सरकारले शुक्रबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी छ।
आइतवार बसेको संसद् बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि संशोधनसहित छलफलमा भाग लिइरहेका छन्।
आफ्नो संशोधनसहित धारणा राख्ने क्रममा नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद दयालबहादुर शाही नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुच्छर भनेपछि तनाव भएको छ।
आफ्ना भनाइ राख्ने क्रममा शाहीले उनको गृहजिल्ला बाजुराकै कांग्रेस नेता बद्री पाण्डेको नाम नै लिएर बोलेपछि संसदमा केही बेर तनाव भएको हो।
शाहीले दलहरुका बुढा नेता पद खाँदा खाँदा बुद्धि धमिलिएको समेत टिप्पणी गरे।
‘बुढा नेताहरु पद खाँदा खाँदा बुद्धि धमिलिनु स्वभाविक हो। मेरो जिल्लाका नेता बद्री पाण्डेसहितले सत्ताका लागि बीपीको सिद्धान्त छाड्ने काम गरे’, उनले भने, ‘अहिले उहाँहरु असहिष्णु हुने एक दलीय अधिनायकवादी हुने र आस्थाबाट विमुख गराएर अवसर खोज्नु हुन्छ।’
शाहीले सम्बोधनका क्रममा अहिले कांग्रेसका नेताहरु प्रचण्डको पुच्छर भएको भनेपछि माओवादीका समेत सांसदहरु आक्रोशित भए।
‘कांग्रेसका दिग्गज नेताहरु प्रचण्डको पुच्छर हुँदा दुख लागेको छ। कृष्णप्रसादले बिहे गर्नु भएन, अर्काका छोरी ल्याउँदा दुख हुन्छ भनेर’, उनले भने, ‘तर अहिले कांग्रेसले सातवटा मन्त्रीका लागि गहतको झोलमा जात फ्याँकेको छ।’
सम्बोधनका क्रमम उनले प्रधानमन्त्रीले प्रचण्डपथ पनि हटाइसकेर विदेशीसँग कम्फर्टेबल भएको आरोप लगाए।
‘अहिले सरकार दशगजापारीका प्रभु परमेश्वरप्रति कम्फर्टेबल भएको छ’, उनले भने, ‘निर्वाचनमा मत त जनताले दिएका हुन् तर यो सरकार अहिले सीमापारितिरका लागि वफादार भएको छ।’
शाहीले व्यक्तिलक्षित टिप्पणी गरेपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाइन्। त्यसपछि कांग्रेस र माओवादी दुवै दलका सांसदहरु ड्यासबाट उठेर शाहीको विरोधमा उत्रिए।
उनीहरुले संसदमा बोल्दै गर्दा मर्यादित भाषामा बोल्नुपर्ने बताउँदै शाहीले बोलेका केही शब्द हटाउन माग गरे।
त्यसपछि उपभासमुख इन्दिरा मगरले शाहीले बोलेका केही आपत्तिजनक शब्द रेकर्डबाट हटाउने बताइन्।
‘हाम्रो ध्यानाकर्षण भयो। माननीयज्यूहरुलाई ध्यानाकर्षण गर्न चाहन्छु। उहाँले बोल्नु भएको शब्द सुनी रेकर्डबाट हटाउन निर्देशन गर्दछु’, मगरले यति भनेपछि बैठक अहिले अघि बढेको छ।
Shares
प्रतिक्रिया