४ मंसिरको निर्वाचनमा विजयी नयाँ र पुराना अनुहारहरूले सोमबारबाट औपचारिक रुपमा संघीय संसदमा ‘इन्ट्री’ गरेका छन्।
मंगलबार (२६ पुस) मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि बसेको सोमबारको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरेर सकिएको छ।
संसद भवनभित्र नेताहरू प्रवेश गर्नुअघिको दृश्य भने केही चाखलाग्दो थियो।
दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सांसदहरू १२ बजेदेखि नै संसद भवन परिसर पुग्ने क्रम सुरु भएको थियो।
शीर्ष तहका नेताहरू केहीबेर ढिला संसद भवन पुगे। केही पुराना र नयाँ सांसदहरू भने समय अगावै संसद भवन परिसर पुगिसकेका थिए।
संसद भवनमा पुग्ने धेरैजसो सांसदहरू आफ्नै निजी सवारी साधनसहित पुगेका थिए। तर केही सांसदहरुको ‘इन्ट्री’ अपत्यारिलो देखिन्थ्यो।
केही भाडाको सवारीमा संसद पुगे। केही अर्का सांसदसँग लिफ्ट मागेर पुगेका थिए। केही आफन्तलाई सवारी साधनमा संसद भवन पुर्याउन लगाएका थिए।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसी बैठक सुरु हुनु केहीअघि संसद भवन पुगेका थिए। उनी भाडाको ट्याक्सी चढेर संसद भवनभित्रै पुगेका थिए।
सादा जीवन बिताउन मन पराउने सांसद केसी काठमाडौंमा भाडाको घरमा बस्छन्। केहीसमयअघि मात्र उनले सार्वजनिक मिडियामार्फत आफूले नयाँ डेरा खोजिरहेको बताएका थिए।
संसदको पहिलो बैठकमा पनि सांसद केसी निकै सरल रुपमा प्रस्तुत भएका देखिन्थे। बहालवाला मन्त्री र अधिकांश सांसदहरू भने निजी सवारी साधनमा हुइँकिंदै पुगेका थिए।
बैठक सकिएपछि प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु सरकारी सवारीमा निस्कंदा केही सांसदहरु भने अलमलमा देखिन्थे।
विशेषगरी पहिलोपटक सांसद भएका र समानुपातिकतर्फका सांसदहरू सवारी साधनको जोहो गर्न लागिपरेका देखिन्थे।
त्यही भिडमा भेटिएका एक सांसदले आफ्नो साधन नभएको र सहयोगका लागि याचना गरिरहेका थिए। ‘सवारी साधन छैन, भक्तपुर पुग्नु छ। कोही माननीयले लिफ्ट दिनुहुन्छ होला।’
उनले बोली नखसाल्दै बर्दिया–१ बाट निर्वाचित सांसद सञ्जय गौतम निजी सवारी लिएर पार्किङबाट निस्किए। उनले केही सांसदहरुलाई गाडीमा बस्न अनुरोध गर्दै आफूले घरमा पुर्याइदिने बताए।
केही बेरदेखि अलमलमा परेका ती सांसदहरु गौतमलाई पछ्याउँदै उनको गाडीमा चढ्न पुगे।
युट्युबरको आक्रमण
कानुन बनाउने थलोको रुपमा लिइन्छ संसदलाई। यसअघिका संसद बैठक चल्दा संसद भवनबाहिर संचारकर्मीहरुको बाक्लो उपस्थिति हुँदैनथ्यो। सम्बन्धित निकायबाट आधिकारिक पास लिएर रिपोर्टिङ गर्नेहरू मात्रै हुन्थे।
तर, नयाँ पार्टीबाट नयाँ सांसदहरु निर्वाचित भएसँगै यो दृश्य पनि फेरिएको छ।
संघीय संसद भवनमा क्यामेरै क्यामेराले घेरिएको छ। महत्वपूर्ण मानिने ‘रिपोर्टिङ’ प्रभावित हुनेगरी सामाजिक सञ्जालमा चर्चा कमाएर आएका सांसदहरुको अघिपछि ती क्यामेराहरु घुमे। जसले वर्षौंदेखि रिपोर्टिङ गरिरहेका पत्रकारहरु आफैँ चकित देखिन्थे।
‘यस्तो त कहिल्यैपनि देखिएको थिएन,’ दशकदेखि रिपोर्टिङ गरिरहेका एक सञ्चारकर्मीले सुनाए, ‘यति गम्भीर मानिने संसदीय रिपोर्टिङमा देखिएको यो चिच्याहटले के परिणाम ल्याउला सोच्न सकिएको छैन।’
विशेषगरी राप्रपा सांसद ज्ञानबहादुर शाही, गृहमन्त्री रवि लामिछाने, सांसदहरू तोसिमा कार्की, सोविता गौतम लगायत सांसदहरु पुग्दा उनीहरु भुम्मिएका थिए।
Shares
प्रतिक्रिया