आसन्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व लिने गरी कामको प्रयत्न गर्ने प्रतिक्रिया दिएका थिए।
‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरूले ल्याउनुभएकोमा उहाँहरूलाई धन्यवाद दिँदै, उहाँहरूलाई आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो,’ उनले सञ्चारकर्मीसँग भनेका थिए।
मंसिर ४ मा विजयी भइसकेपछि प्रधानमन्त्रीका लागि प्रयत्न गर्ने पनि महामन्त्री थापाको भनाइ थियो।
‘मैले योपटक नेपाल सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु। किनकि मलाई अब त्यसका निम्ति चाहिने अनुभव भयो', उनले भनेका थिए, 'त्यसका निम्ति चाहिने सपना मसँग छ। जोस मसँग छ। चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु। यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु।’
मनोनयनपत्र दर्ताकै दिन आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका कांग्रेस महामन्त्री थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धा गरिरहेका छन्। उनको सचिवालय यतिबेला सामाजिक सञ्जालमार्फत् आक्रामक प्रचारमा जुटेको छ।
चुनावी प्रचारका लागि सचिवालयले ‘एमपी अपिस केटिएम फोर’ नामक ट्विटर ह्यान्डल र ‘सांसदको कार्यालय-काठमाडौं क्षेत्र नम्बर ४’ नामको फेसबुक पेज प्रयोगमा ल्याइसकेको छ।
यस्तै, महामन्त्री थापा स्वयम्, उनको सचिवालयमा कार्यरत र यसअघि सहयोग गरिसकेका व्यक्तिहरुले पनि व्यक्तिगत ट्विटर ह्यान्डल र फेसबुक अकाउन्टबाट निर्वाचन लक्षित सामग्री प्रकाशित गर्दै आएका छन्।
सचिवालयले ‘एमपी अपिस केटिएम फोर’ नामक ट्विटर ह्यान्डलमा मोडल ओसिन सिटौला र काठमाडौं–४ मा थापाको पहलमा भएका पूर्वाधारका कामहरुको तस्बिर राखेर भिडिओमार्फत् चुनावी प्रचार गरिरहेको छ।
मोडल सिटौलाले भिडियोमा राम्रो छवि भएको, युवा पिँढीलाई बुझ्ने प्रतिनिधिलाई सपोर्ट गर्नु युवाको दायित्व भएको भन्दै महामन्त्री थापाका लागि मत मागेकी छन्। उनी थापाको मनोनयनपत्रमा प्रस्तावकसमेत बसेकी छन्।
अर्को भिडिओमा काठमाडौं–४ मा थापाको पहलमा भएका पूर्वाधारका कामहरु भन्दै विभिन्न स्थानका सडक, भौतिक संरचना, पोखरी, खानेपानी योजना, कलभर्ट, मन्दिरआदिको तस्बिर राखेर प्रचार गरिएको छ।
‘एमपी अपिस केटिएम फोर’ ट्विटर ह्यान्डलले महामन्त्री थापाले आफ्नो ट्विटर अकाउन्टमा ‘मेरो संकल्प, अबको १० वर्ष’ शीर्षकमा अपलोड गरेको २४ सेकेन्डको भिडियो सन्देश रिट्विट गरेको छ। यो भिडिओ सन्देश २३३ पटक रि–ट्विट भएको छ।
‘म त जम्मा १० वर्ष हो। अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने हो,’ थापाले भिडिओ सन्देशमार्फत् भनेका छन्, ‘मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो। त्यो बेलासम्म यति खतरा नयाँ मान्छेहरु आइसकेको हुन्छ, हुनैपर्छ। कि उनीहरुले हाम्रोभन्दा राम्रो गर्नैपर्यो। यो बुढाहरुले हामीलाई त्यो गर्न दिएनन्। हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि। गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन।’
‘सांसदको कार्यालय– काठमाडौं क्षेत्र नम्बर ४’ नामक फेसबुक पेजमा पनि मोडल सिटौला र काठमाडौं–४ मा थापाको पहलमा भएका पूर्वाधारका कामको तस्बिरसहितको भिडिओ पोस्ट गरिएको छ।
उक्त पेजमा काठमाडौं–४ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदारी दिएर मनोनयन फिर्ता लिएका अरुण श्रेष्ठको समाचार पनि शेयर गरेको छ। समाचारमा उनले थापाको संसदमा आवश्यकता देखेर नाम फिर्ता लिने निर्णय गरेको उल्लेख छ।
महामन्त्री थापाका शुभचिन्तकहरु पनि सामाजिक सञ्जालमा उनको पक्षमा जनमत सिर्जना हुने सामग्रीहरु पोस्ट गर्दै आएका छन्। उनी स्वास्थ्यमन्त्री हुँदा सल्लाहकार रहेका चिकित्सक डा. रामेश कोइरालाले ट्विटरमा भिडिओ अपलोड गरेका छन्।
‘म गगन थापाको सल्लाहकार थिएँ, तलब–भत्ता, गाडी, पेट्रोल, मिटिङ भत्तालगायत कुनै सुबिधा लिइनँ, काम नपरी मन्त्रालय पनि गइनँ, गंगालालमा काम रोकिनँ, मागेको सल्लाह दिएँ, कहिले त नाइँ पनि भनेँ र यस्तै मन्त्री भइरहन् भन्ने चाहेँ पनि। मजस्तो सल्लाहकार तिनले झेले पनि,’ उनले लेखेका छन्।
महामन्त्री थापाका अर्का शुभचिन्तक अभिनेता अनुपविक्रम शाही पनि चुनावी प्रचारमा जुटेका छन्। शाहीले नेता थापासँगको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै चुनावी प्रचारप्रसार सुरु गरेका हुन्।
उनले फेसबुकमा महामन्त्री थापासँगै आफू उभिएको र अर्का नेता उदयशमशेर राणा एक्लैको तस्बिर पनि सेयर गरेका छन्।
‘दूरदर्शी नेताहरु गगन थापा र उदय शमशेरको समर्थन गर्दैछुु,’ अभिनेता शाहीले भनेका छन्, ‘उहाँहरुको नेतृत्वमा हाम्रो देशमा केही सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छौँ।’
यद्यपि, महामन्त्री थापाको सचिवालयले औपचारिक रुपमा चुनावी अभियान सुरु नभएको प्रतिक्रिया दिएको छ। सचिवालयले कात्तिक १३ गतेपछि मात्रै औपचारिक चुनावी अभियान सुरु हुने जनाएको छ।
Shares
प्रतिक्रिया