नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भदौको अन्तिम साता तय भएको पोखरा महानगर समितिको निर्वाचनताका सुरेन्द्रमान बिजुक्छे सभापतिमा लड्ने/नलड्ने भन्ने द्विविधामा थिए।
नगर उपसभापति भइसकेका बिजुक्छे पोखरा उद्योग वाणिज्य संघमा महासचिव पनि थिए। महासचिव हुँदै अध्यक्षको यात्रा तय गर्ने सुरमा रहेका बिजुक्छेलाई व्यापारीकै संस्था हाँक्न आग्रह नगरिएको पनि हैन। तर, उनले सभापतिमा आकांक्षा देखाए। अन्य ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा विजयी भए।
सुरेन्द्रले चुनावी घोषणापत्रमै भनेका थिए, ‘म सभापतिमा निर्वाचित भएँ भने कुनै लाभको पद लिने छैन, आउँदो तीनवटै तहको चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने छु।’
तर, उनलाई आफैंले नताकेको पोखराको उपमेयर पद प्राप्त भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिँदा उपमेयरको उम्मेदवार उनै नगर सभापति सुरेन्द्रलाई सुम्पेका छन्। नगर र प्रदेश कमिटीले पठाएको १० आकांक्षीमा उनको नाम थिएन। नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सोझो पहुँच नभएका उनले अन्ततः टिकट पाए।
अर्कालाई जिताउँछु भन्ने व्यक्ति आफैं जित्ने अभियानमा लाग्नुपर्याे। २०३६ सालमै पृथ्वीनारायण क्याम्पसमा पढ्दा नै नेपाल विद्यार्थी संघमा लागेका उनी पञ्चायतकै २०४३ सालतिर उनी वडा नम्बर २ को सभापति थिए। पछि उनी पोखरा नगर समितिको कोषाध्यक्ष र उपसभापति बने। उनले कसैलाई टाढा बनाएनन्।
उनी नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहका भनेर चिनिन्थे। पछिल्लो समय उनी कास्कीका निवर्तमान सभापति कृष्ण केसी र हालका प्रदेश सभापति शुक्रराज शर्मा निकट छन्। तर, रामचन्द्र पौडेलले अन्तिम समयमा उनको नाम लिएका थिएनन्।
सभापति देउवाले नै उनको नाम लिएका थिए। कास्कीको गुट–उपगुटमा सबैको प्रिय बने। व्यावसायिक पृष्ठभूमिका उनी भन्थे, ‘मैले कांग्रेसलाई दिने काम मात्रै गरेको छु, लिने काम गरेको छैन। लाभको पद लिएको छैन। म आउँदो स्थानीय चुनावमा भाग खोज्दिनँ। क्रियाशील साथीहरुलाई अगाडि सार्छु। सभापति भएपछि पार्टीकै सिपाही मात्रै बन्ने हो।’
उनले बीपीले नै धनमानसिंह परियारलाई महामन्त्री र महिलाको सम्मान गर्दै आफ्नो मन्त्रिमण्डलमा द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएको प्रसंग निकाल्दै भने, ‘सबै अटाउने कांग्रेस र जनताको सेवा गर्ने कांग्रेस बनाउने अभियानमा पार्टीले होमेको छ, म गल्ती गर्दिनँ र पोखराको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’
कांग्रेसले पोखरामा गठबन्धन गरेको छ। अब उनी गठबन्धनको उम्मेदवार बन्नेछन् र एमालेकी उपमेयरकी प्रत्यासी मञ्जुदेवी गुरुङसँग प्रतिस्पर्धामा उत्रिएर ‘कार्यकारी’ पदको भाग्य अजमाउने छन्।
Shares
प्रतिक्रिया