आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेलन गर्ने सहमतिबमोजिम जनकपुरधाम उपमहानगरपालिका प्रमुखको उम्मेदवारी जसपाको भागमा परेपछि कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
कांग्रेसका जनकपुरधाम नगरसभापति मनोजकुमार साह, नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित अढाई सय सक्रिय सदस्यले पार्टीबाट सामूहिक राजीनामा घोषणा गरेका हुन्।
नगरसभापति साहले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिँदै वैशाख ३० गते चुनावका लागि मेयरमा स्वतन्त्र उम्मेदवारी पनि घोषणा गरेका छन्। जनकपुरधाम उपमहानगरको २५ वटै वडाका सभापतिको सल्लाह र दबाबमा आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले पत्रकार सम्मेलनमा बताए।
भागबन्डा लागेकै दिन बुधबार साहले निर्णय सच्याउन पार्टी नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिँदै नसच्याए कठोर कदम चाल्ने चेतावनी दिएका थिए। तर सुनुवाइ नभएपछि शुक्रबार सामूहिक राजीनामा घोषणा गरिएको हो।
भागबन्डामा २५ वटा वडा मध्ये १० वटा वडा मात्र कांग्रेसको भागमा परेकाले ती वडाबाट पनि स्वतन्त्र उम्मेदवारी पर्ने उनले बताए।
जनकपुरधाममा कांग्रेस सबैभन्दा बलियो दल हुँदाहुँदै पार्टी सिध्याउन सभापति शेरबहादुर देउवाले यस्तो निर्णय लिएको उनको आरोप छ।
जनकपुरमा कांग्रेस एक्लैले जित्न सक्ने अवस्था रहेको ठाउँमा गठबन्धन गरेर पार्टीले ठूलो गल्ती गरेको उनको दाबी छ।
गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले गठबन्धन नमान्ने पार्टी कार्यकर्तालाई कारबाही हुने उल्टै धम्की दिएकाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले बताए।
‘गृहमन्त्रीले कारबाही हुन्छ भन्दै धम्क्याउनु हुन्छ’, उनले भने, ‘अब त गृहमन्त्री पार्टीले कारबाही गर्नु हुन्न नि!’
साह गत २०७४ को निर्वाचनमा मेयरका प्रत्यासी थिए। जतिबेला उनी राजपा उम्मेदवार लालकिशोर साहसँग हारे।
कांग्रेसबाट पटकपटक मेयर पदका दाबेदार थिए। उनी कांग्रेसमा नेता विमलेन्द्र निधि खेमाका नेता थिए।
Shares
प्रतिक्रिया