प्रविधिको तीव्र विकाससँगै राजनीतिक दलहरूको मत माग्ने तरिका पनि फेरिँदै गएका छन्। यसअघिका निर्वाचनमा जस्तो यसपटक दलका झण्डा तथा प्रचार सामग्री कमै प्रयोग भएका छन्।
निर्वाचनको इतिहास हेर्दा ०४८ सालपछि दलहरूले भित्तेलेखन गर्ने, सांगीतिक टोलीसहित मतदाताका गाउँमा पुग्ने, पम्प्लेट टाँस्नेलगायत गतिविधि गर्थे। तर, पछिल्लो समय प्रचारको मूल माध्यम ‘भर्चुअल’ (सामाजिक सञ्जाल र एप्स) बनेका छन्।
०७४ सालअघिका निर्वाचनमा प्रयोग हुने गरेका पम्पलेट, झण्डा तथा अन्य प्रचारको शैली फेरिएर यो पटक सामाजिक सञ्जाल र अनलाइन एप्समार्फत भइरहेको देखिन्छ।
अनेक उपाय खोज्दै चुनावी प्रचारमा व्यस्त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आसन्न निर्वाचनमा नयाँ प्रयोग गरिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदातासँग सम्बन्ध विस्तार गर्न फोन संवाददेखि नाइट क्लब पुगेर चुनावी र्याप गीत सार्वजनिकसम्म गर्न भ्याएका छन्। प्रत्येक दिन बिहान सूर्य उदाएको फोटो सार्वजनिक गर्दै मत माग्ने, रेल चढेर प्रचार बढाउने, उम्मेदवारको फोटो परिवर्तन गर्नेजस्ता नयाँ प्रयोग एमालेले गरिरहेको छ।
भित्तेलेखनबाट सुरु भएको एमालेको चुनावी प्रचार अभियान सामाजिक सञ्जाल हुँदै युवामाझ लोकप्रिय डान्स क्बलमा समेत छिरेको हो।
एमालेले यो आम निर्वाचनमा अपनाएका केही नयाँ शैलीबारे चर्चा गरौं।
‘कर्पोरेट शैली’मा घोषणापत्र!
गत १५ कात्तिकमा आफ्नो चुनावी घोषणापत्र ल्याएको एमालेले सार्वजनिक समारोहमा पनि नयाँ शैली अपनायो। प्रमुख राजनीतिक दल सबैले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले आफ्नो घोषणापत्र प्रस्तुत गरेको थियो।
विगतमा पार्टी कार्यालय वा कुनै पार्टीको फोरममार्फत चुनावी अभियान वा घोषणापत्र सार्वजनिक गर्ने गरेको एमालेले यसपटक भने ‘कर्पोरेट शैली’ अपनाएको हो। घोषणापत्र सार्वजनिक गर्ने स्थान पाँचतारे होटल थियो।
व्यावसायिक कार्यक्रम प्रस्तोताका रूपमा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई ल्याइएको थियो। डिजिटल प्लेटफर्मको अत्यधिक प्रयोग गरेर सञ्चालन गरी अन्य राजनीतिक दलभन्दा नयाँ प्रविधिको उपयोग गर्ने कोसिस भएको थियो।
ओलीले फिङ्गर प्रिन्ट स्क्यान गरेर घोषणापत्र सार्वजनिक गरे। घोषणापत्रको मौखिक वचन नभई डिजिटल भिज्युलाइजेसन गरियो।
ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रमपछि नागरिकसँग ‘लाइभ डिबेट’ नै गरे। घोषणापत्र सार्वजनिक हुनु केही दिनअघि ओलीले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूसँग ‘लाइभ डिबेट’ गर्न चुनौतीसमेत दिएका थिए।
अन्ततः उनी एक्लै डिबेटमा सहभागी भए। तर उनलाई प्रश्न गर्न पूर्व बैंकर अनिल केशरी शाहलाई अघि सारिएको थियो।
अन्य दलको भन्दा ठूलो घोषणापत्र सार्वजनिक गरेर तामझामसाथ कार्यक्रम गरेको एमालेले सहभागीहरूलाई समेत झोला–झोलामा वितरणसमेत गरेको थियो। घोषणापत्रमा एमालेले नयाँ शैली अपनाउँदै ‘ट्वान्टी ग्यारेन्टी’ समेत उल्लेख गरेको छ। एमालेले पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने, नेपालीलाई मात्र नागकिरता दिने, हङ्गर नो लङ्गर नीति, उत्पादन स्वदेशी, बजार विदेशी, सुरक्षित छाना पुग्छ सबैको चाहना लगायतका महत्वाकांक्षी योजना उक्त ग्यारेन्टीमार्फत घोषणा गरेको छ।
डिजिटल प्रचार
हुन त यो निर्वाचनमा सबै दलले सामाजिक सञ्जालालाई प्रचारको प्रमुख माध्यम बनाएका छन्। तर, एमालेको प्रचार अन्य दलको तुलनामा आक्रामक देखिएको छ।
अध्यक्ष केपी शर्मा ओलीको भेरिफाइड फेसबुक पेजबाट दैनिक नयाँ–नयाँ प्रकृतिका सामग्री पोस्ट भइरहेका छन्। ओलीको उक्त पेजलाई ३ लाख ८३ हजार जनाले फलो गरेका छन्।
ओलीले फेसबुक पेजमा हरेक दिन बिहान सूर्य उदाएको तस्बिर सेयर गर्ने गरेका छन्। देशका विभिन्न ठाउँबाट खिचेर पठाएका तस्बिरलाई क्रेडिट दिँदै ओलीले युवाहरूको मन जित्नेगरी सूर्य चिह्नमा मतदान गरिरहेका छन्।
त्यस्तै, प्रत्येक दिन एमालेले ‘सूर्य खबर’ नाममा भिडिओ सामग्री बनाएर पोस्ट गर्ने गरेको छ। ‘कम्युनिस्ट पार्टी अफ नेपाल, यूएमएल’ नामक फेसबुक पेजबाट प्रसारण हुने उक्त खबरमा एमालेका दिनभरका गतिविधि समेटिएको हुन्छ।
रेलदेखि टनेलसम्मको यात्रा!
