बारामा ढिला मतदान सुरू गर्ने सर्वदलीय निर्णयलाई निर्वाचन आयोगले खारेज गरिदिएको छ।
आइतबार बिहान ७ बजेबाट सुरू हुने उपनिर्वाचनमा बारा को देवताल गाउँपालिका–२ स्थित सिंचाई अफिस कल्याणपुरको मतदान केन्द्र ‘क’ र ‘ख’ मा मतदान अधिकृत सहितको सर्वदलीय बैठकले मतदानको समय बढाउने निर्णय गरेको थियो।
उक्त निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगले कानून विपरित हुनेगरी अन्यले मतदान गर्नसक्ने बताएको छ।
‘यस सम्वन्धमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ को दफा ११ मा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार, दफा २१ मा मतदान केन्द्रमा पुगेपछि सर्वदलीय वैठक राख्ने, दफा ३९ मा मतदान गर्ने समय, दफा ५० मा मतदान गर्दा प्राथमिकता दिने र दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने विषयका सम्बन्धमा स्पष्ट व्यवस्था छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ, निर्वाचन सम्वन्धी प्रचलित कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरितका यस्ता निर्णयहरु बदर गरी प्रचलित कानून बमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित बातावरणमा सम्पन्न गर्ने गराउने ब्यवस्था हुन मुख्य निर्वाचन अधिकृत मार्फत सबै मतदान अधिकृतहरुलाई आयोग निर्देशन गर्दछ।’
साथै, यस्ता प्रकृतिका निर्णयहरु उपनिर्वाचन हुने मतदान केन्द्रमा कहि कतै भए यसै निर्देशनलाई आधार मानी यस्ता निर्णयहरु बदर गरी प्रचलित निर्वाचन कानून बमोजिम गर्ने गराउने ब्यवस्था हुन समेत निर्वाचन आयोगले सूचित गरेको छ।
आयोगले आइतबार बिहान ७ बजेबाट निर्वाचन ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ।
Shares
प्रतिक्रिया