालमा काठमाडौं क्याम्पसको स्ववियु सदस्य जितेर राजनीतिमा होमिएका पौडेल जनयुद्धमा लागेका थिए।

उनी २०५८ मा १३ महिना जेल परेका थिए त्यसपछि फेरि २०६० साल माघ गिरफ्तार भए र २०६३ जेठ १० गते रिहा भए। 

त्यसयता उनको राजनीति बारा जिल्लामै केन्द्रित भएको उनी बताउँछन्। 

‘अघिल्लो चुनावमा केही मानिसले मात्रै चिनेका थिए अहिले ‘पब्लिक’ भएको छु,’ उनले भने। 

‘जीतपुरसिमरामा त्रिपक्षीय भिडन्त हुने हो। तर, यसपटक कांग्रेस र हामी एउटै गठबन्धनमा छौँ,’ पौडेलले थपे, ‘पाँचै दल एकताबद्ध भएर होमिन्छौं।’

यी हुन् कमरेड ‘डायमण्ड’
दाङको घोराही उपमहानगरपालिका प्रमुखका लागि सर्वसम्मत सिफारिस हेमराज शर्मा ‘डायमण्ड’ खारिएका युवा नेता हुन्।

एकीकृत माओवादी विभाजन भएर मोहन वैद्य किरणले नेकपा–माओवादी गठन गर्दा शर्मा उनैसँग गएका थिए।

२०७३ मा वैद्यबाट रामबहादुर थापा माओवादीमा फर्किँदा शर्मा पनि आएका हुन् अहिले उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरानिकट चिनिन्छन्। महराको निर्वाचन क्षेत्र पनि दाङ हो। 

२०३१ साउन ५ गते जन्मिएका उनी २०५३ सालमा माओवादीले चलाएको जनयुद्धमा होमिएका थिए।

अहिले दाङको सह–इन्चार्ज रहेका उनी घोराही–१५ का स्थायी बासिन्दा हुन्।

अघिल्लो चुनावलाई आधार मान्दा घोराही उपमहानगरपालिकामा माओवादी केन्द्र दोस्रो अवस्थामा देखिन्छ २०७४ को निर्वाचनमा घोराही नेकपा एमालेले जितेको थियो।

त्यसबेला माओवादी केन्द्रबाट जीवन गौतम उठेर पराजित भएका थिए।

अहिले पनि गौतम घोराहीको प्रमुख पदमा उम्मेदवारी दिन चाहन्थे तर, त्यो चाहना पूरा नभएपछि गौतमले मंगलबार माओवादी छोडेको घोषणा गरे।

शर्माले उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारको टिकट पाउने निश्चित जस्तै छ।

माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिले शर्मालाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्दै केन्द्रमा पठाइसकेको छ। उनी गठबन्धनका साझा उम्मेदवार बन्नेछन्।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते स्थानीय तहको उम्मेदवारी दर्ता गर्ने समय तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .