नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेकी छिन्।
मंगलवारको प्रतिनिधि सभा बैठकमा आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमा कानून मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले यस्तो बताएका हुन्।
उनले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताए।
त्यस्तै दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसंख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उनले बताए।
‘संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिँदा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गरिनुपर्छ,’ उनले भने, ‘दोस्रो आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्छ।’
सांसद पाण्डेले संघीय संसद र प्रदेश सभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्ने बताइन्।
त्यस्तै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन्।
‘पालिकाको प्रमुख र अध्यक्षले दुई पटक निर्वाचित भइसकेपछाडी उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘तर यो व्यवस्था स्थानीय तहको सबै कार्यकारी पदहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने खालको व्यवस्था गरिनुपर्छ।’
संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने दुवै निर्वाचन प्रणाली अन्तर्गत एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणाली अन्तर्गत निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्न उनले माग गरेकी छिन्।
‘कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैका लागि मतदाता मात्रै बन्नुपर्ने जुन अवस्था छ, यसको अन्त्य जरुरी छ,’ उनले भनिन्, ‘यदी कुनै व्यक्ति संसदको लागि अपरिहार्य छ भनेर सम्बन्धित दलले अनुभुति गर्छ भने त्यस्ता व्यक्तिलाई फरक निर्वाचन प्रणाली वा फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नसक्ने व्यवस्था गर्न सकिन्छ। तर एउटै प्रणाली र एउटै क्षेत्रबाट निरन्तर आजिवन उम्मेदवार हुने प्रवृत्तिको अन्त्य आवश्यक छ ।’
उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगावै निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गरेर सो प्रावधानहरु ल्याउन माग गरिन्।
Shares
प्रतिक्रिया