चुनाव नजिकिएसँगै शीर्ष नेताहरुको देशदौडाहा बढेको छ। आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रका सभामा सम्बोधन गर्न शीर्ष नेताहरुलाई भ्याइनभ्याइ छ। नेताहरुको दौडधुपले सुरक्षामा भने चुनौती थपिने सुरक्षा अधिकारीहरु बताउँछन्।
सधैँ सुरक्षा घेरामा रहने शीर्ष नेताहरु यतिबेला भने कार्यकर्ता र मतदातासँग नजिक हुन्छन्। घरघर पुग्छन्। सुरक्षा घेराबाहिर निस्किएर मतदातालाई प्रत्यक्ष भेट्छन्। यसकारण पनि सुरक्षाकर्मीलाई चुनौती थपिने गरेको छ।
खासगरी हरेक जिल्लाका उम्मेदवारको लागि जिल्ला सुरक्षा समितिले योजना बनाउने भए पनि शीर्ष नेताको अकस्मात आगमनले भने सुरक्षा व्यवस्थापनमा अप्ठेरो थपिने गरेको सुरक्षाकर्मीहरु बताउँछन्।
‘निर्वाचनका कारण त्यसै पनि जनशक्ति पर्याप्त छैन। त्यसमाथि शीर्ष नेताको अकस्मात आगमनले सुरक्षाको लागि जनशक्ति व्यवस्थापन चुनौती बन्छ,’ एक शीर्ष नेताकै गृहजिल्लाका प्रहरी प्रमुखले भने, ‘त्यही पनि हाम्रो कर्तव्य हो, व्यवस्थापन गर्दै आएका छौं।’
यसपटकको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बनेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा ५ बाट, पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट, माधवकुमार नेपाल रौतहट २ बाट र झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार छन्।
उनीहरुको निर्वाचन क्षेत्रमा अन्य स्थानमा भन्दा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।
‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ छ। सोहीअनुसार सुरक्षा व्यवस्था गरिएको छ। अहिले निर्वाचनमा सामान्य समयभन्दा बढी चुनौती हुनसक्ने भएकाले त्यही अनुसारको व्यवस्था गरिएको छ,’ प्रवक्ता राईले भने।
टिकट वितरणदेखि नै शीर्ष नेताको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीको भनाइ छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि चुनावमा सुरक्षा योजना बनाएका हुन्छन्।
प्रचण्डलाई बढी, झलनाथ खनाललाई कम
शीर्ष नेताहरुको सुरक्षा चुनौतीबारे सुरक्षा निकायले विश्लेषण गरेर योजना बनाएका छन्। जसअनुसार सबैभन्दा बढी प्रचण्डलाई र कम झलनाथ खनाललाई छ।
पूर्वप्रधानमन्त्री खनाल पार्टीको मुख्य भूमिकामा नरहेका कारण पनि उनलाई सुरक्षा खतरा कम रहेको सुरक्षा निकायको विश्लेषण छ। झलनाथलाई विगतमा पनि खासै चुनौती नदेखिएको र अहिले पार्टीको कार्यकारी भूमिकामा नरहेकाले पनि कम चुनौती रहेको सुरक्षा विश्लेषण छ। तर प्रचण्डलाई भने सधैंजस्तो बढी थ्रेट हुने गरेको सुरक्षा निकायको बुझाइ छ।
‘समग्रमा भन्नु पर्दा अहिले हाम्रा शीर्ष नेतालाई त्यस्तो चुनौती केही पनि देखिँदैन। तर अन्यलाई भन्दा उहाँलाई विगतका घटना क्रमले पनि बढी चुनौती हुनसक्छ भन्ने हाम्रो बुझाइ हो,’ उच्च सुरक्षा श्रोतले भन्यो।
प्रचण्डलाई अहिले पनि विगतको युद्धका असन्तुष्ट पक्षबाट जोखिम रहेको आकलन छ। त्यसको तुलनामा अन्य दलका शीर्ष नेतालाई भने पार्टीभित्रकै आन्तरिक असन्तुष्ट समूहबाट मात्रै खतरा हुन सक्ने आकलन प्रहरीको छ।
‘प्रचण्डलाई द्वन्द्व पीडितका कारण पनि चुनौती हुन सक्छ। तर त्यस्तो चुनौती अरु पार्टीका नेतालाई छैन। अरु पार्टीका नेतालाई भने टिकट वितरणमा असन्तुष्ट रहेको समूहबाट मात्रै चुनौती हुन सक्छ भन्ने हाम्रो अनुमान हो। बाह्य शक्तिबाट कसैलाई पनि चुनौती छैन,’ ती अधिकारीले भने।
कसरी दिइन्छ सुरक्षा?
हरेक जिल्ला सुरक्षा समितिले आफ्नो जिल्लाका उम्मेदवारका लागि सुरक्षा योजना बनाएका छन्। आवश्यकता अनुसार अंगरक्षक, अगुवापछुवादेखि बाह्य सुरक्षाको समेत व्यवस्था मिलाइएको प्रहरीको दाबी छ।
बहालवाला प्रधानमन्त्री र राष्ट्रपति जाँदा जिल्लामा नेपाली सेना पनि परिचालन गरिन्छ। तर अन्य शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीको हकमा भने आवश्यकता अनुसार स्कर्टिङसहितको सुरक्षा जिल्ला प्रहरी कार्यालयले नै गर्छन्।
शीर्ष नेताहरुले भने केही सुरक्षाकर्मी काठमाडौँबाटै लैजाने गरेका छन्।
‘उहाँहरुले बडीगार्ड यहीँबाट लिएर जानुहुन्छ। बाँकी सुरक्षा जिल्लाबाटै मिलाइन्छ। स्थानीय सुरक्षा युनिटबाटै हुने भए पनि सुरक्षामा कुनै कमी हुँदैन,’ डीआईजी राईले भने।
यस्तै शीर्ष नेताको सवारीमा अगुवापछुवाको व्यवस्था पनि जिल्लाकै युनिटबाट मिलाइन्छ।
‘यहाँ बसुन्जेल यहाँका युनिटबाट हुन्छ। नभए जहाँ पुग्नुहुन्छ त्यहीको युनिट तैनाथ गरिन्छ। पहिल्यै जानकारी हुने भएकाले सम्बन्धित जिल्लालाई सोही अनुसार निर्देशन गइसकेको हुन्छ,’ प्रवक्ता राई भन्छन्।
Shares
प्रतिक्रिया