तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उपचुनाव जितेका अर्थविद् डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै जिम्मेवारीमा छैनन्।
नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका उनले गएको चैत १६ गते कांग्रेस छाडेको घोषणा गरेका थिए। त्यसको भोलिपल्टै उनले रास्वपाको साधारण सदस्यता लिए तर, अहिलेसम्म वाग्लेको हैसियत साधारण सदस्यको मात्र छ।
रास्वपामा अहिले ४० जना केन्द्रीय सदस्य छन्। अन्तर्राष्ट्रिय रूपमा चिनिएर नेपाली कांग्रेसमा समेत चर्चा कमाएका वाग्ले रास्वपाको केन्द्रीय सदस्य पनि बनाइएका छैनन्। डा. वाग्लेमात्र होइन, रास्वपामा सांसद भएका धेरै नेताहरू नै केन्द्रीय सदस्य हुन सकेका छैनन्।
रास्वपामा प्रत्यक्ष र समानुपातिक गरी २१ जना सांसद छन्।
मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित हरि ढकाल, काठमाडौं ६ बाट निर्वाचित शिशिर खनाल, ललितपुर ३ बाट निर्वाचित डा. तोसिमा कार्की, काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठको नाम पनि रास्वपाको केन्द्रीय सदस्य सूचिमा छैन।
उनीहरू रास्वपाकै घण्टी चुनाव चिह्न लिएर सांसद बनेका हुन्।
यी भए प्रत्यक्षबाट निर्वाभित साँसद। समानुपातिकबाट निर्वाचित नाम चलेका सांसदहरूसमेत अझै केन्द्रीय समितिमा पर्न सकेका छैनन्। समानुपातिक सांसदहरु मनिष झा, डा चन्दा कार्की, सन्तोष परियार, अशोककुमार चौधरी असिम साह, विनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली र निशा डागी पनि साधारण सदस्य मात्र छन्।
नेपाली राजनीतिक परिदृश्यमा रातारात उदाएको रास्वपामा कस्ले हाँकिरहेको छ त?
चितवन २ बाट जितेका रवि लामिछाने रास्वपामा सभापति छन्।
समानुपातिक सांसद बनेका डोलप्रसाद अर्याल उपसभापति छन्।
त्यसैगरी काठमाडौं ७ बाट जितेका गणेश पराजुली र काठमाडौं २ बाट निर्वाचित सोविता गौतम केन्द्रीय सदस्य छन्। साथमा सुमना श्रेष्ठ पनि समानुपातिक सांसद छिन्।
मैले यसबारेमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसंग सोधेको थिएँ। उनले चुनावभन्दा अगाडि कोहीपनि पार्टीमा नजोडिएकोले केन्द्रीय सदस्य नबनाएको बताए।
‘चुनावअघि उहाँहरु कोहीपनि पार्टीमा हुनुहुन्थेन,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘चुनाव पछाडि दोहोरो जिम्मेवारी दिइएको छैन।’
त्यसो त रास्वपाले फागुन १ गते केन्द्रीय सदस्य विस्तार गरेर ४० सदस्य बनाएको थियो। तर, त्यसबेला पनि यी सांसदहरु छुटेका थिए।
‘अहिले उहाँहरूलाई केन्द्रीय सदस्य बनाउने संभावना कम छ,’ सहमहामन्त्री बुर्लाकोटीले थपे, ‘ कि सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाउनुप¥यो। त्यसमाथि उहाँहरूले सांसदकै जिम्मेवारी वहन गर्न समय पुगेको छैन।’
प्रतिक्रिया