उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेतृत्वले तालमेल गरेपछि एमाले स्थायी कमिटी सदस्य प्रभु साहले विद्रोह गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमै बोलाएर रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको टिकट दिएपनि त्यसलाई त्यागेर साह स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन्।
एमालेले अन्तिम समयमा आएर जनता समाजवादी पार्टी (जसपा)सँग गरेको तालमेलबाट असतुष्ट उनी आफूले स्वतन्त्रबाटै चुनाव जित्ने विश्वाससहित प्रचारमा लागेका छन्।
आइतवार रौतहट ३ बाट साहले उम्मेदवारी दिइरहँदा एकीकृत** समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि गौरमै थिए।
२०७४ मा जितेको काठमाडौं २ माओवादी केन्द्रकी ओनसरी घर्तीलाई जिम्मा लगाएर गृहजिल्ला रौतहट फर्किएका नेपाल र एमालेसँग रुस्ट साहबीत सोमबार भेटवार्ता भएको छ।
एमाले छाडेर स्वतन्त्र उठेपछि राजनीति तरंगित बनाएका साह र नेपालबीच भएको एउटा भेटको फोटो अहिले भाइरल भइरहेको छ।
नेपाल र साहबीचको भेट संयोग मात्रै हो या योजनावद्ध? यसाबरेमा नेपालखबरले साह र उनका सहयोगीहरुसँग सोधखोज गरेको छ।
साह स्वयम्ले यसबारेमा केही नबोले पनि उनीनिकट रौतहटकै एकजना नेता निभेष यादवले केही खुलाएका छन्।
यादवका अनुसार साह सोमबार साँझ साढे ५ बजेको उडानबाट काठमाडौं जान बाराको सिमरा विमानस्थलमा बसिरहेका थिए।
मौसम खराबीका कारण जहाज समयमा उडिरहेका थिएनन्। एयरपोर्टको भीआईपी कक्षा अन्य नेतासहित साह बसिरहेका बेला समाजवादी अध्यक्ष नेपाल पनि त्यहाँ आइपुगे।
नेपाल आइसकेपछि नेताहरुसँगै साहसँग संवाद भएको हो। 'के के कुराकानी भयो भन्ने मैले पनि बुझिसकेको छैन', यादवले भने, 'तर अरु नेताहरु पनि रहेकै बेला एयरपोर्टको भीआईपी कक्षमा कुरा भएको हो। एमाले छाडेपछि अन्त कतै जाने भन्ने हाम्रो सोच छैन। हामी मंसिर ४ को चुनाव स्वतन्त्र नै लडेर जित्ने योजनाका छौँ।'
आइतवार मनोनयन गरेका साह र नेपाल सोमबार काठमाडौं आएका छन्। जसपासँगको तालमेलबाट असन्तुष्ट साह पछिल्लो समय एमालेका अर्का नेत रघुवीर महासेठसँग पनि असन्तुष्ट छन्।
महासेठले आफूलाई माइनस गर्ने गरी गतिविधि गरिरहँदा अध्यक्ष ओलीले त्यसलाई नरोकेको उनको गुनासो छ। आफूले मधेश प्रदेशमा अन्य दलबाट एमालेमा प्रवेश गराएका नेता कार्यकर्ताले महासेठकै कारण टिकट नपाएको गुनासो पनि उनले ओलीसम्म पुर्याएका थिए।
तर ओलीले पनि स्थानीय चुनावदेखि मंसिरको चुनावका लागि समेत आफूले भित्र्याएका नेताहरुलाई टिकट दिने कुरामा गम्भीरता नदेखाएको साहले बताएका छन्।
गौर हत्याकाण्डमा मुछिएका उपेन्द्र यादव नेतृत्वको जसपासँग तालमेल र रघुवीर महासेठको व्यवहारबाट दिक्क भएर आफूले एमाले छाडेर स्वतन्त्र चुनाव लड्ने निर्णय लिएको कुरा साहले आफ्ना सहयोगीहरुसँग गरिरहेका छन्।
एमालेले जसपा जस्तो भ्रष्ट, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउनेसँग सम्बन्ध बनाएकाले आफूहरु एमालेको उम्मेदवार बनेर जसपालाई सहयोग गरेर जिताउन नसक्ने तर्क साहको छ।
सच्याइएको : यसै समाचारको चौथो अनुच्छेदमा **एकीकृत समाजवादी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक
Shares
प्रतिक्रिया