ad ad

राजनीति


केसी भन्छन् : देउवाले बोलाएको बैठक बहिस्कार गर्नुका यी हुन् तीन कारण

केसी भन्छन् : देउवाले बोलाएको बैठक बहिस्कार गर्नुका यी हुन् तीन कारण

सागर न्यौपाने
मंसिर २७, २०७६ शुक्रबार १४:२०,

मंसिर २६ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायतका नेताहरुले बहिस्कार गरे। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरी पार्टीको विभागको संख्या थप गर्ने, भातृ संस्थाहरु तदर्थवादमा चलाउन खोजेको आरोप लगाउँदै उनीहरुले बैठक बहिस्कार गरेका थिए। बहिस्कार गर्ने मध्येका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीसँग नेपालखबरले गरेको संक्षिप्त संवाद।

सभापतिले डाकेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्नुपर्ने कारण के पर्यो?
मूल कुरा त कात्तिक मसान्तमा बसेको केन्द्रीय समिति बैठकले तत्काल १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो। तर, यो अवधिसम्म कार्यतालिका सार्वजनिक गर्न सभापति शेरबहादुर देउवाले चासो देखाउनुभएन। यसमा हाम्रो गम्भीर आपत्ति हो। महाधिवेशन प्रक्रिया अघि नबढेकै कारण पार्टीमा नेताहरु सक्रिय हुन छाडेका छन्। सहमति गरेको विषयभन्दा बाहिर गएर सभापति देउवाले आफू अनुकूल हुनेगरी नयाँ नयाँ प्रस्ताव अघि बढाउन थाल्नुभएको छ। यसप्रति पनि हाम्रो असहमति छ।
पार्टीलाई गतिशील बनाउन पनि महाधिवेशन आवश्यक छ। त्यसको लागि कार्यतालिका सार्वजनिक गर्ने बित्तिकै महाधिवेशन भईहाल्छ भन्ने होइन। तर, कम्तीमा प्रक्रिया अघि बढेपछि नेताहरुमा उर्जा थपिन्छ, क्रियाशील हुन पाउँछन् भन्ने थियो। त्यो नभएपछि बैठक बहिस्कार गर्यौं। सल्लाह नै नगरी पार्टी चलाउन खोज्ने जुन रवैया देखियो यसमा हामी सहमत भएनाैँ र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, म र अन्य नेताहरुले बैठक बहिस्कार गरेका हौं।

महाधिवेशन कार्यतालिका सार्वजनिक नगरेको विषयमा मात्रै तपाईको असहमति हो?
हाम्रो तीनवटा विषयमा असहमति छ। पहिलो १४औं महाधिवेशन मैं केन्द्रित हौं, कार्यतालिका सार्वजनिक गरेर पार्टीलाई गति दिऊँ भन्ने कुरामा सभापति देउवा गम्भीर भएको पाएनौं। दोस्रो उहाँले महाधिवेशन आउन ३ महिना मात्रै वाँकी हुँदा पार्टीका विभाग बढाएर ४१ बनाउने जुन तयारी गर्नुभयो, यसमा हाम्रो असन्तुष्टि हो । पार्टीका भातृ संस्थाहरुको कार्यसमितिको कार्यकाल सकिएको धेरै भयो। भातृसंस्थाको निर्वाचन प्रक्रिया थालेर नयाँ कार्यसमिति ल्याउन छोडेर तदर्थवादबाट चलाउन खोज्ने जुन रवैया देखियो, यसप्रति हाम्रो गम्भीर आपत्ति हो। हामी कांग्रेसलाई लोकतान्त्रिक पद्धति र आचरण अनुसार अघि बढाउनपर्छ भन्ने पक्षमा छौं, त्यस्तो नभएपछि पार्टीको मूल्य मान्यताका लागि यस्तो कदम चाल्यौं।

तर, भनेको समयमा महाधिवेशन हुने संभावना टरिसकेको छ, तपाईहरु अब के गर्नुहुन्छ?
हामी महाधिवेशन कार्यतालिका सार्वजनिक नगरी बैठकमा सहभागी हुँदैनौं। कार्यतालिका सार्वजनिक गरेदेखि देशभर अधिवेशन सुरु त गर्न सक्छौं नी। हामी अझैपनि महाधिवेशन सार्नुहुँदैन भन्ने पक्षमैं छौं। हामीलाई पनि थाहा छ, ३ महिनामा महाधिवेशन गर्न सकिँदैन तर प्रयास त गर्नुपर्याे। सुरुवात गरेर नभ्याए पो सबैले विश्वास गर्छन। यहाँ त महाधिवेशन गर्न कार्यतालिकै नबनाउने पनि हुन्छ। सहमति एउटा गर्ने, काम अर्काे गर्ने हुँदा कसरी पार्टी अघि बढ्न सक्छ? सभापतिलाई कार्यतालिका सार्वजनिक गर्न केले रोकेको छ?

सभापति देउवाले बहुमतीय आधारमा निर्णय गराउने संभावना पनि त हाेला नी?
उहाँले त्यस्तो गल्ती गर्नुहोला जस्तो लाग्दैन। हिजोको बैठक हामीले बहिस्कार गरेपछि उहाँले पनि छलफल गर्ने पहल गर्नुभएको छ। हामीले पनि सभापतिका कमजोरीहरुलाई सच्याउँदै जानुपर्छ भनेका छौं। यसमा बहुमतीय भन्ने हुँदैन। कार्यतालिका निर्माण गरेर सहमती गरौं, विमती नराखौं भन्ने हाम्रो जोड हो, यसमा सहमतिको प्रयास जारी छ।
यदि उहाँले हाम्रो सहमतिबिना निर्णय गर्नुभयो भने त्यो उहाँ र पार्टीका लागि प्रत्युत्पादक बन्छ । हामी लोकतान्त्रिक पार्टी त्यही अनुसारको व्यवहार देखाउ मात्रै भनिरहेका छौं। कम्युनिष्टको अराजकतावादी सरकारसँग लड्नको लागि कांग्रेसभित्र एकता चाहिन्छ। हामीले विधि, पद्धतिको पालना गरेर अघि बढे सिंगो पार्टी एक हुन्छ।

उपनिर्वाचनमा एक भएको जस्तो देखिएको कांग्रेस फेरि भद्रगोल हुन थालेको देखियो नि?
भक्तपुर र धरानको जीतपछि पार्टीभित्रको एकताले हामीलाई विजय गराउँछ भन्ने देखाएको छ। यो सकारात्मक कुरा हो। पार्टीमा एकता भए मतदातामा पनि एकता देखिँदो रहेछ। तर, त्यो भन्दैमा फेरि पार्टीभित्रका सबै गतिविधिलाई आँखा चिम्लिनु भन्ने हुँदैन। अहिले सभापतिलाई पार्टी चलाउन सबैले सहयोग गरेकै हुन्, सबै नेता फिल्डमा खटिएकै हुन् तर, उहाँले त्यसलाई खासै महत्व दिनुभएन। समस्या उहाँले पैदा गर्नुभयो। अब त १४ औं महाधिवेशनपछि मात्रै कांग्रेस सुदृढ भएर अघि बढ्ने अबस्था देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .