आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन्।
जनमत पार्टीका नेता बीपी साहका अनुसार डा. राउतको जन्मस्थान र घर पनि सोही क्षेत्रको महादेवा गाउँमा रहेकोले डा. राउत उक्त क्षेत्रबाट निर्वाचनमा उठ्ने भएका छन्।
सप्तरी क्षेत्र नम्बर २ बाट २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए।
पछिल्लो स्थानीय तहको निर्वाचनमा जसपाले उक्त क्षेत्रमा हार व्यहोर्नु परेको छ।
गत स्थानीय निर्वाचनमा जनमत पार्टीले उक्त क्षेत्रमा सम्मानजनक मत ल्याएको छ। केही वडाहरू पनि जनमत पार्टीले जितेको नेता साहले बताए।
‘उक्त क्षेत्रमा केही महिनादेखि विभिन्न पक्षबाट अध्ययन गर्दा डा. राउतले चुनाव जित्ने निश्चित भएपछि क्षेत्र फिक्स गरिएको हो।’ नेता साहले भने, ‘पार्टीको संगठन पनि बलियो भएको र जनतामाझ पनि डा. राउतप्रति निकै सम्मान रहेको देखिएको छ । त्यसकारण त्यहाँबाट उठ्ने फिक्स भएको छ ।’
आफूहरु गठबन्धनका लागि पनि खुला रहेको नेता साहले बताए ।
‘गएराति अनलाइनमार्फत भएको हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धनका लागि खुल्ला रहनु पर्ने निष्कर्ष निकाल्यो ।’ नेता साहले भने, ‘यसैसँग वा उसैसँग भन्दा पनि आवश्यकताका आधारमा गठबन्धन वा तालमेल गर्ने निष्कर्षमा हामी पुगेका छौं।’
Shares
प्रतिक्रिया