रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा शक्तिहरुलाई दोष दिएका छन्। संसद् सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै उनले दोनबासको द्वन्द्व शान्तिपूर्ण रुपमा समाधान गर्न खोज्दा त्यसमा बाधा पुर्याइएको बताए।
‘यो समस्या शान्तिपूर्ण रुपमा समाधान गर्न सम्भव भएजति सबैथोक हामी गरिरहेका थियौँ। तर, हाम्रो पछाडि अत्यन्त कठिन परिदृश्य सिर्जना गरिँदै थियो,’ पुटिनले भने, ‘उनीहरु (पश्चिमा) समय मात्र चाहन्थे।’
‘युद्ध उनीहरुले सुरु गरे, हामीले त त्यसलाई रोक्न बलप्रयोग मात्र गरेका हौँ,’ उनले भने।
‘उनीहरुले किभको सैन्य शासनका लागि १५० अर्ब डलर खर्च गरेका छन्,’ पुटिनले भने, ‘पश्चिमा सम्भ्रान्तहरुले आफ्नो लक्ष्य लुकाएका छैनन्। उनीहरु रुसलाई रणनीतिक रुपमा पराजित गर्न चाहन्छन्।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले अचानक युक्रेनको भ्रमण गरेको भोलिपल्टको सम्बोधनमा पुटिनले पुनः युक्रेन युद्धका लागि पश्चिमाहरुलाई दोषी ठहर्याएका हुन्।
आफ्नो करिब दुई घण्टा लामो सम्बोधनमा उनले रुसको आर्थिक, प्राविधिक, सैन्यलगायत अनेक विषयमा विस्तृतमा बोलेका छन्।
पुटिन बोलिरहँदा दुवै संसदका सांसदहरु र सैन्य अधिकारीहरुले पटकपटक उठेर ताली पिटेका छन्।
युक्रेनी सरकारले आफ्नो नभई पश्चिमा मालिकहरुको स्वार्थको रक्षा गरिरहेको उनको भनाइ थियो।
‘किभको शासन र तिनका पश्चिमा मालिकहरुले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा कब्जा गरेका छन्,’ पुटिनले भने, ‘उनीहरुले युक्रेनी उद्योग र अर्थतन्त्र ध्वस्त पारेका छन्।’
‘निश्चय नै किभको शासन युक्रेनी जनताका लागि अपरिचित छ। उनीहरु आफ्नो स्वार्थको रक्षा गरिरहेका छैनन्। बरु आफ्ना मालिकको स्वार्थ रक्षा गरिरहेका छन्।
पश्चिमा समाज र नैतिकता सम्पूर्ण रुपमा पतन भएको उनको आरोप थियो।
त्यस्तै अमेरिकासँग रुसको सम्बन्ध पनि पुरै कमजोर भएको उनले बताए। दोस्रो विश्वयुद्धपछि सिर्जना गरिएका संरचनाहरुलाई अमेरिकाले ध्वस्त पारेको पुटिनको भनाइ छ।
Shares
प्रतिक्रिया