स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन्। मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने बताए।
सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहेका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गरेकोमा उनले आभार प्रकट गरे। मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफू लागिपरेको बताए।
आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार क्लब मेलम्ची–९ ले हात पारेको छ। फाइनलमा मेलम्ची–७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ स्टारले उपाधिमाथि कब्जा जमाएको हो। मेलम्ची–९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो।
उपाधिसँगै मेलम्ची–९ ले रु दुई लाख हात पारेको छ भने मेलम्ची–७ दुवाचौरले रु एक लाखमा चित्त बुझाएको छ। त्यस्तै वनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ। सिर्जनशील युवा क्लब दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै वनकाली तेस्रो भएको हो। उसले रु ७५ हजार नगद पाएको छ। खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो।
मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा वैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची–२ घोषित भएको प्रतियोगिताको सहजीकरण गरिरहेका प्रकाश सापकोटाले जानकारी दिए।
Shares
प्रतिक्रिया