ad ad

राजनीति


दोलखामा बुथ कब्जाको डर, पार्वत गुरुङको आरोप : यस्तो संस्कार कांग्रेसले बसायो

दोलखामा बुथ कब्जाको डर, पार्वत गुरुङको आरोप : यस्तो संस्कार कांग्रेसले बसायो

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १३:४४, काठमाडौँ

हरेक निर्वाचनमा दोलखा दलहरुद्वारा हुने बुथ कब्जाका घटनाले बदनाम हुने गरेको छ। गत स्थानीय तह निर्वाचनमा पनि बुथ कब्जा कोसिसले यहाँ दलहरुबीच झडप भयो।

२०७४ को आमनिर्वाचनमा पनि यहाँ वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुथ कब्जाको होडबाजी नै चल्यो।

यो आमनिर्वाचनमा पनि स्थानीय प्रशासनलाई बुथ कब्जाको डर छ। हरेक निर्वाचनमा प्रतिपक्षी दलले दोलखामा सत्तारुढ पार्टीहरुले बुथ कब्जा गर्दै आएको आरोप लगाउँछन्। 

दोलखामा राज्यशक्तिको दुरुपयोग भए बुथ कब्जा हुँदा यस पटक प्रतिपक्षी एमालेले पुरानै घटना दोहोरिन सक्ने अनुमान गरेको छ।

निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले स्थायी कमिटी सदस्य पार्वत गुरुङले यो पटक पनि त्यो अवस्था आउन सक्ने आशंका जनाएका छन्।

२०४८ यताका चुनावमा दोलखाले हिंसा र अशान्ति बेहोर्दै आएको छ। बुथ कब्जा गर्ने होडबाजीले मतदातामा पनि गलत सन्देश जाने गरेको छ। 

बुथ कब्जा गरेर चुनाव जित्ने होडबाजीले दोलखा बदनाम हुने गरेको छ। एमाले नेता गुरुङ भने दोलखामा बुथ कब्जा गर्ने संस्कारको श्रेय नेपाली कांग्रेसमाथि थोपर्छन्। 

'यसलाई चिर्न प्रतिवाद गर्नुपर्छ। जनमतलाई नै हामीले कदर गर्नु पर्दछ भन्ने चेतनाको विकास गर्न जरुरी छ', उनले मंगलबार दोलखास्थित सञ्चारकर्मीहरुसँगको संवादमा भने, 'नभए किन संगठन विस्तार गर्नु पर्‍यो र? एउटा छुट्टै बुथ कब्जा गर्ने पार्टी बनाए भइहाल्यो नि!'

उनले  जसले बुथ कब्जा गर्नसक्छ, उसले मात्रै चुनाव लड्ने अवस्था दोलखामा विद्यमान रहेको बताए। 'यसले त दलीय व्यवस्थाकै औचित्यमाथि प्रश्न खडा हुँदै जान्छ', उनले भने, 'गलत संस्कार, गलत राजनीतिक चिन्तन र जनतालाई अपमानित गर्ने गठबन्धनको षड्यन्त्रलाई सचेत मतदाताले यस पटक चिर्नुपर्छ।' 

यस पटक एक्लै चुनावी मैदानमा रहेको एमालेललाई सत्ता गठबन्धनबाट बुथ कब्जा हुन सक्ने डर छ। त्यहीकारण यसमा स्थानीय प्रशासनले पनि चनाखो भएर सुरक्षा व्यवस्था मिलाउनुपर्ने गुरुङले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .