संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन्।
थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म सत्ता प्राप्तिका लागि भएको दाबी उनले गरे। 'सत्ता जोगाउन वा प्राप्त गर्न फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन', उनले भने।
मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको दाबी गरे। जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसकिने पनि उनले बताए।
मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेले अहिले राजाको पक्षमा वकालत गरिरहेको उनको जिकिर थियो।
'केही राजनीतिक दल र पश्चगामी तत्व एकात्मक शासन चाहिन्छ, समानुपातिक समावेशिता हटाउनुपर्छ भनेर हिँडिरहेका छन्, उनीहरुको सपना पूरा हुने छैन', उनले अगाडि भने।
मन्त्री मोदीले उत्पीडित जातिको अधिकार कुण्ठित गर्न खोज्ने दुष्प्रयासलाई सबैले विफल पार्नुपर्ने समेत बताए।
लोकतन्त्र नै सबैभन्दा उन्नत व्यवस्था भएको पनि उनले बताए। 'वडादेखि केन्द्रसम्मका सबै जनप्रतिनिधि जनताले छान्न पाउने लोकतन्त्र जतिको उन्नत व्यवस्था अरु हुनै सक्दैन', उनले भने।
Shares
प्रतिक्रिया