विस्तारै देश निर्वाचनतिर जाँदैछ। सत्तादेखि प्रतिपक्षसम्मका दल धमाधम उम्मेदवार चयन र सिफारिसमा जुटेका छन्।
ठूलादेखि सानासम्मका दलहरुको तानातानबीच नेपाली राजनीतिक परिदृश्यमा स्वतन्त्रहरु विस्तारै बढ्न थालेका छन्।
वैशाख ३० को स्थानीय तह निर्वाचनमा काठमाडौंसहितका स्थानमा स्वतन्त्रले जितेपछि राजनीतिमा वास्तै नगर्ने पनि चासो दिन थालेका छन्।
राजनीतिक दलप्रतिको वितृष्णा एकातिर छ भने अर्कातिर स्वतन्त्र नाममा राजनीतिमै होमिनेको संख्या पनि बढ्दै छ। तिनै स्वतन्त्रमध्ये एउटा समूहले बिहीबार (१६ भदौ) ललितपुरको सानेपाबाट ‘लौरो अभियान’ सुरु गरेको छ।
स्थानीय तह निर्वाचनमा ‘आँखीझ्याल’ चुनाव चिह्न लिएर काठमाडौंको मेयरमा उठेका सुमन सायमीको संयोजकत्वमा अभियान थालिएको हो।
उक्त घोषणा कार्यक्रममा प्रतिनिधिसभाका लागि ६ जना र प्रदेशसभाका लागि ४ जनाले उम्मेदवारी घोषणा गरे।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ मा जितेको काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उठ्ने घोषणा गरेका रोहन कार्कीका अनुसार ३५० भन्दा बढी आवेदन देशभरबाट आइसकेका छन्।
अन्य टिमसँग पनि सहकार्य सम्भावना भएकाले अहिले नै सबै घोषणा नगरिएको कार्कीले बताएका छन्।
‘रवि लामिछाने, रमेश खरेल लगायतसँग सहकार्य सभावना छ। त्यही भएर अहिले धेरै घोषणा गरेनौँ,’ हेरिटेज गार्डेनमा कार्कीले भने, ‘सबैसँग छलफल सकारात्मक भइरहेको छ।’
देशभर स्वतन्त्रहरुको माहोल बनाउँदै हिँडेका अभियानका संयोजक डम्बर साहुका अनुसार ‘केहीले यो घोषणा अलिक हतार भयो कि?’ भनेर प्रश्न गरेका थिए।
स्वतन्त्र अभियानमा देशभरबाट ११ सय तीनजनाको नाम उम्मेदवारका लागि सिफारिस भएको पनि उनले सुनाए। उनका अनुसार काठमाडौंका क्षेत्र नम्बर २, ४, ५ र ६ मा पनि उम्मेदवारी पर्नेछ।
स्थानीय निर्वाचनका बेला सायमीले बालेन्द्र शाहको जितमा विजयोत्सव मनाएका थिए। आँखी झ्याल चुनाव चिह्नका सायमी पराजित हुँदा बालेन्द्र शाह लौरो चुनाव चिन्हबाट निर्वाचित भए।
‘आयोगको विभेदले घोषणा हतारो’
अभियानको घोषणा गर्दै संयोजक सायमीले स्वतन्त्रहरुलाई निर्वाचन आयोगले विभेद गरेको गुनासो पोखे।
चुनाव चिह्न ढिलो पाउँदा समानुपातिक मतसमेत कम हुने भएकाले बेलैमा उम्मेदवारी घोषणा गरिएको उनले बताए।
‘स्वतन्त्रलाई एकदमै विभेद छ निर्वाचन आयोगबाट। स्वतन्त्रले साझा चिह्न पाउँदैनौँ, पाए पनि एकदमै ढिला पाउँछौँ,’ सायमीले भने, ‘यसो हुँदा हामीले समानुपातिक मत पनि गुमाउनपर्ने हुन्छ। त्यही भएरे मुद्दा र विचार मिल्ने स्वतन्त्र अभियानका लागि साझा चिन्ह बनाएका हौँ।’
त्यसो त, आफू व्यापार छाडेर राजनीतिमा आउनैपर्ने निष्कर्षसहित हेमिएको उनको तर्क थियो।
‘मलाई चुनावमा उठ्ने रहर थिएन, जनताले उठाएका हुन्,’ सायमीले भने, ‘यो साझा चिह्न सबैको हो। वैकल्पिक शक्ति र स्वतन्त्र शक्तिको मेममिलाप चाहेका हौं।’
उनले रवि लामिछाने, रमेश खरेल र स्वागत नेपाल लगायतको साथ आफूहरुलाई रहेको नि बताएका छन्।
कहाँ पुग्ला स्वतन्त्र अभियान?
