चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेले आफ्नो नागरिकतासम्बन्धी विवाद चार वर्षअघि नै मिलिसकेको बताएका छन्।
रवि अमेरिकी नागरिक भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि रास्वपाका सभापतिसमेत रहेका लामिछानेले आफ्नो नेपाली नागरिकताले ४ वर्षअघि नै वैधानिकता पाइसकेको स्पष्टीकरण दिएका हु्न।
नागरिकता विवादलाई लिएर आफूविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि उनले बुधबार बिहान फेसबुक लाइभमार्फत आफ्नो बचाउ गरेका हुन्।
उनले फेसबुक लाइममार्फत नागरिकताको विषयमा आफूले पटक पटक स्पष्टीकरण दिनुपरेको गुनासो पनि गरे।
'यसबारेमा अझै कति पटक स्पष्टीकरण दिनुपर्ने हो?', उनले प्रश्न गरेका छन्, ‘आयोगमा परेको उजुरीको जवाफ दिने छौँ। मतदाता र शुभेच्छुकहरु विचलित नहुनुस्। घण्टीमा अझै बढी भोट हाल्नु होला।’
उनले प्रेस काउन्सिलदेखि अदालतसम्म आफ्नो नागरिकता विवादमा पटक पटक विवेचना भइसकेको बताएका छन्।
'एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौँडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषयमा विवेचना भई सेटल भइसकेपछि फेरि कति पटक स्पस्टीकरण दिनु पर्ने हो?', उनले भनेका छन्।
रविविरुद्ध विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता नत्यागेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो।
उम्मेदवार लामिछानेविरुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दर्ता गराएका हुन्।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसमाथि छानबिन भइरहेको छ।
आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानूनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताएका छन्।
उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताएका थिए।
Shares
प्रतिक्रिया