गत ८ असोजमा पार्टी प्रवेश कार्यक्रमका लागि जनकपुर पुगेका एमाले अध्यक्ष ओली जनकपुर–जयनगर रेल चढे। रेल चढेर उनी धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका थिए।
अघिल्लो निर्वाचनमा रेल र जहाजको कुरा गरेर चर्चा कमाएका ओली यो पटक आफ्नो वाचा पूरा गरेको देखाउनकै लागि भए पनि जनकपुर पुगेर रेल चढेका हुन्। ओली रेल चढ्न त्यहाँ पुगेका बेला उपस्थित भीडले ओलीले मधेशमा बिग्रिएको आफ्नो ‘क्रेज’ बढाएको टिप्पणीसमेत गरेको थियो।
त्यस्तै, ओलीको अर्को महत्वाकांक्षी योजना थियो – सुरुङमार्ग। चुनावी अभियानकै क्रममा यही कात्तिक २० गते ओली नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको अवलोकनमा निस्किए। राष्ट्रिय गौरवको आयोजना सो सुरुङमार्ग ओली आफैंले प्रधानमन्त्री हुँदा शिलान्यास गरेका थिए।
पत्नी राधिका शाक्यसहित सुरुङमा पुगेका ओलीले त्यहाँको प्रगतिबारे सामान्य जानकारी लिए। तर, ओलीले आफ्नो प्रचार व्यापक गराएका थिए।
प्रत्यक्ष फोन संवाद
यही कात्तिक ४ गते एमालेले ‘कल केपी बा’ नाम दिएर कार्यक्रम आयोजना गर्यो। पार्टी केन्द्रीय कार्यालय (च्यासल) मा सर्वसाधरणसँग प्रत्यक्ष संवाद गर्न ओली आफैंले फोन गरेका थिए।
उनले आफूसँग प्रत्यक्ष फोन संवाद गर्न इच्छुकलाई कात्तिक १ गते नै नाम र नम्बर टिपाउन सार्वजनिक आह्वान गरेका थिए। आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिने भन्दै ओलीले युवा तथा सर्वसाधरणको मत तान्ने ‘अस्त्र’ प्रयोग गरेका हुन्।
ओलीसँग कुरा गर्न २ लाख जनाले नाम र नम्बर टिपाएको दाबी एमालेले गरेको थियो। सत्ता गठबन्धनका शीर्ष नेताहरू देश दौडाहामा निस्केर एमालेको विरोध गरिरहँदा उनी भने पार्टी कार्यालयको कुनामा बसेर मतदाता फकाइरहेका थिए। जसलाई एमालेले अहिलेसम्मको नयाँ प्रयोगका रूपमा अथ्र्याएको छ।
फस्ट भोटर्सदेखि एलओडीमा र्यापसम्म!
युवामाझ लोकप्रिय हुन र आफूलाई आधुनिक देखाउन ओली एकाएक मध्यराति ठमेलको एउटा चर्चित क्लबमा देखा परे। विशेषगरी काठमाडौंका युवाहरूको आकर्षणको केन्द्र बनेको नाइट क्लब ‘एलओडी’मा पुगेर ओलीले अर्को नयाँ प्रयोग गरेका हुन्।
मतदान गर्ने दिन नजिकिँदै गर्दा ओलीले युवा वर्गलाई आकर्षित गर्न अपनाएको शैली थियो त्यो। एलओडी पुगेर उनले एमाले सरकारका पालामा भए/गरेका विकास–निर्माणका कुरा समेटिएको ‘सहर सहरमा ओली’ बोलको र्याप गीत सार्वजनिक गरे।
उक्त गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेको लगायतका कुरा छन्। ओलीले आफू एलओडी पुगेका तस्बिरसमेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरे।
त्यसअघि ओलीले युवा पुस्ता तथा नयाँ मतदातालाई आफूतिर तान्न गृहजिल्ला झापाको दमकमा ‘ओली विथ फस्ट भोटर्स’ कार्यक्रम पनि आयोजना गरेका थिए। जहाँ उनले आफ्नो निर्वाचन क्षेत्रका पहिला मतदाताहरूसँग भलाकुसारी गर्दै सेल्फी खिच्नसमेत भ्याए।
Shares
प्रतिक्रिया