माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सल्यानले प्रतिनिधिसभा निर्वाचनका लागि प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ।
समाजवादी जिल्ला कमिटी सल्यानले आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि संघको चुनाव लड्न ज्वालाको नाम सिफारिस गरेको हो।
समाजवादी जिल्ला सचिव रमेश गौतमले समाजवादी सल्यानले संघमा ज्वाला र प्रदेश सभा (क) र (ख) तर्फ ६ जनाको नाम सिफारिस गरिएको जानकारी दिए।
पार्टीका उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज ज्वालाको नाम मंगलबार सिफारिस गरिएको हो।
सचिव गौतमका अनुसार संघमा पार्टीले समानुपातिकतर्फ दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको छ।
सल्यानमा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा सिट छन्। जसमा समाजवादीले प्रदेश (क)मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी र जीवन बिसीको नाम सिफारिस गरेका छ।
यस्तै, प्रदेश सभा (ख)मा भद्रसिंह बुढा, सारदा परियार र हरी केसीको नाम सिफारिस गरिएको छ। सल्यानमा गठबन्धन भए प्रतिनिधि सभामा सामाजवादीले नै टिकट पाउने सम्भावना छ।
ज्वालाले कर्णाली प्रदेश सांसद हुँदा सरकारमा माओवादीलाई सत्तामा टिकाउन र कांग्रेसलाई सत्तामा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यतिबेला माओवादीबाट पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा पर्दा ज्वालाले आफूसहित तीन सांसदलाई एमालेबाट फ्लोर क्रस गर्न लगाएर सत्ता जोगाइदिएका थिए। तर, सल्यानमा समाजवादी अन्य दलभन्दा कमजोर छ।
कुन दलको अवस्था कस्तो?
सल्यानमा प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यहाँ समाजवादीका नेता ज्वाला प्रभावशाली नेताका रूपमा चिनिन्छन्। सल्यानमा एमाले विभाजन हुनुपहिले एमाले पहिलो दल बनेको थियो। जिल्लाका प्रभावशाली नेता ज्वाला समाजवादीमा लागेपछि एमालेको जनाधार कम मानिएको छ।
यदि कांग्रेस, माओवादी, एमाले र समाजवादी एक्ला–एक्लै चुनाव लडे एमालेले जित हासिल गर्ने सक्ने सम्भावना छ। एमाले पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्जसमेत रहेका गुलावजंग शाहको गृहजिल्ला पनि सल्यान हो। उनी पनि एमालेका प्रभावशाली नेतामा पर्दछन्।
०७४ को स्थानीय तहको निर्वाचनमा १० वटा पालिकामध्ये एमालेले चार पालिका प्रमुख, कांग्रेसले तीन, माओवादीले तीन पालिकाको नेतृत्व पाएको थियो।
तर, स्थानीय निर्वाचन–२०७९ मा कांग्रेसले पाँच वटा पालिकाको नेतृत्व पाउँदा एमाले र माओवादीले दुई-दुई वटा र समाजवादी एउटा पालिकामा सीमित हुन पुगेका छन्।
यस जिल्लामा कांग्रेसको एउटा गुट एमाले र एउटा कांग्रेस–माओवादीसँग तालमेल गरेर चुनाव लडेका थिए।
१० पालिकामध्ये माओवादीले ३ का प्रमुखमा उम्मेदवार उठाएको थिएन भने कांग्रेस र एमालेले एक-एक वटा पालिका प्रमुखमा उम्मेदवारी दिएको थिएन। समाजवादीले धेरैजसो पालिका प्रमुख पदमा माओवादी र कांग्रेसलाई साथ दिएको थियो।
