प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ राष्ट्रपतिमा कस्ता व्यक्ति अघि सार्ने सैद्धान्तिक सहमति नै हुन सकेको छैन।
सत्ता साझेदार प्रमुख दल भएकाले गत पुस १० कै सहमति कार्यान्वयन गर्नुपर्ने अडानमा ओली छन्।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय सहमतिकै पक्षमा अडीग छन्।
बिहीबार बालुवाटारमा दुई घण्टा छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन। यद्यपि शुक्रबार फेरि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा छलफल हुँदैछ।
बिहान नौ बजेका लागि तय भएको भेटमा राष्ट्रपतिको उम्मेदवारबारे सैद्धान्तिक सहमति जुटाउने प्रयास गर्न लागिएको एक नेताले नेपालखबरलाई बताए।
‘प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन सकिन्छ कि? कोसिस गरौँ न, एकपटक हेरौं भन्नु भयो,’ बिहीबारको भेटबारे जानकारी दिँदै एक नेताले नेपालखबरसँग भने, ‘जवाफमा अध्यक्ष ओलीले यसअघिको सहमति बिग्रियो भने जटिल अवस्था आउन सक्छ, सरकार संकटमा पर्न सक्छ, अस्थिरता निम्तिन्छ भन्नु भएछ।’
यो बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको लागि एकपटक फेरि मिलेर अघि बढ्न प्रस्ताव गरे।
‘राष्ट्रिय सहमति गर्दा के हुन्छ? नगर्दा के हुन्छ? भन्ने कुरा तपाईंले बुझ्नु भएकै छ, कम्तिमा शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन ठूला राजनीतिक दल मिलाउने प्रयास गरौँ, तपाईंले नै यो भूमिका खेल्दा राम्रो हुने देख्छु म,’ प्रचण्डले ओलीलाई भने, ‘बरु तपाईंले नै यसको पहल लिइदिँदा राम्रो हुन्छ।’
उता एमाले अध्यक्ष ओलीले असम्भव कुरा गर्न नहुने बताएका थिए।
‘राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने कुराको निर्णय एमालेले गर्छ,’ ओलीले भने, ‘माओवादीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने–नगर्ने प्रष्ट पार्ने जिम्मेवारी प्रधानमन्त्रीजीकै हो।’
राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन फागुन १३ गते हुँदैछ। त्यसअघि नै सहमति जुटाउने प्रयासमा एमाले छ। अध्यक्ष ओलीको दौडधूप त्यसकै लागि भएको नेताहरू बताउँछन्।
माओवादीका उपमहासचिव शक्ति बस्नेतले राष्ट्रिय सहमतिको मोडालिटीबारे छलफल भए पनि ठोस निष्कर्ष ननिस्केको बताए।
‘उहाँहरुबीच सौहार्दपूर्ण वातावरणमा सबै पक्षका विषयमा छलफल भएको छ,’ उनले भने, ‘अहिलेसम्म यही भन्ने निचोड निस्किएको छैन। अझ भनौं, राष्ट्रिय सहमति कि सत्ता साझेदारबीच साझा उम्मेदवार भन्नेमा एकरुपता भएको छैन।’
‘विषयबस्तु साँघुरिदै गएकोले निचोडमा पुग्ने प्रयास जारी छ,’ उनले थपे।
दलहरूबीच सहमति जुटाउन ओपन भएपछि मात्रै उम्मेदवारबारे छलफल गर्न सकिने प्रचण्डको बुझाइ छ।
‘मनमा एउटा कुरा लिएर बस्यो भने समझदारी बन्दैन, खुला भएपछि कुन पात्र र कुन पार्टीको भन्ने विषयमा छलफल केन्द्रित हुन्छ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘तर केपी ओलीजी मान्नुहुन्न।’
अहिलेसम्म राष्ट्रपति उम्मेदवार को हुन्छ भन्ने नै प्रष्ट छैन।
‘म्रो जोड साझा उम्मेदवारमा हो, अझै फिक्स भएको छैन’, माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले नेपालखबरसँग भने, ‘यहि गठबन्धन कायम राखेर बाहिर रहेका दललाई समेट्ने अन्तिम प्रयास हुन्छ।’
माओवादीले प्रधानमन्त्रीलाई मिलेको विश्वासको मत राष्ट्रपति निर्वाचनमा पनि जोगाउन खोजेको छ।
तर, एमाले अध्यक्ष ओलीले अहिले पनि राष्ट्रिय सहमति कायम रहेको तर्क गर्दै एमालेले जो अघि बढाए पनि त्यसमै राष्ट्रिय सहमति हुने बताएका छन्।
यही रस्साकस्सीबीच मिलनबिन्दुको खोजीमा माओवादी छ । ‘काङ्ग्रेसलाई पनि सँगै लैजान खोजेको हो,’ एक नेताले भने, ‘केही विषयमा दलहरू एकै ठाउँ नहुँदा त्यसको सिधा असर व्यवस्थामाथि पर्दो रहेछ।’
राष्ट्रपति चुनावमा सबैले एउटै उम्मेदवार उठाउन सके त्यो व्यक्तिले कुनै पार्टी विशेषको काम नगर्ने उनीहरुको विश्लेषण छ।
एमालेका एक उच्च तहका नेताले अब सबै राजनीतिक दललाई स्वीकार्य हुने व्यक्ति अघि सार्ने बताए।
‘राष्ट्रपति चुनावमा गोप्य मतदान हुन्छ, सबै दलले मान्ने साझा खालको व्यक्तिलाई राष्ट्रपति उम्मेदवार बनाएर पनि सहमति जुटाउन सकिन्छ’, ती नेताले भने, ‘राष्ट्रपतिको चुनाव गोप्य हुनेभएकोले सभामुख जस्तो हुँदैन।’
एमालेले अब नाम नै अघि सारेर छलफल गर्न सक्ने सम्भावना छ। ‘काङ्ग्रेस लगायत केही शक्ति अहिलेको सत्ता साझेदार दल भत्काउन लागेका छन्,’ ती नेताले थपे, ‘अब माओवादीलाई टाढा जानेगरी वातावरण बन्न दिनुहुन्न भन्ने हाम्रो अध्यक्षलाई थाहा छ।’
७ हजार ७ सय मतभार रहेको माओवादी राष्ट्रपति चुनावमा निर्णायक छ। त्यसो हुँदा एमालेले सर्वमान्य नाम खोजिरहेको छ।
अहिलेसम्म उपाध्यक्ष सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यतिर एमाले नजर केन्द्रित छ।
राष्ट्रपति चुनावकै कारण काङ्ग्रेस, एमाले र माओवादी बदाबमा छन् । त्यही भएर पनि कुनै बिन्दुमा पुगेर कुनै दल पछि हट्ने सम्भावना छ।
‘समस्या परेपछि लास्टमा सोच्च्छ र व्याक हट्छ, अहिले किन कोही पछि हट्नु?’ एक नेताले भने।
Shares
प्रतिक्रिया