राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन्।
सोमवार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पारे।
उनले अहिले पनि जनताका गास, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए। उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरु विदेश पलायन भइरहेको बताए।
उनले भने, ‘हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर त्यसको खास सदुपयोग गर्न सकेनौँ। अहिले पनि जनताका गास, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त छ। अहिले तपाईहरुका जोश र उत्साहलाई जीवन पर्यन्त कायम गर्नुपर्छ। देशको आर्थिक अवस्था डामाडोल छ। राजनीतिक अस्थिरता छ, अहिले पनि लाखौं विद्यार्थीहरु देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन्।’
उनले लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उल्लेख गर्दै मुलुकको अस्तित्वमाथि नै संकट उत्पन्न हुने अवस्था आएको बताए।
उनले भने, ‘यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै संकट उत्पन्न हुने देखिएको छ। लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ। लोकतन्त्र विरोधी असाध्यै हौसिएका छन्। किन चाहियो भनेर भनिरहेका छन्।’
अध्यक्ष कसीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरु रमाइरहेको बताए।
Shares
प्रतिक्रिया