विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले ऋणीहरूको ऋण मिनाहादेखि धर्म–संस्कृति बचाउने र राजतन्त्र नै फर्काउने भनेर देशभरका मान्छेलाई उचाले। भोक, प्यास, खाली खुट्टा नभनी विभिन्न प्रदर्शन र सभाहरूमा परिचालन गरे। विद्रोहको धम्की दिए। त्यही शक्तिलाई देखाएर उनले परम्परागत राजनीतिक शक्तिदेखि अदालतसम्मलाई धम्क्याए। सार्वजनिक मञ्च तथा युट्युब च्यानलहरूमा तथानाम बोले।
जब उनले सर्वोच्च अदालतबाट आफ्नो मेडिकल कलेज बी एन्ड सीका नाममा सम्बन्धन पाउने गरी आदेश प्राप्त गरे, त्यसपछि उनको प्राथमिकता फेरियो। अभियानमा सँगै हिँडेकाहरूलाई उनले वास्ता गर्न छाडे। भेटघाट र फोनमा पनि ‘रेस्पोन्स’ गर्न छाडेपछि सहकर्मी पनि टाढिएका छन्।
प्रसाईँले अभियान अघि बढाउन सुरुमा कम्पनी रजिस्ट्रार कार्यालयमा ‘गैरनाफामूलक’ कम्पनी (संस्था) दर्ता गरेका थिए। त्यसका संस्थापकहरूमा दुर्गा प्रसाईँका साथै राकेश प्रसाईँ, रमा सिंह, इशा खड्का र विनञ्जय थापा थिए। गत स्थानीय तथा आम निर्वाचनमा लौरो (स्वतन्त्र) अभियान सञ्चालन गरेको समूह पनि यसैमा मिसिएको थियो। अघिल्लो वर्ष जेठ २५ गते उनीहरूले कार्यगत एकता घोषणा गरेका थिए।
पछि गएर करिब ४३ वटा संस्थाले प्रसाईँको अभियानमा ऐक्यबद्धता जनाएका थिए। अभियान विस्तार गर्ने क्रममा ४१ जना सचिवालय सदस्य बनाइएको थियो। अभियानका संयोजक दुर्गा प्रसाईँसहित ५ जनाको अध्यक्षमण्डल गठन गरिएको थियो। अध्यक्षमण्डलमा हरि कार्की, राजु पनेरु, आनन्द प्याकुरेल र इशा खड्का थिए। कार्कीले संगठन विभाग प्रमुखको रुपमा पनि काम गरिरहेका थिए। कार्कीका अनुसार, ६७ जिल्लामा अभियानका संगठन निर्माण गरी करिब २ लाख साधारण सदस्यता पनि वितरण गरिएको थियो।
तर, पछिल्लो समय प्रसाईँ यस अभियानबाट एक्लिँदै गएका छन्। संस्थापक समूहका ५ जनामध्ये दुर्गा प्रसाईँसँग राकेश प्रसाईँ मात्र बाँकी छन्। रमा सिंह र इशा खड्काले राजीनामा दिइसके। विनञ्जय थापा निष्क्रिय छन्।
राजीनामा दिनेहरूले घोषित उद्देश्यअनुरूप कार्य नभएको, एकअर्कालाई दोष दिने, खुइल्याउने तथा हुर्मत लिनेसम्मका गतिविधि भएका कारण जनताका मागहरू एकातिर र क्रियाकलाप अर्कोतिर हुने संकेत प्राप्त भएको कारण दर्शाउँदै अभियानबाट अलग भएको घोषणा गरेका छन्।
देशव्यापी अभियान सञ्चालन गर्ने क्रममा गत वर्ष मंसिर ७ गते काठमाडौँमा ठूलै प्रदर्शन पनि प्रसाईँ समूहले गरेको थियो। त्यसका लागि ठूलो आर्थिक संकलन भए पनि त्यसको वास्तविक विवरण सार्वजनिक गरिएन। प्रसाईँले व्यक्तिगत रुपमा आफै उठाउने र आफै खर्च गर्ने, पारदर्शी रुपमा विवरण सार्वजनिक नगर्ने, संस्थागत जानकारी पनि नदिने गरेका कारण समेत अभियानमा प्रश्न उठिरहेको थियो। सर्वोच्चको आदेश र चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन तथा एमबीबीएसको सिट निर्धारण भएपछि प्रसाईँले एकाएक वास्ता गर्न छाडे। त्यसपछि अभियानमा जोडिएकामध्ये धेरैले उनको स्वार्थमा आफूहरू प्रयोग मात्र भएको र ‘आन्दोलन’लाई धोका दिएको निष्कर्ष निकालेका छन्।
‘देशमा आन्दोलनको आवश्यकता छ, मिलाएर अघि बढाउन सके देशलाई निकास दिन सकिन्छ,’ प्रसाईँको अभियानमा संगठन विभाग प्रमुख भएर हाल अलगिएका हरि कार्की भन्छन्, ‘उहाँ (दुर्गा प्रसाईँ) ले आफूसँग भएका साथीहरूलाई मिलाएर लान सक्नुभएन। फेरि पनि हामीले कार्यगत एकताका लागि ढोका भने खुला नै राखेका छौँ।’
अब प्रसाईँले इच्छाशक्ति नदेखाए पनि अभियानलाई एकीकृत ढंगले अघि बढाउने वातावरण बनाउन आफूहरू लागिरहेको कार्की बताउँछन्।
‘सबै राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्ने, सबैलाई विश्वासमा लिने वातावरण हुनुपर्छ,’ कार्की भन्छन्, ‘उहाँ (दुर्गा प्रसाईँ)बाट भएन भने पनि हामीले त्यो वातावरण बनाइरहेका छौँ।’
प्रसाईँले २०७९ फागुन १ मा झापाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ सुरु गरेका थिए। उद्घाटन समारोहमा पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल र छोरा पारस उपस्थित थिए। अभियानले गत वर्ष मंसिर ७ मा काठमाडौँमा निर्णायक भन्दै ठूलो प्रदर्शन गरेको थियो। गत फागुन १ गते काठमाडौँको भृकुटीमण्डपमा पहिलो वार्षिकोत्सव कार्यक्रम मनाएको थियो।
प्रसाईँले झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन नपाएपछि मूल धारका राजनीतिक दलदेखि राज्यका संस्था र अदालतका विरुद्धमा समेत विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए। सुरुमा जुनजुन शक्ति र नेताको निकट पुगेका थिए, पछि तिनीहरूकै विरूद्धमा तथानाम बोल्दै हिँडेका थिए। मेडिकल कलेज स्थापनाका लागि लिएको ऋण तिर्न बैंकहरूले ताकेता गरेपछि बैंक तथा वित्तीय संस्थाहरूकै विरुद्धमा देशव्यापी गतिविधि गरेका थिए। वित्तीय संस्थाहरूले शोषण गरेको भन्दै ऋण नतिर्न उनले ऋणीहरूलाई उकासेका थिए र आफू शक्तिमा आएपछि २० लाखसम्मको ऋण मिनाहा गरिदिने आश्वासन दिएका थिए।
२०८० चैत १२ सर्वोच्चले दुर्गा प्रसाईँ सञ्चालक रहेको झापाको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो। त्यसपछि उनले अभियानका गतिविधि मत्थर पारेका थिए।
Shares
प्रतिक्रिया