सायमीले बिहीबार नै घोषणका क्रममा भने, ‘आगामी ५ वर्षमा यो अभियानले ठूलो दलको आकार लिन्छ।’
अहिले विधिको शासन चाहिएकोले संघको निर्वाचनमा आवश्यक पर्ने अंकगणित मिलाउने पनि उनको दाबी छ।
‘संघको चुनावमा अंकगणितको कुरा हो, त्यो पनि हामी मिलाउँछौं,’ सायमीले भने, ‘भोलिका दिनमा वैकल्पिक शक्ति मिलेर ठूलो दल बन्छ। यो ५ वर्षको कुरा मात्रै हो।’
धेरैले स्वतन्त्रहरुबीच एकता चाहियो भनेपछि आफूहरु लौरो घोषणा अभियानमा पुगेको उनले बताए। अब देशमा परिवर्तन आएर पुराना नेताहरु विस्थापित हुने उनले जिकिर गरे।
ईश्वर पोखरेलदेखि माधव नेपालसम्मलाई चुनौती
कार्यक्रमकै बीच केहीले उम्मेदवारी घोषणा गरे। काठमाडौं क्षेत्र नम्बर २, ५, ८ र ९, रुपन्देही ५ र ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लौरो चुनाव चिह्नसहित उम्मेदवारी घोषणा भएको हो।
काठमाडौं क्षेत्र नम्बर ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको क्षेत्र हो। त्यहाँ टेलिसिरियल ‘सक्किगोनी’ का ‘सिते बा’ अर्थात मधुसुदन पाठक उठ्ने भएका छन्।
यहाँ एकीकृत समाजवादीबाट विद्यार्थी नेता सुदेश पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै, काठमाडौं २ बाट इञ्जिनियर रोहन कार्कीले उठ्ने घोषणा गरेका छन्। यो माधव नेपालको निर्वाचन क्षेत्र हो। रौतहट वा काठमाडौं कहाँबाट उठ्नेबारे नेपालले केही भनेका छैनन्।
त्यस्तै, काठमाडौं ८ बाट सुमन सायमी, काठमाडौं ९ बाट विद्या श्रेष्ठ (महर्जन), रुपन्देही ५ बाट भीष्म राणा, ललितपुर ३ बाट राजाराम तन्डुकारले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै, यही अभियानबाट प्रदेशसभामा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौं २ (क) बाट बिनोद बजगाईं, महोत्तरी २ (ख) बाट अनिलकुमार पाण्डे, उदयपुर २ (क) बाट गजेन्द्र कुमार भगत र सुनसरी १ (क) विजय कालिकोटेले उम्मेदवारी घोषणा गरेका छन्।
स्वतन्त्र उम्मेदवार छान्न विज्ञ टोली : साहु
स्वतन्त्रहरुको माहोल बनाइरहेका साहुलाई केहीले हतार गरेको बताए। केहीले सहकार्य प्रस्ताव गरेको त केहीले यो मुभमेन्ट बिथोल्न खोजेको पनि साहुले सुनाए।
यिनै विषयवस्तु कोट्याउँदै हेरिटेजको कार्यक्रममा साहुले भने्, ‘देशले परिवर्तन चाहेको निश्चित छ। बेलैमा यसबारे बुझिएन भने स्वतन्त्र अभियान बिथोलिन्छ।’
अर्थात् उम्मेदवारी घोषणामा याद नगर्दा अहिले चलिरहेका मुभमेन्टमा समस्या आउनसक्ने विश्लेषण साहुको छ।
‘विज्ञ टोली बनाएर अघि बढौँ। ३३ वटा मुभमेन्ट चलिरहेको छ,’ साहुले भने, ‘एउटा माहोलमा सबैलाई प्याच अप गरेर अघि बढ्ने सोच्नुपर्छ।’
अहिलेसम्म देखिएको माहोल र उम्मेदवारीका लागि आएका आवेदन सामान्य नभएको साहुको बुझाइ छ।
Shares
प्रतिक्रिया