यस्तै, उपप्रमुखसहितको मतभार जोड्दा कांग्रेसको ४२ हजार एक सय र माओवादीको ३८ जार तीन सय ८४, एमालेको ३१ हजार नौ सय ९४ र समाजवादीको १५ हजार तीन सय ११ मतभार संख्या छ।
यो स्थानीय तहको मतपरिणाम हेर्दा प्रकाश ज्वालालाई एक्लै चुनाव जित्न मुश्किल देखिन्छ। सल्यानमा समाजवादीको १५ हजार मात्रै मतभार छ।
सल्यानमा शक्तिशाली नेताका रुपमा आएका ज्वालाले गठबन्धन भएर टिकट पाए चुनाव जित्ने सक्ने सम्भावना छ।
पार्टीको जनाधार कमजोर भए पनि ज्वाला प्रतिनिधि सभाको उम्मेदवार बनेमा गठबन्धनको बलले. जित्न सक्ने प्रवल सम्भावना रहेको समाजवादीका नेताहरु बताउँछन्।
यसअघि कर्णाली प्रदेशमा अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। ०५६ को आम निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यमा एमालेबाट निर्वाचित समेत भएका थिए।
०७४ को अंकगणित
०७४ मा प्रतिनिधि सभामा माओवादीले जितेको थियो। माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए।
प्रदेशसभा अन्तर्गत (क) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए।
(ख)मा पनि एमालेबाट प्रकाश ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका थिए राप्रपाले ६ हजार ५४ मत पाएको थियो।
चर्चा प्रतिनिधि सभातर्फ
प्रतिनिधि सभाका लागि माओवादीबाट टेकबहादुर बस्नेत, उमाकान्त शर्मा, भीमप्रकाश मल्ल, रमेश मल्ल लगायतका नेताहरूको नाम चर्चामा छ।
बस्नेत ०७४ का विजयी भएका नेता हुन्। कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, राजेन्द्रबहादुर शाह, ध्रुवराज पुरीको नाम चर्चामा छ। एमालेबाट केही निर्णय आएको छैन। तर, पनि एमालेबाट मनोजकुमार प्रधान र गोविन्द पुन सम्भावित उम्मेदवार हुन्।
प्रदेश सभातर्फ
यहाँ प्रदेश सभा (क) तर्फ बनगाड कुपिण्डे नगरपालिकाको ७ वटा वडा, कुमाख, दार्मा, सिद्धकुमाख गाउँपालिका तथा बागचौर नगरपालिका र शारदा नगरपालिकाका ४ वटा वडा पर्दछन्। (क)मा माओवादीबाट प्रतिनिधि सभामै चर्चामा रहेका नेताहरुको नाम आउँछ।
प्रतिनिधि सभा माओवादीको भागमा नपरेपछि भीमप्रकाश मल्ल र उमाकान्त शर्मा प्रदेशमा आउन सक्ने देखिन्छ।
यस्तै टीका बुढाथोकी पनि सम्भावित उम्मेदवार हुन्। कांग्रेसका सुरेश चन्द, एकराज डाँगी, दीपेन्द्र कुमार खत्री, सम्भावित उम्मेदवार हुन् भने ध्रुवकुमार पुरी प्रदेशमा आउन सक्छन्।
एमालेबाट (क) तिलक मल्ल, गुलाबजंग शाह, घनश्याम शर्मा, गोविन्द पुन, दीपेन्द्रप्रकाश गिरी लगायतका नेताहरु सम्भावित नेताहरु हुन्।
(ख) मा शारदा नगरपालिकाका चारवटा वडा, कालिकामाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका तथा वनगाड कुपिण्डे नगरपालिकाका पाँच वटा वडाहरू पर्दछन्।
यस क्षेत्रमा माओवादीबाट चित्रबहादुर केसी, प्रमोद श्रेष्ठ सम्भावित उम्मेदवार हुन् भने कांग्रेसबाट सुरेश अधिकारी, सन्तोष केसी, चक्र देवकोटा, मानबहादुर डाँगी सम्भावित उम्मेदवारमा पर्छन्।
यदि संघ नमिलेमा पार्टी सभापति केशबहादुर विष्ट पनि प्रदेशमा आउने देखिन्छ। एमालेबाट पार्टी जिल्ला उपाध्यक्ष भीमबहादुर सेन, नेपबहादुर कुँवर, कुन्ती बस्नेत सम्भावित उम्मेदवार हुन्। बब
Shares
प्रतिक्रिया