सभामुख अग्निप्रसाद सापकोटाले दुईदुई पटक विघटन भएर पनि संसद् पुनर्स्थापना भएको घटनाले शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चता स्थापित भएको बताएका छन्। संसदको अन्तिम बैठकमा बोल्दै उनले यो उदाहरण आगामी दिनका लागि मार्गदर्शन साबित हुने बताए।
‘यो प्रतिनिधिसभा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक विघटन भयो र दुवै पटक जनताको पहलकदमी र सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनर्स्थापित भयो,’ सापकोटाले भने, ‘संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधि सभाको यो अवधिमा स्थापित हुनु आगामी दिनका लागि मार्गदर्शन सावित हुने नै छ।’
‘यो प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्नेछ। एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवतः विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना हो। पूर्ण कार्यकाल चलेको यस प्रतिनिधि सभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भने।
प्रतिनिधि सभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य भएको उनको भनाइ छ।
Shares
प्रतिक्रिया