नेपालका धेरैजसो स्थानबाट मनसुन (वर्षा याम लगाउने/पानी पार्ने प्रणाली) हटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश तथा बागमती र मधेस प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको हो। अब प्रदेश १, बागमती र मधेस प्रदेशको पूर्वी भेगबाट मनसुन हट्न बाँकी छ।
‘अब त्यहाँबाट पनि एक/दुई दिनमा मससुन बाहिरिने अनुमान छ’, मौसमविद् बिनु महर्जनले शनिबार दिउँसो नेपालखबरसँग भनिन्।
मौसमविद् महर्जनका अनुसार नेपालको पूरै क्षेत्रबाट मनसुन बाहिरिएपछि वर्षा याम औपचारिक रूपमा बिदा हुनेछ भने पोस्ट मनसुन सिजन सुरु हुनेछ।
‘अक्टोबर र नोभेम्बर पोस्ट मनसुन हुन्छ’, उनले भनिन्, ‘डिसेम्बरदेखि विन्टर (हिउँद याम) सुरु हुन्छ।’
मौसमविद् महर्जनका अनुसार मनसुुन बाहिरिएसँगै अब ठूलो वर्षाको सम्भावना हुँदैन। ‘तर सामान्य वर्षा अन्य विभिन्न प्रणालीका कारण हुन्छ’, उनले भनिन्।
महाशाखाका अनुसार २०७९ जेठ २२ गते (सन् २०२२ जुन ५) का दिन नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको थियो। मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष औसत मितिभन्दा केही दिन ढिला गरी बाहिरिन थालेको हो।
Shares
प्रतिक्रिया