जतिसक्दो धेरै स्थानीय जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन तल्लीन नेकपा एमालेले सिन्धुपाल्चोकमा दुईवटा गाउँपालिका अध्यक्ष गुमाएको छ। ०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित बलेफी र त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षले राजीनामा दिएसँगै निर्वाचनको मुखमा सिन्धु एमालेमा ‘खैलाबैला’ भएको छ।
बलेफीका अध्यक्ष क्षेत्री पार्टीले जिल्ला अध्यक्ष बनाउन वास्ता नगरेकोदेखि व्यक्तिवादी चिन्तन हावी भएकोसम्मका आरोप लगाउँदै गत २४ फागुनमा सभापति शेरबहादुर देउवाकै हातबाट कांग्रेसको टीको लगाएका थिए। आइतबार बिहानै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले पनि पार्टीबाट राजीनामा दिएका छन्। २८ वर्ष एमालेमा बिताएका श्रेष्ठ गाउँपालिका अध्यक्षमा फेरि दोहोरिन खोजिरहेका थिए। तर, श्रेष्ठलाई छाडेर पार्टीले मेघनाथ पौडेललाई उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन्। पार्टीले गलत ढंगबाट टिकट दिएकाले आफूलाई उचित नलागेर राजीनामा दिएको उनले बताए। श्रेष्ठसँग नेपालखबरले गरेको कुराकानीः
चुनावको मुखमा तपाईंले एमाले छाड्नु भएछ, किन हो?
हो, मैले आज नेकपा एमालेबाट राजीनामा दिएको छु। त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षका लागि मेरो टिकट फाइनल भइसकेको थियो। साइबर ब्यूरोमा पनि उजुरी भएको छु। म्यासेन्जरमा कुरा भएको भनेर केही कुरा बनाएर टिकट फिक्स भएपछि सामाजिक सञ्जालबाट प्रकाशित भयो। उजुरी गर्न जाँदा उक्त स्टाटस गायब भयो। त्यो खोज्न केही समय लाग्छ भनिएको छ। पार्टीभित्रबाटै त्यस्ता गतिविधि भएकाले मैले बस्न चाहिँन। पार्टी छोड्नुको मुख्य कारण त्यही हो।
कैयौँ अपराधिक मान्छेहरुले टिकट लिएका छन्। लाहारक्याल लामाहरूले अवसर पाएका छन्। कार्यकर्ता र जनतामा स्थापित हुँदाहुँदै मलाई टिकट दिइएन, त्यसकारण मैले पार्टी छाडेँ।
भनेपछि ०५१ सालदेखिको एमालेको यात्रा टुंगियो भने बुझौँ होइन त?
अब तपाईंको राजनीतिक यात्रा कुन दलबाट हुन्छ?
अहिलेसम्म मैले राजनीतिक आबद्धताको निर्णय लिएको छैन। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सबै नेताहरुले प्रस्ताव गरिरहेका छन्। मैले अहिलेसम्म कुनै निर्णय लिएको छैन। सकभर तटस्थ नै बस्ने योजना छ। अहिले अर्को पार्टीमा जान छलफल भएको छैन।
त्यसो भए, तत्काललाई तटस्थ बस्छु भन्नुभएको हो?
अहिलेलाई म तटस्थ बस्छु। अब एमालेका अध्यक्षका उम्मेदवार हराउने मेरो सम्पूर्ण शक्ति केन्द्रित हुनेछ। आजसम्म मैले यो दलमा जाने भनेर केही निर्णय गरेको छैन्। के गर्ने भन्ने कुरा म सोच्दैछु।
एमाले सिन्धुपाल्चोकमा त ठूलो भुइँचालो आयो नि है?
आयो, यो भुइँचालो आउने काम एमालेभित्रबाटै भएको छ। यहाँ धेरै नेताहरु गुटको शिकार हुनुभएको छ। बलेफी गाउँपालिका अध्यक्षको हकमा पनि यस्तै भएको हो। धेरै एमाले नेता कार्यकर्ता जस्तै म पनि यसको शिकार भएँ।
सिन्धुपाल्चोक एमालेको मुख्य समस्या को हो जस्तो लाग्छ?
मुख्य समस्या यहाँ दुईवटा गुट छन्। त्यसकै हो। एउटा संस्थापन र अर्को १० बुँदे पक्ष। संस्थापन पक्ष यहाँ कमजोर छ। १० बुँदे पक्ष अलिक शक्तिशाली छ। त्यसकारण भागबन्डाको कारणले यहाँ बिग्रिएको हो।
गाउँपालिका अध्यक्षका रुपमा पछिल्लो ५ वर्षे कार्यकाल कस्तो रह्यो?
मेरो पाँच वर्षे कार्यकाललाई उपलव्धीमुलक ठानेको छु। जनअपेक्षा अनुसार काम गर्न सफल भइयो भन्ने नै लाग्छ। पार्टीमा भएका केही मान्छेले ६ महिनादेखि नै गतिरोध सुरु गरेका थिए। विभिन्न प्रतिशोधबीच मैले सकारात्मक कामहरु गरेको थिएँ।
मलाई लाग्छ त्रिपुरासुन्दरीको ५ वर्ष अन्यको तुलनामा राम्रो भएको छ। हामीले ल्याएको नीति कार्यक्रम र बजेटका कुरा, खानेपानी, सडक लगायत कामहरु अरुको भन्दा कम महत्वपूर्ण छैनन्। खासगरी जनसेवाका कामहरु धेरै भएका छन्। पार्टीले अलिकति गलत ढंगबाट टिकटको निष्कर्ष निकालेकाले मलाई उचित लागेन र राजीनामा दिएँ।
Shares
प्रतिक्रिया