प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ मा आइतबार भएको उपनिर्वाचनमा नेकपा एमालेकै नेताको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई गएको पाइएको छ।
जारी मतगणनाका क्रममा एमालेकै नेताहरुले पार्टी कमिटीकै सदस्यहरुको मत सर्वेन्द्रलाई नआएको प्रतिक्रिया दिएका छन्।
दुई महिने ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको एमालेले संगठनलाई बलियो बनाएको दाबी गरेको थियो।
तर, तनहुँमा अहिलेसम्म मतगणना भएका स्थानमा एमालेकै संगठित सदस्यहरुकै मत वाग्लेले पाएको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। एमालेमा संगठित र साधारण सदस्य गरी दुई किसिमका कार्यकर्ता छन्।
‘हाम्रै कमिटेड साथीहरुको मत पनि प्रभावित भयो,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘कमिटीका नेताहरुको मत हाम्रै उम्मेदवारले पाएनन्।’
उनले संख्याबारे परिणामपछि मात्रै विश्लेषण गर्ने बताए। गृहजिल्ला तनहुँ भए पनि पूर्वआईजीपी सर्वेन्द्र चुनावअघि मात्रै गएका थिए।
त्यहाँ उनी एमालेकै जिल्ला र गाउँका नेताहरुसँग अपरिचित थिए। एमालेकै नेता कार्यकर्तासँग सम्बन्ध स्थापित गर्न नसकेका उनी जारी मतगणनामा पनि धेरै पछि परेका छन्।
आइतबार बेलुकादेखि मतगणना भएको त्यस क्षेत्रमा सुरुदेखि नै वाग्लेले फराकिलो मतान्तर कायम गर्नुको कारण एमालेको पनि मत मिसिएको उनले बताए।
अहिलेसम्म झण्डै २० हजार मत गणना सकिँदा रास्वपाका वाग्लेले १० हजार २५९ मत पाइसकेका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत ल्याएर पछ्याइरहेका छन्।
एमालेका सर्वेन्द्र खनालले २७ सय ९७ मत ल्याएर तेस्रो स्थानमा छन्। गत मंसिरको चुनावमा सर्वेन्द्र काठमाडौं ६ मा पराजित भएका थिए।
रास्वापकै शिशिर खनालसँग पराजित भएको केही महिनामै सर्वेन्द्रलाई तनहुँको टिकट दिने एमालेको निर्णय पनि प्रत्युत्पादक सावित भएको छ।
खनालले आफ्नै संगठित नेताको मत नपाएको तनहुँ जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
‘स्वर्णिमको पक्षमा देखिएको रुझान ०६४ सालमा माओवादीमा देखिएको जस्तै छ,’ श्रेष्ठले भने, ‘सबै मत सोहोरिएर उनैलाई खसेको देखिन्छ। अब हामीले जित्ने अपेक्षा त कल्पनाभन्दा बाहिर गइसक्यो।’
स्थानीय उम्मेदवार नभएर यस्तो भएको हो ? भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले मानिसको निरासा सम्बोधन हुन नसकेको बताए।
उम्मेदवारका कारण मात्रै होइन, मानिसको निराशाको मत उता गयो, सरकार बनाउने, गिराउने खेलमा दल लागे,’ उनले भने, ‘ठूला दलले राजनीतिक स्थिरता दिएनन्, सत्ता केन्द्रित भएको आवेग मतबाट प्रकट भएको छ।’
Shares
प्रतिक्रिया