ad ad

राजनीति


गत निर्वाचनमा मतदान ६१.४१ प्रतिशत, बदर ५.०६ प्रतिशत

गत निर्वाचनमा मतदान ६१.४१ प्रतिशत, बदर ५.०६ प्रतिशत

नेपालखबर
मंसिर २६, २०७९ सोमबार २१:३४, काठमाडौँ

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ। 

निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताएका हुन्। 

उनले प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको बताए। उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिए। त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उनले उल्लेख गरे। प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको उनले बताए।

त्यस्तै सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले जानकारी दिए। उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ। 

उनले भने – ‘मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षा भन्दा कम मतदान भएको हामीले पायौँ। समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो। सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भयो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधि सभातर्फ ६१.४१ प्रतिशत मतदान भएको थियो। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणाली तर्फको ६१.३१ प्रतिशत मतदान भएको थियो। हामीले कुल खसेको मतलाई सदर र बदर भनेर पनि हामीले तथ्यांक निकालेका छौँ। कुल खसेको मतको ५.०६ प्रतिशत बदर भएको हाम्रो तथ्यांकले देखाएको छ। त्यसमा सबैभन्दा बढी प्रदेश सभाको समानुपातिक तर्फ सबैभन्दा बढी मत बदर भएको देखिन्छ। औसतभन्दा बढी छ, त्यो भनेको ६.५५ प्रतिशत मत बदर भएको देखिन्छ प्रदेश सभाको समानुपातिकतर्फ भने सबैभन्दा कम प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत मत बदर भएको देखिन्छ। सबैभन्दा बढी मत सुदूरपश्चिम प्रदेशमा बदर भएको देखियो। ५.७० प्रतिशत सुदूरपश्चिम प्रदेशमा मत बदर भएको छ भने सबैभन्दा कम वागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको देखिन्छ।’

आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ। त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताए। 

उनले भने – ‘हामीलाई प्राप्त तथ्यांक अनुसार बदर मत पनि निर्वाचन पिच्छेका फरक–फरक छन्। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको फरक–फरक मतपत्रहरुको बदर मतको प्रवृत्ति विश्लेषण गरेका छौँ। त्यसरी हेर्दाखेरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभामा बदर मत ५.०६ प्रतिशत छ भने प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५.०९ प्रतिशत छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली भन्दा समानुपातिक निर्वाचन प्रणालीमा केही प्रतिशत मत बदर बढी भएको छ। त्यस्तै प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा ४.०७ प्रतिशत मत बदर भएको छ भने प्रदेश सभाको समानुपातिकतर्फ सबैभन्दा बढी अर्थात् ६.५५ प्रतिशत मत बदर भएको छ।’

उनले समग्र ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिए। सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको उनको भनाई छ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१.४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाई छ। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१.३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .