आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन्।
माओवादीको जिल्ला समन्वय समितिले अध्यक्ष प्रचण्डसहितका सातजना नेतालाई सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए।
०७४ को निर्वाचनमा सर्लाही ३ बाट माओवादीबाट रामेश्वर राय यादव निर्वाचित भएका थिए। यस वर्ष यादव सर्लाहीका ३ वटा क्षेत्रबाट प्रत्यक्ष र दुईवटा क्षेत्रबाट समानुपातिक उम्मेदवार सिफारिस भएका छन्।
प्रचण्डसँगै माओवादी केन्द्रले नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, रामेश्वर राय यादव, राजकुमार यादव, भरतकुमार थापा र सरस्वतीकुमारी मिश्रलाई पनि सर्लाही ३ बाट प्रत्यक्ष तर्फ उम्मदेवार सिफारिस गरेको छ।
उम्मेदवार सिफारिस हुने थापा बागमती नगरपालिकाका मेयर हुन् भने मिश्र माओवादी केन्द्रका नेता स्वर्गीय डाचाराज वाग्लेकी पत्नी हुन्।
त्यसैगरी सर्लाही १ बाट माओवादीले नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, लुमडी धिताल, हेमबहादुर श्रेष्ठ र धनश्याम देवकोटालाई प्रत्यक्ष तर्फको उम्मदेवार सिफारिस गरेको छ।
सर्लाही २ बाट माओवादीले रामेश्वर राय र उमेश यादवलाई उम्मेदवार सिफारिस गरेको छ।
सर्लाही ४ बाट रामेश्वर रायसँगै शिवपुजन रायकी पत्नी मीना यादव पनि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएकी छन्।
०७४ को निर्वाचनमा कांग्रेसका अमरेश कुमार सिंह विजयी भएको सर्लाही ४ मा माओवादी केन्द्रका शिवपुजन रायको उम्मेदवारी खारेज भएको थियो।
रातो पासपोट दुरुपयोग अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेकाले शिवपुजनलाई यस वर्ष माओवादीले उम्मेदवार नै नबनाएको हो।
आफू उम्मेदवार बन्ने अवस्था नरहेपछि यादवले आफ्नी पत्नीलाई उम्मेदवार सिफारिस गर्न पहल गरेका हुन्।
माओवादी नेता रामेश्वर राय सर्लाहीका तीनवटा क्षेत्रबाट प्रत्यक्ष र दुईवटा क्षेत्रबाट संघीय संसदको समानुपातिक तर्फबाट पनि उम्मेदवार सिफारिस भएका छन्।
त्यसैगरी माओवादीको हरिवन नगर समितिका अध्यक्ष अर्जुन पन्त प्रदेश सभातर्फ सर्लाही ३ को ‘क’ बाट उम्मेदवार सिफारिस भएका छन्। पन्तलाई माओवादीको हरिवन र वरहथवा नगर समितिले उम्मेदवार सिफारिस गरेको हो।
Shares
प्रतिक्रिया