अभिनेत्री आँचल शर्माको नेपाली फिल्म उद्योगमा राम्रै चर्चा छ। उनले चलेको ब्यानरबाट रजतपटमा पाइला राखेकी हुन्। उनले खेलेका फिल्म पनि केही चलेकै हुन्। तर फिल्मको जति उनको चर्चा भने कुनै पनि फिल्ममा हुन सकेन। कारण उनको करिअरमा पारिलो घाम लाग्न भने सकेन।
नम्बर वान नायिका बन्न नसके पनि आँचलको करिअर सधैं सरल रेखाबाट अघि बढिरह्यो। डेब्यु फिल्म हिट दिएकी आँचलको दोस्रो फिल्म बक्स अफिसकै असफल फिल्म साबित भयो। त्यसपछि उनले खेलेका ‘शत्रुगते, दालभात तरकारी’लगायतका फिल्म चले। यही बीचमा उनका ‘ब्ल्याक, जोनी जेन्टलम्यान लगायतका फिल्मले सुखद व्यापार गरेनन्। चलेका फिल्मको जस पनि आँचलको भागमा परेन।
तैपनि आँचल हतासिएको मुद्रामा भने कहिले देखा परिनन्। म्युजिक भिडिओ र फिल्ममा निरन्तरता दिइरहिन्। त्यही कारण उनलाई फिल्म ‘झिँगेदाउ’ले सफलताको स्वाद चखायो। यो फिल्म चल्नुको धेरथोर जस उनको पोल्टामा पनि पर्यो।
आँचलले म्युजिक भिडिओमा भने राम्रै राज गरिन्। एकताका चलेका अधिकांश गीतमा आँचल देखिन्थिन्। नचलेका म्युजिक भिडिओको संख्या पनि उत्तिकै देखिन्थे। आँचल बोलेर होस् अथवा सामाजिक सञ्जालमा कमै विवादमा आउने नायिकामा पर्छिन्। उनका स्क्यान्डल कमै भेटिन्छन्।
उनै आँचलका दुई फिल्म प्रदर्शनको तयारीमा छन्। उनले अभिनय गरेको ‘वर एन्ड वधु’ वैशाख १ मा प्रदर्शन हुँदै छ। अर्को फिल्म ‘नाइँ नभन्नु ल ४’ सुटिङ भइरहेको छ। यो फिल्म आँचलको डेब्यु फिल्मको सिरिज हो। हिट फिल्मको सिरिज पनि हो। त्यसैले यो फिल्मले करिअरलाई अझै गति दिन मद्दत गर्ने आँचलको आश छ। छायांकनका क्रममा रहेको ‘नाइँ नभन्नु ल ४’ ले फागुन १९ लाई प्रदर्शन मिति तय गरेको छ।
आँचल अभिनित ‘वर एन्ड वधु’ र ‘नाइँ नभन्नु ल ४’ सफल भएको खण्डमा आँचलको हिट श्रृंखलाले ह्याट्रिक गर्ने देखिन्छ।
Shares
प्रतिक्रिया