सुदूरपश्चिमका ४ जिल्लामा सत्तारुढ गठबन्धन भत्किएको छ। कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको संघीय तथा प्रदेशका कुनै पनि क्षेत्र एकीकृत समाजवादीको भागमा नपरेपछि एक्लै चुनाव लड्ने तयारी गरेको छ।
‘कांग्रेस र माओवादीले हामीमाथि अन्याय गरेको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका दार्चुला इन्चार्ज नरेन्द्र विष्टले नेपालखबरसँग भने, ‘पार्टीको आधिकारिक टिकटबाट एक्लै चुनाव लड्ने तयारी गरेका छौँ।’
सुदूरपश्चिमका चार जिल्लाका ६ प्रतिनिधि र १२ प्रदेश सभा क्षेत्रमा गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले एक्लै सीट भाग लगाएका छन्।
यहाँका ६ संघीय निर्वाचन क्षेत्रमध्ये माओवादी केन्दले कञ्चनपुर १ र बैतडी पाएको छ। कञ्चनपुर २, ३, डडेल्धुरा र दार्चुला कांग्रेसले आफूसँग राखेको छ।
यस्तै कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रदेश सभाका ७ क्षेत्र कांग्रेसले पाउँदा माओवादीको भागमा ५ क्षेत्र परेका छन्।
गठबन्धनबाट भाग नपाएपछि सत्तारुढ एकीकृत समाजवादीले गठबन्धन विरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समाजवादीका नेता डा.तारा जोशीले गठबन्धनविरुद्ध प्रदेश सभा (२) मा उम्मेदवार बन्ने बताएका छन्।
‘उम्मेदवार बन्नका लागि छलफल भइरहेको छ, प्रदेश सभामा चुनाव लड्छु,’ उनले भने।
०७४ सालको चुनावमा एमालेबाट उम्मेदवार बनेका जोशी डडेल्धुराका तत्कालीन कांग्रेस सभापति कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए।
अहिले डडेल्धुरा प्रदेश सभा (२) कांग्रेस र (१) क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ।
यस्तै, संघ माओवादी केन्द्रलाई छोडेर कांग्रेसले दुवै प्रदेश सभा क्षेत्र आफूसँग राखेको बैतडीमा एकीकृत समाजवादीका नरेन्द्र विष्ट प्रदेश सभा (१) मा उम्मेदवार बन्ने तयारीमा छन्।
संघीय क्षेत्र कांग्रेसले पाएको दार्चुलामा प्रदेश सभा (१) कांग्रेस र (२) माओवादी केन्द्रले पाएको छ। एकीकृत समाजवादीले दार्चुलाको प्रतिनिधि सभा क्षेत्रमा गणेश कुमार जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रदेश सभा क्षेत्र (१) तर्फ प्रतापराम ओड र (२) तर्फ बीरबहादुर ठगुन्नालाई समाजवादीले चुनावी मैदानमा उतार्ने छ।
कञ्चनपुरमा माओवादी केन्द्रले प्रदेश सभा १(१), २(१) र ३(१) तथा नेपाली कांग्रेसले १(२), २(२) र ३(३) पाएको छ।
Shares
प्रतिक्रिया